मोदी र केजरीवालले यस वर्ष हाेली नखेल्ने

भारतमा कोरोना भाइरस अर्थात कोभिड–१९ का संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन्। त्यहाँ कोरोना संक्रमितको संख्या २८ पुगेको छ। मंगलबार र बुधबारमात्रै २५ जना नयाँ संक्रमित थपिएका हुन्।

भारतीय अधिकारीहरुका अनुसार मंगलबार ६ जनामा संक्रमण पुष्टि भएको थियो। बुधबार एकै दिन १९ जना नयाँ संक्रमित भेटिएका छन्। उत्तर प्रदेशको आगरामा शंकास्पद ५० जनाको परीक्षण गरिएको छ भने उनीहरुको रिपोर्ट आइसकेको छैन।

संक्रमण पुष्टि भएका सबैलाई दिल्लीको सफदरजंग अस्पतालमा भर्ना गरिएको छ। इटलीबाट आएका २१ जनालाई दिल्लीको आईटीबीपी आइसोलेसन सेन्टरमा राखिएको छ। आइसोलेसनमा राखिएकामध्ये १६ जनामा कोरोना पुष्टि भैसकेको छ।

भारतका सबै प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।  भारतीय केन्द्रीय वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री प्रकाश जावडेकरका अनुसार कोरोना परीक्षणका लागि १५ वटा नयाँ ल्याब बनाइएको छ। १९ वटा तत्काल बनाउने तयारी छ।

मन्त्री जावडेकरका अनुसार विमानस्थलबाट आउने ६ लाख मानिसको स्कृनिङ गरिएको छ। खुला सीमाबाट भारत प्रवेश गर्ने १० लाख मानिसको स्कृनिङ गरिएको छ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा र गृहमन्त्री अमित शाहसमेत भारतीय जनता पार्टीका थुप्रै नेताहरुले आफूहरुले होली नमनाउने निर्णय गरेका छन्।

भारतीय प्रधानमन्त्रीले आफू कुनैपनि होली सम्बन्धी समारोहमा भाग नलिने निणर्य गरेका छन्।

बुधबार बिहान ट्विट गर्दै मोदीले विश्वभर समस्काको रुपमा देखिएको कोरोना भाइरसको त्रासका कारण आफू होलीका कुनै कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन्। 

‘कोभिड–१९ कोरोना भाइरसबाट बच्नका लागि विश्वभर विशेषज्ञहरुले सामूहिक भेलालाई कम गर्न सुझाव दिइरहेका छन्’ उनले ट्विटरमा लेखेका छन्–‘यसकारण यससाल मैले कुनैपनि होली मिलन कार्यक्रममा भाग नलिने निर्णय गरेको छु’। 

त्यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि होली नखेल्ने निर्णय गरेका छन्। भारतमा होलीलाई विषेश पर्वको रुपमा लिइन्छ। 

प्रकाशित मिति: : 2020-03-05 21:20:14

प्रतिकृया दिनुहोस्