अमेरिकामा कोरोना भाइरसबाट २१ को मृत्यु, ३४ राज्यमा ५२२ संक्रमित

बिएल संवाददाता

न्युयोर्क, अमेरिका
अमेरिकामा कोरोना भाइरसको कहर - एक प्रतिकात्मक तस्बिर ।

अमेरिकामा कोरोना भाइरस सक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ। आइतबार थप दुईजनाको मृत्यु भएपछि यो संख्या बढेर २१ पुगेको हो। यसैगरी कोरोना भाइरस संक्रिमतको संख्या बढेर पाँचसय २२ पुगेको छ।  

अमेरिकाको राजधानी वासिङ्टन डीसीसहित  ३४ राज्यमा कोरोना भाइरस फैलिसकेको छ। ५० राज्य रहेको अमेरिकामा १६ राज्य मात्र कोरोना भाइरसको संक्रमणबाट जोगिएको बताइएको छ। तर, विशेषज्ञहरू प्रमाणित मात्र नभएको हो, अमेरिकामा कुनै पनि राज्य कोरोना भाइरस मुक्त हुन नसक्ने बताउँछन्।

कोरोना भाइरसको संक्रमण बढेसँगै विभिन्न राज्यले आपतकालको घोषणा पनि गरिरहेका छन्। यसरी आपतकाल घोषणा गर्नेमा नेपालीको बाक्लो बसोबास भएका न्युयोर्क र मेरिल्याण्ड पनि रहेका छन्। न्युयोर्कमा अहिलेसम्म एक सय पाँचजनामा कोरोना भाइरस संक्रमण पाइएको छ भने मेरिल्याण्डमा संक्रमितको संख्या पाँच पुगेको बताइएको छ।

अमेरिकामा कोरोना भाइरस संक्रमित पहिलो विरामी भेटिएको एक साता मात्र भएको छ। तर, यो एक सातामै २१ जनाको मृत्यु हुनु र अमेरिकाभित्रै चारसय ३३ जनालाई कोभेड-१९ हुनु चानचुने कुरा मानिएको छैन।

प्रकाशित मिति: : 2020-03-09 20:17:14

प्रतिकृया दिनुहोस्