अर्बपति ब्लुमबर्ग चुनावी होडबाट बाहिरिए, बाइडेनलाई समर्थन गर्दै

आउँदो नोभेम्बरमा अमेरिकामा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडमा अर्बपति माइकल ब्लुमबर्ग ‘सुपर ट्युसडे’ बाहिरिएका छन्।

सुपर ट्युसडेका रुपमा चिनिएको मंगलबार डेमोक्र्याटिक उम्मेदवार चयनका लागि १४ राज्य र एक प्रशासित क्षेत्रमा मतदान भएको थियो। चुनावी अभियानमा ५०० मिलियन अमेरिकी डलर भन्दा बढी खर्च गरेका ब्लुमबर्गले मात्रै एक क्षेत्रमा जित हाँसिल गरे।

मंगलबार भएको प्राइमरी ककसमा १० राज्यमा जित हाँसिल गरेका पूर्वउपराष्ट्रपति जो बाइडेनले अति राम्रो प्रदर्शन गरे। यता तीन राज्यमा सिनेटर बर्नी सान्डर्स विजयी भएका छन्।

न्युयोर्कका पूर्व मेयर ब्लुमबर्गले आफ्नो चुनावी अभियान अन्त्य गरी पूर्व उपराष्ट्रिपति बाइडेनलाई समर्थन गर्ने घोषणा गरेका छन्।

आफ्नो चुनावी अभियान अन्त्यको घोषणा गर्दै ब्लुमबर्गले भनेका छन्, ‘तीन महिनाअघि म राष्ट्रपति बन्ने होडमा प्रवेश गरेको थिएँ, डोनाल्ड ट्रम्पलाई पराजित गर्नका लागि। आज म यो दौडबाट बाहिरिएको छु।’

उनले आफ्नो समर्थन बाइडेनमा रहेको पनि बताए।

प्रकाशित मिति: : 2020-03-05 20:29:40

प्रतिकृया दिनुहोस्