काठमाडौंको सतुंगलमा अवैध रूपमा भण्डारण गरेर राखेको ६ ट्रक मास्क फेला पारेको छ। दुईवटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो।
महानगरिय प्रहरी परिसरको टोलीले चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीमा रहेको गोदामबाट ती मास्क बाहिर निकालेको हो। ती मास्क रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १७५ वटा बोरामा थियो।
यद्यपी उक्त परिमाणको मास्क काठमाडौं परिसर टेकु लैजान भने आठ वटा ट्रक प्रयोग भएका थिए। गोदामभित्र हेर्दा आठ लाख ४० हजार मास्क फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले अहिले मुचुल्का उठाएर मास्कको गणना गरिरहेको बताउँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले केही समयपछि उक्त मास्क सार्वजनिक गर्ने तयारी गरेको बताए।
सो मास्क कहाँबाट ल्याएको हो र कहाँ, कतिमा बेच्न लागिएको थियो भन्ने केही खुलेको छैन।