पूर्खाकाे नासाे जाेगाउन तल्लीन धादिङ कुमाल गाउँका बासिन्दा (भिडियाे)

विश्वको आधुनिकीकरणसँगै देशमा मेशिनहरूको प्रयोग ह्वात्त बढेको अवस्थामा पनि धादिङको सल्यानटारका कुमालेहरूले आफ्नो परम्परागत खेती किसानीलाई जिवन्त राखेका छन्। 

उनीहरू बर्षेनी घैया धान, मकै र भटमास उमार्न व्यस्त हुन्छन्। यस्तै भान्साका लागि आवश्यक पर्ने तेल मात्र हाेइन, चाँडपर्व र धार्मिक कार्यका लागि उनीहरू आफ्नै बारीमा फलेको अन्न परम्परागत काठको कोलमार्फत पिन्ने गरेका छन्।

काठमाडौंलगायत देशका अन्य शहरबाट आउने जो कोहीलाई सल्यानटारको कुमाल टोलको सामान्य जीविकोपार्जनले लोभ्याउने गर्दछ। शहरीया जीवन जस्तै यहाँका स्थानीयलाई भागदौडपूर्ण जिविकाेपार्जनसँग खासै कुनै लिनुदिनु छैन। उनीहरू सुखी जीवन बाँच्न चाहन्छन्। 

त्यसैले उनीहरूले पुस्तौदेखि काठको कोलबाट तेल निकाल्ने परम्परालाई जोगाई राखेका छन्। कुमाल जाति सल्यानटारका भूमिपुत्र मानिन्छन्। गाउँलेहरू विशेष अवसरमा जंगलको फेदमा रहेको कोलमा ठूलो काठको खम्बालाई ४–५ जनाले पेलेर तील, तोरी र झुसे पिन्ने गर्छन। 

कुमाल समुदायका अगुवा शुक्रबहादुर कुमालका अनुसार शोह्रश्राद्ध, दशैंं, माघे संक्रान्ति र चण्डीपुर्णिमाको अवसरमा विशेषा गरी कोल पेल्ने चलन छ। 

‘यो चलन अहिलेको नभएर बाजेबराजुको पाला देखिनै चलि आएको  हो,’ उनी भन्छन्। कुमालको परम्पराअनुसार वर्षमा हुने चारवटा पर्वमा कोल पेल्ने चलन छ। प्रविधिले मानिसलाई सजिलो बनाएको छ। तर पनि यहाँका मानिस देवी–देवतादेखि पितृ कार्यमा कोलबाटै निकालेको तेल प्रयोग गर्न रुचाउँछन्।

‘कोलकै तेलले चोखा गर्ने चलन पनि छ। त्यसैले कोलको संरक्षण गरिएको हो,’ उनले बताए–‘कोलबाट निकालेको तेलले देवीदेउता तथा कुलदेवता प्रसन्न हुने विश्वास पनि छ।’ कुमार गाउँमा चक्की अथवा आधुनिक मिल पनि छ। तर कुमालहरू जिजुबाजेदेखि चलिआएको परम्परालाई धान्न र यसको संरक्षणका निम्ति निरन्तर लागिरहेका छन्। 

‘पहिला यस स्थानमा रहेका बाहुन, क्षेत्री, नेवार सबै जातिका मानिस यसै कोलमा तेल पेल्ने गर्थे। तर गाउँमा मिल प्रवेश गरेपछि अचेल प्रायले यहाँ तेल पेल्न छोडिसकेका छन्,’ शुक्रबहादुर भन्छन्। 

बाल्यकालदेखि यहीको वातावारणमा घाँस–दाउरा गर्दै हुर्किएकी बिन्दादेवी सिलवाल पेशाले शिक्षिका हुन्। परम्परागत काठको कोल जिजुबराजुको पालादेखि रहि आएको बताउने बिन्दा आफू बच्चै अवस्थामा हुँदा आधुनिक मिल नभएको समयदेखि चल्दै आएको बताउँछिन।

‘वास्तवमा यहाँको बारीमा फल्ने तोरी, तिल र झुसे खास गरि झुसे पेल्नकै लागि बनाइएको हो,’ उनले भनिन्। 

छिमेकीमा भएका चार–पाँच परिवारका सदस्य मिलेर कसैले तेल निकाल्ने त कसैले धकेल्ने गरिन्छ। ‘हामी बच्चा हुँदा आमाबुबासँग यस स्थानमा आउने गर्थ्याे। तेल निकालेपछि निस्किने पिना अथवा कातिकलाई मकैसँग भुटेर त्यसमा नुन लगाई मोलेर खाएको स्मरण ताजै छ,’ उनले भनिन्। 

कुमाल थरका मानिसले जंगलमा गएर काठ काटेपछि सबै गाउँले गएर ल्याउन सहयोग गर्नुपर्छ। यसरी आधुनिक समयमा पनि कोलकाे संरक्षण र सम्बर्द्धनका लागि सम्पूर्ण गाउलेको उतिकै सहयोग रहिआएको छ। देशका कतिपय ठाउँमा भएका पुराना चिजहरू नस्ट भइरहेको अवस्थामा पूर्खाको नासोलाई बचाइराख्न यहाँका स्थानीय काठको कोलको संरक्षणमा तल्लिन देखिन्छन्।

 

प्रकाशित मिति: : 2020-03-16 21:20:00

प्रतिकृया दिनुहोस्