पशुपतिमा भेटिएका यी बाबा ...


उनले बढो आत्मविश्वासका साथ हँसिलो अनुहार बनाएर नेपाल आउन पाएकोमा गर्व गर्दै भने, ‘यति बुढो मान्छे वर्षेनि नेपाल आउन मलाई पैसाले पुग्दैन। तर, सडकमा मागेरै पैसा जम्मा गरेर भए पनि १० वर्षदेखि नेपाल आउन छाडेको छैन।’ यो व्यापार गर्ने ठाँउ होइन यहाँ शिवजीको ध्यान र आराधाना गर्दा जुन सन्तुष्टि र आनन्द कमाईन्छ त्यो कही कतै पाउन नसकिने उनी बताउँछन्। 


मुजैमुजा परेको चाउरी अनुहार हातमा थोत्रो झोला अनि त्यहीँ भित्र बढो जतन साथ राखिएको पशुपतिनाथको फोटो र प्रसाद।

पशुपतिको खोला किनारमा भेटिएका लखनउ घर भएका ८० वर्षिय बाबालाई आफ्नो भन्दा बढी चिन्ता यो झोला भित्रका भगवानको फोटो र प्रसादको छ।

कसैले चोरेर लैजान्छ कि, भनि उनी त्यो झोलालाई च्यापेरै सुत्छन्।

 केही दिन अगाडि पशुपति घुम्न जाँदा खोला किनारमा भेटिएका यी वृद्धलाई मैले सोधे, ‘बाबा ईस झोलामे क्या रखा है?’

उनले झोलातिर देखाउँदै भने, ‘कुछ नही बेटी, बस् पशुपतिनाथ भगवान और प्रसाद है।  डरते है कहि किसिने पैसोके लोभमे ये मेरा भगवान रखा हुवा झोलेको चोरके नलेके जाए।’

यी बुढा बाबाको पशुपतिनाथप्रतिको आस्था विश्वास अनि भरोसा देख्दा मन भरिएर आयो।

हामी नेपालमै जन्मेर यहीँ हुर्किएकाले भगवान पशुपतिको दर्शन त गर्छौ। तर, भगवान प्रतिको यो समर्पण आस्था अनि विश्वासलाई हामीले यसैगरी जतन गर्न सकेका छौं त भन्ने प्रश्न आफैंमा तेर्सियो।

भारतको लखनउबाट आएका यी बाबा न त शिवरात्रिमा पैसा जम्मा पार्न नेपाल आएका हुन्। न त यीनले जोगीको भेषमा बसेर गाँजा चरेसको व्यापार नै गर्छन्। पशुपतिनाथको दर्शन गर्न रेलगाडी चढेर उनी हरेक वर्ष नेपाल आउँछन् र महिना दिन जति खोला किनारमै बिताएर भारत फर्कन्छन्।

भारतबाट धेरै जोगी बाबाहरू पशुपतिको दर्शन गर्ने नाममा नेपाल आउँछन्। महिनौं बस्छन् र विभिन्न धन्दा गरेर पैसा जम्मा गर्छन्। पशुपति मन्दिरको पारिपट्टि रहेका विभिन्न आश्रमका वरिपरि भारतबाट मात्र होइन पोल्यााण्ड, स्पेन, पोर्चुगलबाट आएका विदेशिहरू बाबाजीको भेषमा रूद्राक्षको माला गन्दै बसेको देखिन्छन्।

तर, उनीहरू धार्मिक आस्था भन्दा पनि जोगीको भेषमा अनेकन अनैतिक गतिविधि गर्ने र जोगीकै भेषमा हुँदा एकठाँउबाट अर्को ठाँउ जान भिसाको सोधखोज नगर्ने भएकोले त्यो भेषमा हिँडडुल गर्ने र गाँजा चरेसको व्यापार गर्ने गरेको पशुपति क्षेत्रभित्रै बसोबास गर्ने धर्मगुरूहरू बताउँछन्।

 विकृति र विसंगतिसँगै पशुपतिमा विसुद्ध प्रेमभावले आएका यी बाबाको पशुपतिसँगको साईनो देख्दा हामीले घरको तिर्थ हेला भनेझैं पशुपतिको महिमा र महत्वमाथि तुसारापात गरेझैं भान भयो।

आफूले पशुपतिको महिमा अरूलाई बताउनुपर्ने ठाँउमा यी बावाले गरेको वर्णनलाई  अवोध बालकझै गरि बढो आनन्द मान्दै सुन्न थालेँ।

पशुपतिको किनारमा दिन विताउँदाको आनन्द शव्दमा वर्णन गर्न नसक्ने उनले बताए। खोलाको आडैबाट पशुपतितिर औला तेर्साउँदै उनले भने, ‘हेर्नुस् त काठैकाठले बनाएको अनौठो खालको यस्तो मन्दिर विश्वमा अन्त कहाँ भेटिनसक्छ?’

मन्दिरको बनावट शैली अनि यस क्षेत्रमा पाईने अदभुतपूर्ण आनन्दलाई बाबाले यसरी बयान गरे कि, त्यो आनन्दको अनुभव मैले यस अघिको पशुपति दर्शनमा कहिल्यै गरेकी रै’नछु।

मन्दिरमा हुने हरेक गतिविधिलाई चमात्कारिक मान्दै उनले भने, ‘एकदिन मन्दिर छेउमै पुगेको थिएँ कसैले एक्कासी मन्दिरको ढोका बन्द हुन लाग्यो त्यतिनै बेला कोही आएर हातमा प्रसाद थमाएर गयो। त्यो भगवानप्रतिको विश्वासबाट मैले पाएको हुँ।’

उनले उक्त प्रसादलाई शिवजीको लिला भन्दै त्यसलाई बढो जतन साथ राखेका छन्।

उनले बढो आत्मविश्वासका साथ हँसिलो अनुहार बनाएर नेपाल आउन पाएकोमा गर्व गर्दै भने, ‘यति बुढो मान्छे वर्षेनि नेपाल आउन मलाई पैसाले पुग्दैन। तर, सडकमा मागेरै पैसा जम्मा गरेर भए पनि १० वर्षदेखि नेपाल आउन छाडेको छैन।’

यो व्यापार गर्ने ठाँउ होइन यहाँ शिवजीको ध्यान र आराधाना गर्दा जुन सन्तुष्टि र आनन्द कमाईन्छ त्यो कही कतै पाउन नसकिने उनी बताउँछन्। 

आफूसँग राखेको पशुपतिको फोटो देखाउँदै उनले भने, ‘यही फोटो भारतमा लगेर सबैलाई पशुपतिको महिमाबारे बताउने गरेको छु।’

अर्को वर्षसम्म मेरो शरीरले चोला बदल्छ होला त्यसैले यो नै पशुपति दर्शन गर्ने मेरो अन्तिम वर्ष हो जस्तो लाग्छ भन्दै उनले पशुपतिको यो महिमालाई जोगाएर राख्नुहोला भन्दै म सँग बिदा भए।

प्रकाशित मिति: : 2020-03-13 20:50:17

प्रतिकृया दिनुहोस्