मौसमविद् भन्छन्– शनिबारसम्म मेघगर्जनसहित वर्षा हुन्छ

आज बुधबार पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। 

उनका अनुसार हाल ईरान तथा आसपासको क्षेत्र नजिक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहिबारबाट नेपाल प्रवेश गर्नेछ।  सो प्रणालीका कारण बिहीबार देशको पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा चट्याङ्,हावाहुरी र असिनासहित वर्षा हुनेछ। यता पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपात को सम्भावना रहन्छ। 

यस्तै शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा चट्याङ्, हावाहुरी र असिनासहित वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपात को सम्भावना रहन्छ।

शनिबार देशभरनै सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपात हुने देखिएको उनले जानकारी दिइन्। साथै देशका केही स्थानहरुमा चट्याङ्, हावाहुरी र असिनासहित वर्षाको संभावना समेत रहेको छ ।

आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार हुने मौसमविद् मानन्धरले बताइन्।
 

प्रकाशित मिति: : 2020-03-04 21:01:16

प्रतिकृया दिनुहोस्