बुटवलमा कोरोना भाइरस संक्रमण भएको आशंकामा एकजनालाई अस्पतालमा भर्ना गरिएको छ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २१ वर्षका एक युवालाई अस्पतालको आइसोलेशन वार्डमा राखिएको हो।
लुम्बिनी प्रादेशिक अस्पतालका डा सुदर्शन थापाका अनुसार ती युवामा कोरोना भाइरसको संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन्।
‘कोरोना संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन्। उनमा निमोनिया देखिएको छ। ’, उनले भने, ‘तर कोरोना नै हो कि होइन भनेर पूर्ण परीक्षण गर्न बाँकी छ। हामीले उनको नमूना परीक्षणका लागि काठमाडौं पठाउँदैछौँ।’
ती युवा केही समयअघि विदेशी नागरिकहरु समेत सहभागी भएको एक तालिममा सहभागी भएका थिए। विदेशी नागरिकबाट उनमा संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ। उनलाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको थियो।