दिल्ली र तेलंगनामा भेटिए कोरोना संक्रमित

बिएल संवाददाता

नयाँदिल्ली

भारतको राजधानी नयाँ दिल्लीमा पनि नोवेल कोरोना अर्थात कोभिड–१९ भाइरसको संक्रमण भेटिएको छ। भारतीय संचारमाध्यमका अनुसार एक जना नयाँ दिल्ली र अर्को तेलंगनामा कोरोना संक्रमित भेटिएको हो। 

संक्रमण देखिएका बिरामी इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट नयाँ दिल्ली आएको भारतीय स्वास्थ्य मन्त्रायले जनाएको छ। दुबै बिरामीको अवस्थास्थिर रहेको र उनीहरुलाई नजिकबाट अनुगमन गरिएको बताइएको मन्त्रालयले जनाएको छ।

भारतमा पहिलो पटक केरलमा एक महिलामा कोरोनाको संकेत देखिएको थियो। उनीसँगै यसअघि यो भाइरसको संक्रमण देखिएका तीनै जना स्वास्थ्य लाभ गरिसकेका छन्।

चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको छ।
चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ। हाल चीनमा यस रोगबाट ज्यान गुमाउने सबै व्यक्ति हुबेई प्रान्तका रहेका पनि समाचारमा जनाइएको छ। यस भाइरसका कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुबेइ प्रान्तका रहेका छन्। 

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ। 
चीनबाहेक विश्वका अन्य १० देशका मानिसहरूको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ। इरानमा हालसम्म ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ।  इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ। 

यस भाइरसका कारण विश्वभरी कम्तीमा ८९ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ।  त्यहाँ कम्तीमा ३४ जनाको मृत्यु तथा करिब १७ सय जनामा सङक्रमण भएको पुष्टि भएको छ।

बेलायतमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। 

चीनपछि सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ५०० जना सङ्क्रमित भेटिएका छन्। त्यहाँ ४ हजार २१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क रहेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: : 2020-03-03 04:43:44

प्रतिकृया दिनुहोस्