अनि मात्र हामी दृष्टिविहीन महिलाका लागि नारी दिवस सार्थक हुन्छः लामिछाने (भिडियो)

जीवन बनिया

काठमाडौं

आज फागुन मार्च आठ अर्थात ११० औं अन्तर्राष्ट्रिय नारी दिवस। हरेक वर्ष विविध कार्यक्रम गरी मनाइने नारी दिवस यसपटक कोरोना भाइरसको सन्त्रासले प्रभावित भएको छ।

‘महिला रोकिए संसार रोकिने छ’ भन्ने मूल नारासहित मनाउने नारी दिवस दृष्टिविहीन महिलाहरूले पनि विविध कार्यक्रम गरी मनाउने कार्यक्रम तय थियो।

यसै सन्दर्भमा हाम्रा दृष्टिविहन संवाददाता जीवन बनियाले दृष्टिविहीन महिलाले नारी दिवसलाई कसरी लिएका छन्। यसअघि के कस्ता कार्यक्रम गरेर मनाउँथे। साङ्ग महिलासँग के कसरी मिलेर कार्यक्रम तय गर्थे, अपाङ्ग महिलाको सहभागिता कस्तो हुन्छ, के कस्ता समस्याहरू दृष्टिविहीन महिलाले भोग्दै आएका छन्। भन्ने सन्दर्भमा प्रयत्न नेपालकी संस्थापक सरिता लामिछानेसँग कुरा गरेका छन्।

सरिता लामिछाने

संस्थापक (प्रयत्न नेपाल)

महिला दिवस एक दिन मात्र भए पनि महिलाको आवाज बुलन्द गर्ने दिनका रूपमा लिन थालिएको छ। यति मात्र नभएर हामी दृष्टिबिहिन महिलाले अवसर पाए समाज परिवर्तनमा अहम भूमिका खेल्न सक्छौं भनेर देखाउने दिन हो।

पुरूष र महिला बराबर भन्ने शब्द नारामा मात्र समित भएको छ। हामी नारिहरू अझै पनि आफ्ना हक र अधिकारका लागि संघर्षरत छौं। हुन पनि हो। आफ्नो अधिकार माग्न सुरू गरेको पनि कति समयनै भएको छ र?

नेपालमा मनाउँदै आएको श्रमिक अन्तर्राष्ट्रिय महिला  दिवसमा दृष्टिविहीन महिलाको मुद्दा समावेश थिएन, र अझै पनि छैन। तर दृष्टिविहीन महिलालाई कार्यक्रममा सहभागिता गराउने गरे पनि नेतृत्वको जिम्मा अझै पाएका छैनन्।

अपाङ्ग भएकै कारणले हामीलाई धेरैले क्षमतामाथि अविश्वास गरिरहेका छन्। जतिसुकै समावेसिता भने पनि निर्णायक तहमा अपाङ्गता भएका महिलालाई समेटिएको छैन।

बाटोमा हिँडडुल गर्दा हामीलाई गमनशिलताको समस्या हुन्छ। दृष्टिविहीन महिलासँग हिँड्न आवश्यक सहायक सामाग्री भए पनि हिँडडुल गर्नलाई समस्यानै हुन्छ।

दृष्टिविहीन महिलाहरू घरबाट बाहिर निस्किँदा हरेक पाइला पाइलामा त्रास भोगिरहनुपर्छ। कतै यौन हिंसाको सिकार त भइँदैन भनेर त्रासमा बसिरहेको बेला परिवारले पनि निस्किन दिँदैनन्। कही कतै आँखा देख्नेले बाटो क्रस् गराइदिने बहानामा सम्वेदशील अंगहरूमा छुन खोज्ने, सार्वजनिक सवारी साधनमा बलात्कारको  प्रयास गर्ने त्यति मात्र नभएर स्कुलको छात्राबासमा समेत महिलाहरू शिक्षकबाटै असुरक्षित हुने गरेका छन्।

यस्तै बौद्धिक अपाङ्गलाई समेत ‘यदि भनिस् भने मर्छेस्’ भन्दै जबर्जस्ती गरिन्छ। अभिभावकबाट पनि यस्ता अपाङ्गको पाठेघर काट्ने प्रयास गरिन्छ।

यहीबाट स्पष्ट हुन्छ कि, हामी कुन समाजमा हुर्किरहेका छौं।  बलात्कार र घरेलु हिंसा रोक्न हरेक क्षेत्रमा दृष्टिविहीन महिलाको पहुँचयुक्त  सहभागिता हुनुपर्छ।

श्रमिक महिलाभित्र सीमान्तकृत समुदाय अर्थात पछाडि पारिएको समुदाय  हुने भएकाले अर्थपूर्ण सहभागिता नभएमा महिला दिवस मनाउनुको औचित्य हुन्न।

पछिल्लो समयसम्म आइपुग्दा कुन महिला सञ्जालमा अपाङ्गता भएको महिला अध्यक्ष भएर काम गरिरहेका छन्? अनि कति वटा संघ संस्थाले अपाङ्गता भएका महिलालाई रोजगारी दिएका छन्?

कार्यकारी अधिकृत र सामान्य रोजगारीको अवसर दिए पनि अपाङ्ग महिलालाई ठूला-ठूला पदमा राज्यले अझै स्वीकार्न सकिरहेको छैन्।

अपाङ्ग महिलाको क्षेत्रमा काम गर्ने विभिन्न दातृ निकायले पनि आफूलाई मुल प्रवाहितकरण गर्ने, आफ्नो घेरा भित्र ल्याउने काम मात्र गरिरहेका छन्।

सरकारी न्यायिक तहमा अपाङ्ग महिलाको सहभागिता गराउने, स्थानीय तहमा अपाङ्ग भएका महिलाको मुद्दा उठाउनुपर्ने न्यायिक समितिबाट महिलाको समस्या पहिचान गरि समधान गर्ने र आम सञ्चारले महिलाको दुःखको कथा मात्र नभएर सफलताको कथा पनि महत्वका साथ स्थान दिएमा समाजमा जनचेतनाको विकास मात्र नभएर केही हदसम्म समस्याको समाधान समेत हुन्छ।

स्कुलबाट कुनै पनि बालिका साँझ घर फर्किँदा बलात्कारको सिकार नभएमा वा पाँच वर्ष कि नानीलाई हजुरबासँग छोड्दा बलाकृत नहुने अवस्थाको सृजना गराइएमा अनि  महिलालाई एकै संस्थामा काम गर्ने सहकर्मी/सहयोद्धा हो भनेर मानसिक रूपमा परिचित गराइन्न तबसम्म महिला दिवस मनाउनुको कुनै औचित्य हुन्न।

त्यसै गरि अपाङ्गता भएका महिलाले पनि अवसर पाएमा केही गरेर देखाउन सक्छन् भन्ने रियलाइजेसन  भएमा मात्र दिवसको सार्थकता रहन्छ।

हेर्नुहोस् विस्तृतमा भिडियो कुराकानी

 

प्रकाशित मिति: : 2020-03-09 05:54:37

प्रतिकृया दिनुहोस्