भड्किलाे बन्दै फगुवाकाे रंग

“सतुवा खाल भतार, दही चिउरा खईय इयरऊ” अर्थात श्रीमान हुँदाहुँदै महिला परपुरुषसँग लागेको यस गीतको शब्दले दर्शाउँछ।

“धिरेसे रंगवा डालुरे देवरा भित्री लागेला पाला रे” अर्थात बिस्तारै रंग हाल है देवरजी भित्र चिसो भयो। 

यस्ता अश्लील र अभद्र गीतले होरी फगुवाको मौलिकता हराउँदै गएको छ। महिलाहरू यस्ता गीत सुनेर लज्जित छन् । यिनै गीत अहिले गाउँ शहरको चोकबजार तथा घर आँगनमा मात्रै होइन, स्थानीय केही एफएम रेडियोमा पनि प्राथमिकताका साथ गुञ्जिने गरेको सुन्न पाइन्छ। होलीको परम्परागत संगीत ‘होरी’को रूपमा गाउँ टोलमा साँझ जम्मा भएर सामुहिक गाइने गीत सुनिदैन्। 

“सिया निकले अवधवा के ओर होरीया खेले राम लला” 
“राम खेले होरी, लछमन खेले होरी, गढ लंका में रावन खेले होरी..होहो..हो...”

यी राम रसका फगुवाका पारम्परिक होरीका गीत हुन् ।  प्रेम र सद्भावको पर्वको रुपमा चिनिएको ‘फगुवा’, ‘होली’ अर्थात फागुको पारम्परिक स्वरुप फेरिएपछि रंगको त्यौहार नै फेरिएकोे जानकार बताउँछन्।

‘होली पर्वको दुई वटा बिशेषता छ, पहिलो यसका बिशिष्ठ गीत संगीत। दोस्रो– परिवार तथा गाउँ समाजभित्र एकआपसमा मिलेर मनाउने क्रममा बर्षभरीको रिसराग बिर्सेर रंग र अबिर साट्ने, मिठोमसिनो खाने र रमाइलो गर्ने,’ रौतहट जमुनियाका ७१ बर्षीय बेनीलाल साहले आफ्नो अनुभव सुनाउँदै भने–‘आजभन्दा एकदशक पहिलासम्म युवाहरू गाउँघरका अग्रज व्यक्ति तथा घरका ठूलाबडा सदस्यको सामू उछृंखल गतिविधि गर्न लजाउने तथा डर मान्ने गर्थे। तर, अहिलेका युवा खुलेयाम मदिरा सेवन गरी गाउँघरमा होहल्ला गर्ने गरेको देख्न पाइन्छ।’

पहिलेको होरी गीतमा मधुरता छाएको हुन्थ्यो तर अहिले डिजेको चर्को स्वरमा अश्लील गीत बजाएर समुदायका अन्य व्यक्तिलाई दुःख दिने काम मात्रै भइरहेको छ। उनको बुझाईमा पहिलेको आदर्श युग अब रहेन। अबको नयाँ पुस्तालाई खासमा होलीको के महत्व छ, त्यसको जानकारी नै छैन। ‘मदिरा सेवन ग¥यो, अरुलाई जिस्क्यायो यहि छ, अहिलेको होलीमा’, उनी भन्छन्। 

मधेशी समुदायमा मनाइने जतिपनि पर्वहरू छन्। ती सबै पूजाको रुपमा मनाइन्छ । तर, होली फगुवा एकमात्र यस्तो पर्व हो, जसलाई यस समुदायले विशुद्ध खानपीन र मनोरञ्जनको रूपमा मनाउने गर्छन्। चैतको प्रतिपदाका दिन होली मनाइन्छ। बसन्त ऋतुको मध्यमा पर्ने भएकोले होली पर्वको छुट्टै पहिचान छ ।

होलीलाई भाईचारा र आपसी सद्भाव बढाउने पर्वको रुपमा पनि लिने गरिन्छ। आपसी प्रेम र आत्मीयता बढाउनु यो पर्वको खास विशेषता हो । वर्ष दिनको रिस पनि यसदिन बिर्सेर रंग र अबिरको साथ नयाँ सम्बन्धको सुरुवात गरिन्छ । तर अहिले यसको ठिक विपरीत भइरहेको वीरगञ्ज घडिअर्वाका प्रभु साह सुनाउँछन्। उनका अनुसार अहिले मानिसहरू साथीभाईको घरमा जान चाहदैनन् । अभद्र व्यवहारले गर्दा राम्रो सम्बन्ध पनि बिग्रिने गरेको छ। यस्तै गुनासो बहुअरीका लालबाबु यादवको पनि रहेको छ ।  

बहुअरीकै ७५ वर्षिय आसमान यादवले होरीको पारम्परिक गीत गाएर “सीया जानकीके ले गईले चोर दुनु भईया रोए हो कदम तर” सुनाउदै भने–‘हाम्रो पालामा गाउँका बुढापाकासँगै युवाहरू पनि होरी फगुवा गाउँथे। दिनभरी पारम्परिक होरीको गीत गाइसकेपछि बेलुकी पख चैतावर गाएर रंग आकाशमा उडाई फगुवाको समाप्ति गर्थे । तर यस्तो अब देख्न नपाउँदा साह्रै दुःखी भएको उनी बताउँछन्। 

बारा सिमरौनगढ निवासी ६० वर्षीय रामेश्वर मेहताका अनुुसार पहिले एकअर्काको घरघरमा गएर रंग अबिर र होली खेल्ने चलन थियो तर अहिले गाउँघरका बाटो समेत सुनसार देखिन्छन् । पहिले समुदायका हरेक जातजाति सामुहिक रुपमा खानपिन गरी रमाइलो गर्थे । अहिले म नै ठूलो हुँ भन्ने अहम सबैको मनमा पलाएको छ। जसकारण आत्मियता घट्दै गएको छ । युवाहरु अश्लिलतातर्फ गइरहेका छन् । स्थानीय गायकहरू पैसा कमाउने लोभमा पारम्परिक गीतलाई बिगार्दै छन् ।

आफ्नो युवा अवस्था सम्झदैँ मेहता भन्छन्, ‘त्यसबेला मदिराको सेवन खासै हुदैनथ्यो।’ त्यस बेला दुध, जौ, नरिवल, छोकडा र सुकमेलको मिश्रणमा कुश्मा तयार गरी सेवन गर्ने चलन थियो । अहिले जस्तै ‘रेडिमेड’ पेय पदार्थ पिउने चलन थिएन । मौसमअनुसार पेटलाई शीतल बनाई राख्न कुशमा पिउने गर्थे। यसमा भाङ मिसिएको हुनाले नसालु त हुन्थ्यो तर मदिरा जत्तिको हानिकारक नभएको हुनाले रमाइलोका लागि थोरै पीउने चलन थियो।

प्राध्यापक तथा समाजसेवी सुश्मा तिवारी भने नयाँ पुस्ताले आफ्नै तरिकाले रमाइलो गरी होली पर्व मनाइरहेको बताउँछिन्। उनी पनि परम्परागत रूपमा पहिले जस्तो मनाउने चलन हराउदै गएको स्विकार्छिन्। ‘अहिलेको होलीमा तडकभडक बढी भएको छ। पहिले प्राकृतिक रंगको प्रयोग गरिन्थ्यो भने अहिले केमिकलयुक्त रंगको प्रयोग भइरहेको छ। जुन स्वास्थ्यको लागि हानिकारक छ,’ उनी भन्छिन्।

पहाडको तुलनामा तराईतिर लोला हान्ने प्रवृति कम रहेपनि जबरजस्ती रंग लगाइदिने, पैदल यात्रुको जीउमा रंग हाल्ने जस्ता उच्छृंख्ल गतिविधि बढी देख्न पाइन्छ। जसकारण होलीको दिन सडकमा भद्रभलाद्मी निस्किन चाहदैँनन्। महिला त झन् डरले एक्लै कतै निस्किन मान्दैनन्। 

‘फोहोर गीत पनि बढी बज्ने हुँदा लज्जाबोध हुन्छ,’ उनी भन्छिन्। बढ्दो शहरीकरणले गर्दा नयाँ पुस्ताले पारम्परिक गीतसंगीतलाई अपनाउन सकेका छैनन्। पहिले समुदायमा फगुवा मनाउने चलन थियो। अहिले आफ्नो परिवारसम्म मात्र सिमित रही होली मनाउने चलन आइरहेको उनको भनाई छ। परिवारमा दिइने संस्कारकोे कमिले पनि विकृति फैलिदै गएको उनको बुझाई छ । 

समाजसेवी डा.तिवारीका अनुसार होली पर्व संसारभरी एकै दिन मनाइने भएपनि नेपालमा भने दुई दिन मनाइन्छ, जसका कारण समुदायिक विभेद पनि देखिन्छ। पहिलेको समयमा सबै जातजाति एकआपसमा अंगालो मार्दै रंग लगाएर फगुवा मनाउँथे तर अहिले भने जातीय विभेद भएको छ । खासगरी शहर बजारमा आआफ्नो समुदायका व्यक्ति पहिचान गरी छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी होली मनाइरहेका छन्। जुन होलीको वास्तविक मौलिकता होइन। 

कतै भोजपुरी भाषीले छुट्टै होली मिलन कार्यक्रम गरेको छ भने कतै मैथिली, मारवाडी, वैश्य, कायश्थ जस्ता अनेकन जातजातिले जातीय विभेद फैलाइरहेका छन्। होलीको नाममा विभिन्न कार्यक्रम भएको देख्न पाइन्छ तर यसको खास विशेषता के हो? भन्ने बारेमा विभिन्न समुदायका मानिस बुझ्न सकिरहेका छैनन् ।  

लोक संस्कृतिविद् उमाशंकर द्विवेदी “दधिची”का अनुसार बषन्त ऋतुको मध्य पर्ने भएकोले यसबेला पूरा प्रकृति नवसृजनको क्रममा हुन्छ । रुखमा नयाँ पालुवा, मुजा तथा चिचिला पनि लागेको देख्न सकिन्छ । प्रकृतिअन्तर्गत मानवजाति पनि परेको हुनाले मानवको मनमा पनि नव सृजनाका लागि उमंग र उत्साह हुन्छ।

पौराणिक मान्यता अनुसार पनि यसको छुट्टै महत्व छ । हिरण्यकश्यपकी बहिनी होलीका जुन की रक्षसी थिइन । जसलाई बरदान प्राप्त हुन्छ, आगोबाट कहिल्यै नजल्ने । त्यसै बरदानको गलत फाइदा उठाई आफ्नो भाईको छोरा भदा विष्णुभक्त प्रल्हादलाई मार्ने मनसायले आपूmसँगै आगोमा जलाउन खोज्दा उल्टै प्रल्हाद बचे र होलीका त्यही आगोमा जलेर खरानी भइन्। त्यसैले पनि फागु पूर्णिमाका दिन मधेशी समुदायमा विशेष विधिपूर्वक होलीका दहन गर्ने परम्परा छ। असत्यमाथि सत्यले विजय प्राप्त गरेको हुनाले होलीका दहनको भोलीपल्ट खुशीयालीको रुपमा रंग अविर लगाई मिठो परिकार खाएर खुशीयाली साटासाट गर्ने परम्परा छ। 

यस्तै होली फगुवालाई मधेशी समुदायले नयाँ बर्षको रुपमा मनाउने चलन पनि छ । त्यही कारण होलीका दहनको दिन सम्वत जलाएको पनि भनिन्छ । अर्थात पूरानो सम्वतलाई जलाइ नयाँ सम्वतको सुरुवात गरिएको हो। फागुन शुक्लपक्ष पूर्णीमाको दिन होलीमा समावेश हुन परदेश गएका पनि केही दिन अगावै आइपुगेका हुन्थे। तराई क्षेत्रमा बाहिर काम गर्न परदेश जाने भनेर अधिकांश मानिस भारतका ठूला शहर जाने गर्छन। उनीहरू फर्किने मुख्य समय भनेकै होली र छठ हो ।


 

प्रकाशित मिति: : 2020-03-09 20:04:00

प्रतिकृया दिनुहोस्