न्युयोर्क बन्यो कोरोना भाइरस संक्रमित नम्बर १ अमेरिकी राज्य

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकाको न्युयोर्क राज्यले कोरोना भाइरस संक्रमितको संख्यामा सबै राज्यलाई उछिनेको छ । राज्यका गभर्नर एन्ड्रयु कुमोले १४२ जना न्युयोर्कर कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक सार्वजनिक गरेसँगै न्युयोर्कले यो दु:खद अग्रता हात लगाएको हो।

आइतबारसम्म एक सय पाँचजनामा कोरोना भाइरस संक्रमित भएकोमा सोमबार एकै दिन ३७ जना नयाँ संक्रमित भेटिएका छन्। यसबाट न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्या अत्यासलाग्दो किसिमले बढ्न लागेको संकेत मिलेको छ। 

न्युयोर्क राज्यमा १४२  कोरोना भाइरस संक्रमित भेटिए पनि नेपालीको बाक्लो बसोबास भएको न्युयोर्क सहरमा भने अहिलेसम्म १९ जना मात्र संक्रमित भेटिएका छन्। 

न्युयोर्क सहरमा भन्दा पनि धेरै संक्रमित वेस्टचेस्टरमा भेटिएका छन्। यो सानो सहरमा मात्र ९८ संक्रमित भेटिएपछि न्युयोर्कका गभर्नर कुमोको टाउको रिङ्ग्याएको छ। न्युयोर्क सहरमा भने अहिलेसम्म १९ जना  मात्र संक्रमित भेटिएका छन्। यसबाट उनलाई केही भए पनि शान्तवना मिलेको हुनुपर्छ।

न्युयोर्क राज्यमा मार्च ७ मै कोरोना भाइरसबाट उन्मुक्ति पाउँने खोजीका लागि आपतकाल घोषणा गरिसकिएको छ।

यसैगरी न्युयोर्कपछि सबैभन्दा धेरै १३८ संक्रमित वासिङ्टन राज्यमा भेटिएका छन्। त्यहाँ कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ। अमेरिकामा यी १८ सहित २२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भैसकेको छ । 

उपराष्ट्रपति माइक पेन्सले ह्वाइट हाउसमा सोमबार साँंझ गरेको प्रेस व्रिफिङमा भने अमेरिकामा मृतकको संख्या १९ मात्र रहेको बताए। उनका अनुसार अमेरिकाको राजधानी वासिङ्टन डीसीलगायत ३५ राज्यमा कोरोना भाइरस संक्रमित भेटिएका छन्। 

प्रकाशित मिति: : 2020-03-10 18:16:04

प्रतिकृया दिनुहोस्