प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
उनी स्वास्थ्य लाभ गरी बुधबार दिउँसो डिस्चार्ज भएकी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका हुन्।
त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् । उनले दिउँसो तीन बजेतिर प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
‘समीक्षाले प्रधानमन्त्रीज्यूलाई अहिले कस्तो छ मामा? भनेर सोधेकी थिइन्,’सल्लाहकार थापाले भने।
जवाफमा ओलीले आफू निको हुँदै गएको र मिर्गौला दान गरेकी समीक्षालाई धन्यवाद दिएका थिए।
फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको र बुधबार आफैंले दाह्री काटेको प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा भने उल्लेख्य सुधार आएको छ।