दिउँसो काममा मोबाइलको स्क्रीनमा कोरोना भाइरसको न्यूज़ अलर्ट निरन्तर टुङ टुङ आइरहेको थियो। मौका पाउनासाथ हेण्ड सेनिटाईज गरेर यसो खल्तीबाट मोबाइल फोन झिकेर हेर्दा अर्को भिक्टिम त अब म नै हुन्छु होला जस्तो मनमा लागेर आयो । यतिका मानिसमध्ये कसै न कसैबाट त मलाई सरिसकेको पनि त होला नि। खै त लक्षण देखिएको छैन, एक मनले म त अहिलेसम्म ठीकै त छु नि भनेर सोच्दासोच्दै अर्को मनमा ज्वरो आएजस्तै महसुस हुने, गाला राता राता भएर तातो महसुस भएको अनि नाक पनि अलि अलि चिलाएको जस्तै भैरहेको थियो।
हैन श्वास रोकेर पो २० सेकेण्ड हेर्नुपर्यो, फोक्सो ठीक छ कि छैन। ए फोक्सोले त काम गरिरहेको रहेछ । ढिलो चाँडो त लागि नै हाल्छ होला, म त लक्षण देखिए पनि नभनूँ कि क्या हो? चौध चौध दिन क्वारेण्टाईनमा म कसरी बिताउने? नभनेर पनि फेरि सबैलाई सर्छ। यस्तो गर्नु त ज्यादै नराम्रो काम पो हो त। ठीकै छ नि आईसोलेसनमा मोबाइल, कम्प्यूटर लान पाइन्छ क्यारे, लेखपढ गरेर बसे भईहाल्यो नि। हुन त अमेरिकामा कामबाहेक छुट्टीका दिन त सेल्फ क्वारेन्टाइनमा जस्तै त हो नि। चरोमुसो केही हुँदैन घर छिरेपछि। म हप्तामा ४० घण्टाबाहेक सेल्फ क्वारेन्टाइनजस्तै मै त हुन्छु नि। १४ दिन बिताउन त गाह्रो पनि छैन। बर्सौदेखि समय अभाबमा सम्पर्क गर्न नपाएका कति ईष्टमित्रलाई फोन गरेर बसौंला नि त।
यस्तै यस्तै मनमा आउँदै दिन बितिरहेको थियो। लाग्दै नलागेको कोरोना भाइरसले मलगायत सम्पूर्ण सहकर्मी ग्रसित भइरहेका थियौं। सायद यसरी अमिलो मनको रिफ्लेक्सन मेरो अनुहारमा प्रष्टसँग देखिएर नै होला एकजनाले कुनामा रहेको Lysol disinfecting spray लाई सोल को डिस्कनेक्टिङ स्प्रे झिकेर देखाउँदै बाहिर लेबलमा पढ्न लगाए। त्यहाँ सार्स, ईन्फ्लूयन्जा, कोरोना भाइरससलगायत दर्जन बढी रोगका नामहरु लेखिएको रहेछ। ‘तँ बकवासको पछि लागेर किन आफूलाई आफैंले सिध्याउन खोजेकी हँ? यो कुनै नयाँ रोग होइन। कोरोना त पहिल्यैदेखि छ र यो रूघाखोकी जस्तै हो। यो त त्रास सिर्जना मात्र गरेको हो।’ उनले मलाई प्रमाणसहित निकैवेर सम्झाउने प्रयास गरे ।
उनको यो कुराले केहिबेर राहत मिलेजस्तो भैरहेको थियो अनि फेरि अर्को एकजनासँग भेट । र, उनले भने यो त चीनको इकोनमी डाउन गर्न र फ्लप गर्नलाई रिपब्लिकन पार्टीले गरेको प्रोपोगाण्डा मात्रै हो। मानिसहरुलाई फ़्लू लागेको होला। त्यसैलाई कोरोना भाइरस भनेर भनिदिए। कुनै पनि फ्लुको औंषधि आजसम्म निस्केको पनि त छैन नि।
अर्को एकजनाले भन्यो, 'तिमी कति मूर्खमान्छेको हल्लाका पछि दौडेर समय खेर फालेको? भाइरस लागे पनि तिमी जवान मान्छे। अहिल्यै मर्दिनौं। यो प्रेसिडेन्ट ट्रम्पलाई खतम पार्न पेलोसीहरु मिलेर रचेको एउटा गेम हो। तिमी बच्चै छौ र यहाँको राजनीति बुझ्दिनौं।'
यस्तै फेरि अर्को एकजना कोरोना भाइरसको कमेण्टको लागि दर्है रूपमा प्रकट भए, ‘यो पोलिटिकल भाईरस हो। डराउनुपर्ने केही छैन।’ उनले यतिमै कुरो सक्न खोजिरहेका थिए।तर, मैले उनलाई मेरो आफ्नो तनावले अस्तब्यस्त दैनिकी, सहकर्मीहरुका ससाना बालवच्चा, हप्तौदेखि सुत्न नसकेका, डरले निम्त्याएको एनजाईटीदेखि डिप्रेशनसम्मका कुरा भनेर खास कुरो बुझाउन अनुरोध गरेँ।
उनले चीन कोरोना भाइरसको दोषी नभएर इरान भएको कुरा गरे। चाईनिजलगायत एशियन मुलका प्रायःजसो मंगोलियनहरू युगौंयुगदेखि सर्प, चमेरालगायतका किरा फट्यांग्रा सबै खाँदैआइरहेका छन्। यो कुरामा कुनै सत्यता पनि छैन। वास्तवमा कोरोना भाइरस इरानकै कुनै एक ल्याबमा बनाएर चीनमा प्रयोगमा ल्याइएको हो। यस्को मूल उद्देश्य अमेरिकालाई खतम पार्नु हो। किनभने न्यूक्लियर पावरबाट आक्रमण गरेर अमेरिकालाई खतम पार्न लगभग असम्भव छ।
उनका छेउमै रहेका अर्का ब्यक्ति आफैंले देखेजस्तो गरेर भन्दै थिए, 'होइन इरानले गरेको हुँदै होइन, बरू चिनियाँ वैज्ञानिकले वुहान वा हुवेईको एउटा ल्याबमा यो भाइरस बनाएको हो। परीक्षणको लागि एउटा मानिस जो क्यान्सर अथवा ठूलै रोगसँग लडिरहेको तर निकट भविष्यमा नै म्रत्यु हुने र ससाना बालबच्चाको बाबु तर अत्यन्त गरिब मानिसलाई पैसा दिएर तयार गरे। उसले यो नयाँ भाइरस बोकेर बाहिर बजारमा गयो र सयौं मानिसलाई सार्न सफल भयो। एकपछि अर्को गर्दै मानिसहरू बिरामी पर्दै गए र यो संसारभर फैलिन सफल भएको हो', उनले कुरा सके।
मेरो पनि घण्टा हान्ने समय सकियो। क्लकआउट गरेर घर आएँ। मोटोपनका कारण प्रय:जसो डिनर नखाइकन सुत्ने गरेकी म कोरोनासँग लड्नका लागि भनेर थप ईम्यून सिस्टम बनाउनका लागि किचनमा खाना पकाउन गएँ। डिनर खॉदाखाँदै दिमागमा आयो, त्यत्रो झाडापखालाले सिंगो गाउँ नै सिकिस्त हुँदा मरिनँ। हैज़ाको महामारीले मरिएन।
डेंगू, जापानिज ईन्सेफ्ईटिष्टले मरिएन।२०१५ को भुईचालोले पनि मरिएन।अब संसारको सबैभन्दा शक्तिशाली देशमा बसेका बेलामा वुहानको ल्याबमा हो कि इरानको ल्याबमा बनेको कोरोना भाइरसले नै लाने लेखेको भए लैजावोस् भन्ने लाग्यो।