चीन र कोरियासहित कोरोना प्रभावित देशबाट निर्बाध उडान

आइतबारदेखि सबै विदेशी १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

केदार दाहाल

काठमाडौं

चीन र दक्षिण कोरियालगायत कोरोना प्रभावित देशबाट नेपालमा निर्बाध उडान आवतजावत गरिरहेका छन् । अहिले पनि दिनमा ४४ उडानबाट तीन हजार यात्रु आइरहेका छन् भने करिब दुई हजार यात्रु बाहिर गइरहेका छन् । 

बाहिरबाट आउनेमा विदेशी पर्यटक थोरै र नेपाली धेरै छन् । शुक्रबार नेपाल आएकामध्ये सात सय विदेशी हुन् । विदेशीमध्ये पनि तीन सय भारतीय हुन् । त्यस्तै, शनिबार तीन सय भारतीयसहित चार सय ५० विदेशी नेपाल आएका छन् । चीन, दक्षिण कोरिया, भारत, हङकङ, ओमान, मलेसिया, थाइल्यान्ड, जापान, साउदी अरब, कतार, युएईदेखि टर्कीबाट विमान आवतजावत गरिरहेका छन् । 

शनिबार मात्रै चीनको कुन्मिङबाट चाइना इस्टर्न तथा गोन्जाउबाट चाइना साउदर्न, हङकङबाट नेपाल एयरलाइन्स, सोलबाट कोरियन एयरलाइन्स, जापानको ओसाकाबाट नेपाल एयरलाइन्स, सिंगापुरबाट सिल्क एयर, बैंककबाट थाई एयर, क्वालालम्पुरबाट मालिन्दो तथा मलेसिया एयरलाइन्स, दोहाबाट कतार एयर, सारजाहबाट एयर अरेबिया, दुबईबाट फ्लाई दुबई, आबुधाबीबाट इत्तिहाद, मस्कटबाट ओमान एयर, कुवेतबाट जजिरा एयर, इस्तानबुलबाट टर्किस एयरलाइन्सले काठमाडौं उडान गरेका थिए । 

सीधै उडानमा रोक लगाउनेभन्दा पनि पर्यटक भिसामा कडाइ गराएर आवागमन रोक्ने नीति लिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् । ‘संसारभर गरिने अभ्यास नै यही हो, एयरलाइन्सको उडान नै बन्द गर्ने होइन,’ पोखरेलले भने । आइतबारदेखि सबै पर्यटक भिसा बन्द गरिएकाले केही दिनमै अधिकांश उडान बन्द हुनेसमेत पोखरेलले बताए । 

प्रकाशित मिति: : 2020-03-15 22:03:19

प्रतिकृया दिनुहोस्