प्रा.डा. शर्वराज आचार्य
राणाकालदेखि सत्तासीनहरूको कोपभाजन हुनुपर्ने परिवेशबाट नेपाली भाषाको पठनपाठनका क्रियाकलाप अघि बढेको पाइन्छ। त्यो समयमा धेरै बौद्धिक र प्राज्ञिकहरू नेपाली भाषाको श्रीवृद्धि गर्ने कर्ममा लागेका भेटिन्छन्। उनीहरूकै सत्प्रयासका कारण विद्यालयदेखि विश्वविद्यालय तहसम्म नेपाली भाषा पठनपाठनमा प्रयोग हुन थाल्यो। पठनपाठनको परम्परामा विसं.२०२८ को राष्ट्रिय शिक्षा पद्धतिले नेपाली भाषालाई माध्यम र विषयको रूपमा हेरेको थियो। त्यसैले शिक्षा विषयका रूपबाट नेपाली भाषा शिक्षण गर्ने ठूलो जनशक्ति उत्पादन भएको छ। तर, त्यो जनशक्ति पेसागत रूपमा एउटा छाताभित्र संगठित हुन सकेको अवस्था छैन। अहिले नेपालका संघ, प्रदेश र स्थानीय तहमा नेपाली भाषा शिक्षाको संगठित तथा प्रशिक्षित अनुभवलाई उपयोग गर्नुपर्ने वातावरण सिर्जना भएको छ। उता भाषा शिक्षाका राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान हुन सक्ने फोरमको निर्माण पनि खटकिँदो छ। यस परिप्रेक्षमा अग्रजहरूले विधागत रूपमा विकसित गरेको नेपाली भाषा शिक्षालाई थप सहयोग पुर्याउन नेपाली भाषा शिक्षा समाज गठनको अपरिहार्यता देखिएको छ।
विसं.२००७ मा राणाशासनको अन्त्य र प्रजातन्त्रको सूत्रपात भएपछि भाषिक कर्ममा लाग्नेहरूलाई सत्ताको कोपभाजन हुनुपर्ने स्थिति रहेन। फलतः शिक्षाका निम्ति विसं.२००९ मा नर्मल स्कुल र विसंं.२०१३ मा कलेज अफ एजुकेसनको स्थापना हुनसकेको देखिन्छ। शैक्षणिक दृष्टिले नेपाली भाषा शिक्षाको शिक्षण प्रशिक्षणको प्रारम्भ पनि यसै समयदेखि हुन थालेको हो। तर, विसं.२०२८ मा नयाँ शिक्षा पद्धति लागू हुनुभन्दा अगाडि नेपाली भाषा शिक्षाले विधागत स्वरूप ग्रहण गर्न सकेको देखिन्न। ०२८ देखि ०४१ सम्म नेपाली भाषा शिक्षाका तत्कालीन अग्रजहरूले यसलाई विधागत स्वरूप दिन संघर्ष गरेको भने देखिन्छ। उनीहरूको संघर्षले नेपाली भाषा शिक्षालाई विधागत स्वरूप दिन सफलता प्राप्त गर्यो। फलतः २०४१ पछि आजसम्म आइपुग्दा नेपाली भाषा शिक्षालाई मूल विषय बनाएर क्रमशः एमएड, पीएचडी र एमफिलको शिक्षण प्रशिक्षण हुन थालेको अवस्था छ।