विक्रमाब्दीको ५० को दशकमा तीन पदावलि नेपालको वाम राजनीतिमा विशेष चर्चामा रहे । ती हुन्– शक्ति सञ्चय, प्रगतिशील सुधार र अग्रगामी छलाङ ।
तत्कालीन नेकपा (एमाले) को पाचौं महाधिवेशनले माओकालीन नौलो जनवादी कार्यक्रमको निरन्तरतामा क्रमभङ्ग गर्दै मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादी कार्यक्रमलाई अत्यधिक बहुमतले पारित गर्यो । छैठौं महाधिवेशनमा आइपुग्दा जनताको बहुदलीय जनवादी कार्यक्रम पार्टीभित्र सर्वस्वीकृतजस्तै बनेको थियो तर, तर, पार्टीको कार्यनीतिमा तीव्र विवाद देखा पर्यो ।
पार्टी संस्थापन पक्षबाट मदन भण्डारीको अवसानपछि मदन भण्डारीका विचारको वास्तविक उत्तराधिकारीका रुपमा उदाएका केपी शर्मा ओलीले ‘शक्ति सञ्चयको कार्यनीति’ अगाडि सारे भने लोकेन्द्रबहादुर चन्दको मन्त्रिपरिषदका सर्वाधिक शक्तिशाली तत्कालीन उपप्रधानमन्त्री बामदेव गौतमले ‘प्रगतिशील सुधारको कार्यनीति’ अगाडि सारे ।