मास्क कालोबजारी गर्ने ११ फार्मेसी कारबाहीमा, साढे २५ लाख जरिवाना असुली

कोरोना भाइरसका कारण सर्जिकल मास्कको अभाव भएको मौका छोपेर कालोबजारी गर्ने ११ फार्मेसीलाई सरकारले कारबाही गरी साढे २५ लाख रुपैयाँ जरिवाना गरेको छ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कको कालोबजारी नियन्त्रण गर्न ‘उपभोक्ता संरक्षण ऐन, ०७५’अन्तर्गत व्यवसायीलाई कारबाही गरेको हो । विभागले ११ फागुनयता सर्जिकल मास्कको कालोबजारी नियन्त्रणका लागि विशेष अनुगमन सुरु गरेयता २५ लाख ४० हजार रुपैयाँ जरिवाना तिराइसकेको छ ।

विभागको अनुगमन प्रतिवेदनअनुसार ११ फागुनमा क्षेत्रपाटीस्थित बिबिआर इन्टरप्राइजेजमा अनुगमन गर्दा व्यवसाय प्रमाणपत्र देखाउन नसकेको पाएपछि १ लाख रुपैयाँ जरिवाना गरिएको थियो । नयाँ उपभोक्ता संरक्षण ऐनले अनुगमनस्थलमै कैफियतका आधारमा जरिवाना तोक्न निरीक्षण अधिकृतलाई अधिकार दिएको छ । 

अनुगमनका क्रममा ११ औषधि पसललाई २–२ लाख र एउटालाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागका अनुसार क्षेत्रपाटीमा रहेका नेपाल केयर सर्जिकल सप्लायर्स, आइज्याक हस्पिटल सपोर्ट, पुरी सर्जिकल इक्युपमेन्ट, शुभम् हेल्थ केयर्स प्रोडक्ट्स ओएसबी इन्टरप्राइजेजलाई जनही २ लाख जरिवाना तिराइएको छ । 

त्यसैगरी, वीर अस्पतालमा रहेको आयुस फार्मेसी, पुल्चोकस्थित बिदा अल्का फार्मेसी युनिट (क), जावलाखेलमा रहेको सदीक्षा मेडिकल हल, पुल्चोकमा रहेको गौतम फार्मेसी एन्ड डाइग्नोस्टिक सेन्टर र कुपन्डोलमा रहेको शुभ सर्जिकल इक्युपमेन्टलाई पनि जनही २ लाखका दरले जरिवाना तिराइएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कालोबजारी गर्ने, बिलबिजक देखाउन नसक्ने, व्यवसाय दर्ता प्रमाणपत्र नभएकालगायत कैफियतमा कडाइका साथ कानुन कार्यान्वयन गर्नेक्रममा उपभोक्ता अधिकारविपरीत व्यवसाय गर्नेलाई जरिवाना तिराउँदै आएको बताए । ‘मास्कजस्तो संवेदनशील वस्तुको कारोबार तोकिएभन्दा बढी मूल्य लिएर व्यवसाय गर्न चाहनेलाई कानुनले छुट दिने कुरा हुँदैन,’ उनले भने । 

विभागले दुई सातायता २९ औषधि पसललाई कारबाही गरेको जनाएको छ । यसक्रममा त्रिपुरेश्वरमा रहेको गौतम इन्टरनेसनल, दृष्टि सर्जिकल हाउस, मेडिहेल्थ सर्जिकल, स्वस्तिमा सर्जिकल सप्लायर्स र क्षेत्रपाटीमा रहेको एस जे मोडिको सर्जिकल, काठमाडौं ट्रेड कन्सर्न, स्पेन्डिड ट्रेडर्स, मामा–भान्जा टे«ड कन्सर्नलाई जनही २० हजार रुपैयाँ जरिवाना तिराइएको छ । थप केही सर्जिकल पसललाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराइएको विभागले जनाएको छ । उपभोक्ताको उजुरीकै आधारमा बुधबार बानेश्वर तथा क्षेत्रपाटीका औषधि पसलमा अनुगमन गरी विभागले मास्कमा बढी मूल्य लिने, दर्ताविनै पसल सञ्चालन गर्ने र बिलबिजक जारी नगर्ने ११ औषधि पसललाई ८ लाख ८० हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

प्रकाशित मिति: : 2020-03-15 01:32:59

प्रतिकृया दिनुहोस्