भारतमा ६० जनाभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बुधबारसम्म भारतमा ८३ जना मानिसलाई भारतमा क्वारेन्टाइनमा राखिएको छ। जसमा एक बच्चा, नौजना भारतीय मूलका विदेशीसहितका मानिस छन्।
उनीहरुलाई १४ दिनसम्म डक्टरको प्रत्यक्ष निगरानीमा राखिने बताइएको छ। यो अवधिमा भाइरसको कुनै लक्षण नदेखिएमा मानिसहरुलाई घर फिर्ता पठाइनेछ।
कोरोनाले बलिउड चलचित्रहरुको प्रदर्शन समेत प्रभावित भइरहेको छ। बलिउड अभिनेत्री परिणीति चोपडाले कोरोना भाइरसबाट सतर्क रहन सबैलाई आग्रह गरेकी छिन्।
यस्तै सामाजिक संजालमा भाइरसलाई लिएर धेरै सूचनाहरु सम्प्रेषण भइरहेका छन्। ती सूचनाहरु सबै सत्य नभएको उल्लेख गर्दै उनले सबैलाई सतर्कता अपनाउन भनेकी हुन्।
उनले भाइरसबारे भ्रम नफैलाउन समेत अपिल गरेकी छिन्। चीनपछि भाइरसबाट सबैभन्दा धेरै प्रभावित इटालीका क्रिस्टिन हिगिंग्सले पोस्ट गरेको सूचना सेयर गर्दै उनले भाइरसलाई लिएर अति आत्म विश्वासी नहुन सबैलाई भनेकी हुन्।
सामाजिक संजालमा भाइरसलाई हल्का रुपमा लिइएको भन्दै उनले यसबाट वृद्धवृद्धा मात्रै संक्रमित हुने, फ्लूभन्दा थोरै मानिसको मृत्यु भएको भन्ने हल्लाको विश्वास नगर्न समेत उनले भनेकी छिन्।
‘भाइरसभन्दा तपाई स्मार्ट हुनुहुन्छ भनेर नसोच्नुस। तपाई स्मार्ट हुनुहुन्न। कोरोना भाइरस सत्य हो। यो निकै खतरनाक छ र यसको संक्रमण रोक्न निकै गाह्रो छ। कृपया स्मार्ट हुनु र सुरक्षित हुनु’,उनले लेखेकी छिन्।