फागुनको महिना, त्यसमा पनि हिउँदमा सोचेजति हिउँ परेपछि बर्षे फलफुल राम्रो हुने आशा त हुन्छ नै। त्यसमा नयाँ बगैंचा बनाउने र बिरुवा थप्ने किसानका लागि हर्ष थपिने पनि फागुनमा नै हो। यो उपयुक्त मौसममा नर्सरीमा रहेका बिरुवा बगैंचामा सार्न किसानहरु व्यस्त छन्। नर्सरी व्यवसाय गर्ने किसानका लागि यति बेला बिरुवाको कारोबारबाट फाइदा पनि मनग्य हुन्छ।
पछिल्लो समय जुम्लामा उत्पादन भएका स्याउका बिरुवा देशभरि निर्यात भएका छन् भने विदेशबाट समेत आयात गर्न थालिएको छ।
जुम्लाको गुठीचौर गाउँपालिकाका रुद्र देवकोटाले यस वर्ष आफ्नो नर्सरीबाट ६ सय स्याउका बिरुवा सोलुखुम्बु पठाए। उनी अरु जिल्लाबाट आएको माग पूर्ति गर्ने तयारी गरिरहेका छन्। उनीमात्र होइन, जुम्लाका धेरै किसानलाई स्याउ नर्सरीमा नयाँ बुटा कलमी गर्न र तयार बुटा बेच्न भ्याइनभ्याई छ भने किसानहरु बिरुवा बिक्रीबाट मनग्गे आम्दानी लिइरहेका छन्।
ताजा स्या र स्याउका बिरुवा बिक्री गरेर वार्षिक ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको पातारासीका कृषक लक्षीराम खड्काले बताए। व्यापारीले नर्सरीमै पुगेर बिरुवा खरिद गरिरहेको उनको भनाइ छ। दुई वर्षअघि २५ रुपैयाँमा बिक्री हुने गरेका बिरुवाको मूल्य हाल ४० पुगेको छ।
चन्दननाथ नगरपालिका –८ तलिउमका नर्सरी सञ्चालक नरबहादुर रावत जुम्लामा उत्पादन भएका स्याउका बिरुवा देशैभरि पुगेको बताउँछन्। ‘जिल्लामा एक घर, एक बगैंचा कार्यक्रम सुरु भएसँगै स्याउको नर्सरी थालेको हुँ,’ उनले भने, ‘कर्णाली राजमार्ग खुलेपछि स्याउका बिरुवाले बजार पाए।’ उनी कलमी प्रविधिबाट उत्पादित बिरुवा पूर्वको सोलुखुम्बुदेखि पश्चिमको दार्चुलासम्म बेचिरहेको बताउँछन्। उनको नर्सरीबाट मात्र यस वर्ष आठ सय स्याउका बिरुवा जिल्ला बाहिर गए।
धेरै जसो किसानले उत्पादन गरेका बिरुवा बिक्री भएपनि कतिपय किसानका विरुवा बिक्री भएका छैनन्। तीमध्येका एक हुन गुठिचौर गाउँपालिका देपालगाउँका किसान विर्ष सार्की। ‘मेरा यो वर्ष धेरै बुटा बिक्री भएनन्। नर्सरीमा भएका १० हजार बिरुवामध्ये थोरे मात्र बिक्री भए,’ उनले भने, ‘यो वर्ष उस्तो आम्दानी भएन। अहिले इटालियन फुजी स्याउका बुटा कमली गरेको छु। सफल भयो भने राम्रो आम्दनी हुन्छ।’
हाल जुम्लामा उत्पादित बिरुवाको माग जिल्लाबाहिर बढी छ। यस वर्ष जिल्लामा ६ लाख स्याउका बिरुवा उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ। यीमध्ये करिब २ करोड ४० लाख रुपैयाँका स्याउका बिरुवा बिक्री भइसकेको कृषि कार्यालय प्रमुख बालकराम देवकोटाले बताए।
‘बढी मात्रामा स्याउ उत्पादन गर्ने प्राय सबै किसानका स्याउ नर्सरी छन् भने कति किसानहरु विशुद्ध स्याउका बिरुवा मात्र उत्पादन गरिरहेका छन्,’ उनले भने, ‘जिल्लामा करिब ५ प्रतिशत मात्रै बिरुवा खपत हुन्छ, ९५ प्रतिशत उत्पादनको बजार जिल्लाबाहिरै हो।’ उनले ‘डेलिसियस’ जातको स्याउका बिरुवाको राष्ट्रिय स्रोत केन्द्रका रुपमा स्थापित गरिएको बिएल नेपाली सेवालाई बताए।
कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लाभरि ११० व्यावसायिक नर्सरी दर्ता भएका छन्। स्याउका बिरुवाको माग बझाङ, बाजुरा, सोलुखुम्बु, रसुवा, डोल्पा, मुगु, हुम्ला, कालीकोटलगायत जिल्लामा बढी छ।
जिल्लाका सबै पालिकाले स्याउ उत्पादन कार्यक्रम जारी राखेका छन्। किसानलाई अनुदानमा बिरुवा वितरण गर्ने र हुर्काउन पनि अनुदान दिने गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बिरुवा हुर्काउन वार्षिक रुपमा १ बुटाको १ सय रुपैयाँ वितरण गरिरहेको छ।
जुम्लाबाट स्याउका बिरुवा देशभर निर्यात हुने मात्र नभई जुम्लामा विदेशबाछ समेत स्याउ तथा ओखरका बिरुवा आयात भइरहेको छ। पछिल्लो समय विदेशबाट आयत भएका स्याउका बिरुवाको व्यवसायिक खेती भइसकेको छ।
तीन वर्ष अगाडि जुम्लामा हाम्रो कृषि सहकारी संस्थाले इटालियन फुजी र गाला जातको स्याउ भित्र्याएको थियो। लगाएकै वर्षबाट फल्ने तथा अरु स्याउ भन्दा बजार भाउ पनि राम्रो हुनाले उक्त स्याउबाट बढी लाभ लिन सकिने संस्थाका सचिव इन्द्रराज डाँगीले बताए।
‘इटालीबाट समुद्री मार्ग हुँदै पहिलो पटक जुम्लामा इटालियन फुजी र गाला जातको स्याउका बिरुवा ल्याइएको थियो। तर नयाँ खालको स्याउ भएको हुनाले जुम्लामा फल्छ की फल्दैन भन्ने ठूलो चुनौती थियो। स्याउको लागि जुम्लामा निकै राम्रो वातावरण भएकाले फल्यो,’ उनले भने, ‘जुम्ला पुगुन्जेल प्रति बुटा १३ सय पचास रुपैयाँ परको थियो। लगानी महंगो पर्न जाने भएपनि सुरुकै वर्षबाट फल्ने हुनाले लाभदायक छ।’
त्यस्तै यष वर्ष टर्कीबाट ४० हजार बिरुवा ल्याउने तयारी रहेको तिला गाउँपालिका जुम्लाकोटका प्रेम बस्नेतले बताए। ‘फाल्गुन पहिलो हप्तामा नेपाल ल्याइसक्ने तयारी रहे पनि कोरोना भाइरसका करण आउन सकेन। हामीले टर्कीबाट एक वर्षमै फल्ने च्याङ्लर ओखर ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘देशभर बिक्री गर्ने भनेर तयारी गरिरहेका थियौं तर कोरोना भाइरसको कराण बिरुवा समुद्रमै अट्किरहेका छन्।’