बालकोट पुलभन्दा पर खेतबारीमा सागपात केलाउँदै गरेकी सत्तरी वर्षीया आमाले हनुमन्ते हेर्दै विगत सम्झिइन्, ‘यो खोलामा वारिदेखि पारि किनारसम्म सफा पानी सललल बग्थ्यो। मानिसहरू पवित्र नदी भन्थे। सम्मान गर्थे। नदीको बहाब हेरेर आनन्दित हुन्थे। यहाँको पानी पिएर जान्थे। मैले पनि कत्तिपटक पिएकी थिएँ। त्यस्तो खोला यस्तो होला भन्ने मैले कल्पना पनि गरेकी थिइनँ !’
पुलबाट खोलातिर हेर्दा दुवै किनारामा ढलपानी झर्ने ह्युम तथा काला पाइप नदीतिर तेर्सिएका छन्। ढल पाइपबाट निस्किएका मानवविसर्जित फोहोरबसहितको लेदो पानी थपिँँदै र दुर्गन्ध फैलाउँदै बगिरहेको छ। पाइपका वरपर र नदीका बीचतिर कतै थुप्रो त कतै छरपस्ट रूपमा सिमेन्टका बोरा, प्लास्टिक, लुगा, झोला, हेलमेट, टायर, चप्पल, जुत्ता, काठका टुक्रा, स्पम, थुन्चे, डोका, चुरोट, बिस्कुट, चाउचाउका खोल र कार्टुन, कपाल, गाईगोठबाट निस्किएका मूत्र, केराका थुम्बा, पातपतिंगर, सिटासिटी, दाउरा बनमारालगायतका झारपात देखिन्छन्। यहाँको परिदृश्य हेरेपछि हनुमन्तेले भने झैं लाग्थ्यो– शिक्षित मानिसहरू बस्ने सभ्य सहरको परिचय बोकेर म निरन्तर बगिरहेको छु !