चाइना टाउन र महाबौद्धका पसल सुनसान, कोठा भाडा तिर्न व्यापारीलाई समस्या

ईश्वरी राई (इशु)

काठमाडाै‌ं

चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको नोभेल कोरोना भाइरस अर्थात कोभिड–१९ं को महामरीले संसारभर त्रास फैलिएको छ। जहाँ नेपाल पनि परेको छ। नेपाल सरकारले ‘भ्रमण वर्ष २०२०’ लाई भव्य रूपमा मनाउने घोषणा गरे पनि कोरोनाकै कारण स्थगित भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल र नाकामा कडाई गरेसँगै विदेशी नागरिकहरू नेपाल भित्रन र नेपालीहरू बाहिर जान लगभग रोकिएको छ। अधिकांश मानिसहरू यतिबेला घरबाट निस्किएका छैनन्। जसको प्रत्यक्ष मारमा व्यापारीहरू परेका छन्। काठमाडौंका ठूलाठूला सपिङ सेन्टरदेखि, न्यूरोड, असन, चाइना टाउन लगायतका ठाउँमा चहलपहल शून्यप्रायः छ।

विगतका दिनमा चीनबाट ल्याउने सामानहरू विगत तीन महिनादेखि नेपाल भित्रिएका छैनन्। चाइना टाउनमा विगत ७ वर्षदेखि सिरक, डसना, तन्नालगायत समानको व्यापार गर्दै आएकी ऋतु श्रेष्ठले कोरोनाको त्रासले आफ्नो व्यापार नभएको बताउँछिन्।

एक महिनाअघिसम्म सामान बेच्न नभ्याउने उनी हिजोआज ग्राहकको कमि भएसँगै फुर्सदिली भएकी छन्। ‘विगतका दिनमा व्यापार राम्रै चल्थ्यो। तर यो कोरोना भाइरसको हल्ला फैलिएपछि व्यापार चल्न मुश्किल भएको छ,’ उनले बिएल नेपाली सेवासँग भनिन्।

पहिले बिहानको ८ बजेदेखि बेलुकाको ८ बजेसम्म खुल्ला हुने पसल अहिले बिहान ११ बजे खोलेर साँझ ६ बजेनै बन्द गर्ने गरेकी छन्। पहिले पचास हजारसम्मको व्यापार हुने उनको पसलमा हिजोआज मुस्किलले १/२ जना ग्राहक आउने गरेका छन्। ‘अहिले त व्यापारै छैन् नि,’ उनले भनिन्,‘आजकल त पसल आउनु भनेको टाइम पास गर्नु मात्रै हो।’

व्यापार नभएपछि उनले महँगोमा बेचिरहेका सामानहरू सेलमा समेत राखेकी छन्। ‘के गर्नु व्यापार नै हुँदैन्। पहिले ३/४ हजारमा बिक्री हुने सामान अहिले १५ सयको सेलमा राखिरहेकी छु,’ उनले भनिन्।

दुई कर्मचारीलाईसमेत तलव दिन समस्या परेको भन्दै उनले घरभाडा पनि तिर्न नसक्ने बताइन्। ‘काम गर्ने भाइहरू बुझ्ने छन्। तलवका लागि त्यस्तो कचकच गरेका छैनन्। फेरि व्यापारनै नभएपछि कोठा भाडा तिर्नचै समस्या परेको छ’, उनले बताइन्। 

यता बालबालिकाका लागि आवश्यक सामान बेच्दै आएका २२ वर्षिय सूर्य शर्माको पनि समस्या उस्तै छ। ‘न्यू फ्यू कनेक्शन’ नामक पसलमा बालबालिकाका लागि प्रयोग हुने सामानहरू बेच्ने उनी हिजोआज मोबाइलमा गेम खेलेर समय कटाउने गर्छन्।

उनका बुवाले विगत २० वर्ष पहिले खोलेको पसल जिम्मा लिएका उनले कोरोनाले व्यापार चौपट पारेको बताउँछन्। ‘बुबाले पहिलेदेखि चलाउँदै आएको यो पसल पहिलो पटक घाटामा गएको छ,’उनले गुनासो गरे। बिहान १० बजेदेखि बेलुकाको ७ बजेसम्म खुला रहने पसलमा पहिले–पहिले ग्राहकको भीड लाग्थ्यो।

‘पहिले त नआएको पनि ७/८ जना ग्राहकहरू आउँथे। तर अहिले झुक्किएर कोही छिरिहाल्यो भने पनि व्यापार हुन्न,’ उनले भने। कोरोनाको हल्लासँगै चीनबाट सामान ल्याउन नपाएको उनको गुनासो छ।

‘पहिले चाइनाबाट सामानहरू ल्याउँथ्यांै। तर अहिले त्यो अवस्था छैन, चाइना नाकामा कडाइ हुँदा पसलमा सामान पनि त्यति छैन’, उनले भने,  अहिले बेचिरहेको समान पहिलेकै भएको उनले बताए।

उनी समान सकिएपछि भारतबाट ल्याउउने सोचमा छन्। यसअघि भारतबाट आउने सामानहरू बढी महँगो भएकै कारण नल्याएको उनको भनाई छ। ‘अब नभएपछि महँगो समान भएपनि त ल्याउनु पर्यो नी’, शर्माले भने,‘पसल त रित्तो राख्न भएन।’

उनकै पसल अगाडि फूलले सजिएको ‘फ्लोरेन्स गिफ्ट शप’ छ। जसको माली हुन् २५ वर्षीया कल्पना मैनाली। जो विगतदेखि निरन्तर सोही पसलमा खटिरहेकी छन्।

उनको पनि हालत त्यस्तै छ। चाइनाबाट मात्रै सामान ल्याउने उनको पसलमा अरू ठाउँका सामान पाइदैनन्। हिजोआज खासै ब्यापार नभएको र पुरानो सामानको स्टक धेरै भएकाले सामान ल्याउने पक्षमा उनी छैनन्।

पहिले दिनमा ८० हजारसम्मको सामान बिक्रि हुने उनको पसलमा अहिले बोहोनीसमेत नहुने बताउछन्। पसल व्यापार हुन छाडेपछि कोठा भाडा आफ्नै छुट्टै पैसाले तिर्दै आएको उनले बताइन्।

यस्तै महाबौद्धमा विगत २२ वर्षदेखि होलसेल पसल चलाउँदै आएका गिरीराज पोखरेलको पनि व्यथा उस्तै छ। बिहानको ८ बजेदेखि बेलुकाको ६ बजेसम्म खुल्ला रहने उनको पसलमा अहिले खुद्रा व्यापारी र मान्छेको ओहोरदोहोर स्वात्तै घटेको छ।

‘कोरोनाका डरले मान्छे बाहिर निस्कनै छाडे’, उनले भने, ’जसकारण हामी व्यपारी मर्कामा परेका छौं।’ सबै सामानहरू चाइनाबाट मात्रै ल्याउने गरेका उनको पसलमा अहिले समानहरू रित्तिदै गएको छ। ‘अहिले सामानहरू ल्याउनै मिलेको छैन। पहिलेको स्टक सामान पनि सकिन लाग्यो। व्यापार पनि छैन नि’, उनले भने।

कोरोनाको त्रास अगाडिसम्म दैनिक ३ लाखभन्दा बढीको व्यापार हुने उनको स्टोरमा हिजो आज मुश्किलले २ हजारको पनि व्यापार हुँदैन।
‘पसल पनि आउनु मात्र पर्छ। बिक्रि केही हुने होइन,’ उनले भने, ’सरकारले कोठा भाडामा हेरिदिनुपर्छ। अहिले विश्वमै फैलिएको कोरोना भाइरससँग आफू नडराएको उनको भनाई छ। ‘मान्छे त कति मरिरहेका छन् नि’, उनले भने, ‘कसैले वास्ता गरेका छैन। यो कोरोना चाहीँ नयाँ भएर चासोको विषय भएको हो।’

 

यस्तै विगत ९ वर्षदेखि महाबौद्धमा जुत्ता चप्पलको व्यापार गर्दै आएका ध्रुव सुवेदीको पनि व्यवसाय चौपटरहेको गुनासो गर्छन्। उनको स्टोरमा सबै चाइनिज सामानहरू छन्। ‘पहिले भारतबाट पनि सामानहरू ल्याउँथे। तर खासै बिक्रि भएन। त्यसैले सबै सामानहरू चाइनाबाट मात्रै ल्याउने गरेको छु,’ उनले भने, ‘तर अहिले चाइनाबाट पनि सामान ल्याउन पाएका छैनौं।’

कोरोनाको त्राससँगै आफ्ना सामानहरू केरूङमै अड्किएको उनले बताए। कोरोनाको त्रासले व्यापार व्यवसायमा ठूलो प्रभाव परेको उनले बताए। ‘पहिले पहिले कम्तिमा ६० हजारको व्यापार हुन्थ्यो’, उनले भने, ‘अहिले त ५ हजारको व्यापार हुन पनि मुस्किल छ।’

कोरोनाको डरले व्यापारसँगसँगै आफू पनि त्रसित भएको भन्दै सुवेदीले भने, ‘ रोगको त्रास पनि उतिकै छ। व्यापार नभए पनि आश त हुँदोरहेछ नि।’ अहिले समय कटाउन मात्र पसल आए जस्तो भइरहेको उनले बताए। ‘सामान नआएपछि पसल खाली हुँदै गएको छ’, उनले भने, ‘जब सामानहरु सबै सकिन्छ, तब पसल बन्द गरेर आरामसँग घरमा बसिन्छ।’ 

प्रकाशित मिति: : 2020-03-17 02:28:00

प्रतिकृया दिनुहोस्