इटलीमा एकैदिन १ सय ८९ ले ज्यान गुमाए, विश्वभर मृत्यु हुनेको संख्या करिव ५ हजार

एजेन्सी

काठमाडाै‌ं

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमणका कारण इटलीमा बिहीबार मात्रै १ सय ८९ जनाको मृत्यु भएको छ।

इटलीमा बिहीबार मात्रै २ हजार ६ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन्।  यस्तै इरानमा पनि कोरोना संक्रमणका कारण बिहीबार ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ३१ जनाले ज्यान गुमाएका छन्।

यता कोरानाका कारण चीनमा अहिलेसम्म तीन हजार एक सय ७० जनाको मृत्यु भएको छ। तर चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ।

बिहीबार चीनमा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने चारजनामा नयाँ संक्रमण फेला परेको छ।गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय १५ देशमा फैलिसकेको छ।

चीनमा संक्रमण दर घटेपनि इटली, दक्षिण कोरिया, इरान, फान्स, स्पेन, जर्मनी, अमेरिका लगायतका देशहरुमा कोरोनाको संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ।

हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन्। जसमध्ये बिहीबार मात्रै ३ सय ४४ जनाको मृत्यु भएको छ।

हालसम्म १ लाख ३४ हजार ५ सय ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये ८ हजार तीन सय ४६ नयाँ संक्रमित हुन्। झण्डै ६९ हजार व्यक्ति निको भएर घर फर्केका छन्।
 

प्रकाशित मिति: : 2020-03-13 20:22:02

प्रतिकृया दिनुहोस्