इटालीमा एकै दिन १३३ जनाको मृत्यु, संक्रमितको संख्या ७ हजार ३७५ पुग्याे

इटालीमा कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमणबाट आइतबार एकैदिन कोरोनाका कारण १३३ जनाको मृत्यु भएको छ। यो सँगै इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ३६६ पुगेको सरकारी अधिकारीले बताएका छन्।

इटालीको सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार संक्रमितको संख्या अहिले सात हजार ३७५ पुगेको छ। शनिबारसम्म यो संख्या ५ हजार ८८३ थियो। इटालीमा कोरोनाको संक्रमण पुष्टि हुने नयाँ बिरामीमा सेनाका प्रमुख पनि रहेका छन्। इटालीको आर्मीका चिफ अफ स्टाफ साल्भातोर फारिनालाई कोरोनाको संक्रमण भएको हो। उनले आफू ठीक रहेको र सेल्फ आइसोलेसनमा बसेको बताएका छन्।

इटालीले आइतबारदेखि एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखेको छ। इटालीले देशको उत्तरी क्षेत्रसहित १४ प्रान्तका एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखेको हो।

अनिवार्य क्वारेन्टाइन लागु भएका क्षेत्रका मानिसलाई त्यहाँबाट बाहिर जान सरकारी अधिकारीबाट विशेष अनुमति लिनु पर्छ। यो क्वारेन्टाइन अप्रिल ३ सम्म जारी रहने छ। नयाँ अनिवार्य क्वारेन्टाइनले इटालीका एक चौथाइ मानिस तथा देशको अर्थतन्त्रको केन्द्र रहेको उत्तरी क्षेत्र प्रभावित भएको छ।

पछिल्लो तथ्यांकपछि इटाली चीन बाहिर कोरोनाको संक्रमण सबैभन्दा बढी हुने देश भएको छ। चीनमा गएको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण अधिक रुपमा केन्द्रित रहेको छ। दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण धेरै रहेको छ। कोरियामा अहिलेसम्म सात हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वव्यापी रुपमा कोरोनाका कारण संक्रमित हुनेको संख्या एक लाख सात हजार भन्दा बढी पुगेको छ। यस्तै ३६ सयजना भन्दा बढीको मृत्यु भएको छ। यसरी संक्रमित हुने तथा मृत्यु हुनेमा अधिकांश चीनका छन्।

चीन बाहिर कोरोनाका कारण बढी प्रभावित भएको देश इरान पनि हो। इरानमा अहिलेसम्म ६ हजार ५६६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अहिलेसम्म इरानमा १९४ जनाको मृत्यु भएको बताइएको छ।

फ्रान्समा पनि संक्रमण बिस्तार भइरहेको छ। आइतबार दुई सांसदमा पनि संक्रमण पुष्टि भएको छ। आइतबार एकै दिन ११ सय २६ जनामा संक्रमण पुष्टि भएको फ्रान्सका अधिकारीले उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-03-09 19:57:34

प्रतिकृया दिनुहोस्