मुलुकको त के कुरा भयो र ? यसै पनि 'नीलो-पीडा'मा छ।
नेपालको सत्तारूढ दल नेकपाको समस्या घट्ने छनक देखिएको छैन। एकपछि अर्को आन्तरिक समस्यामा फस्दै गएको नेकपाका दुई अध्यक्षमध्ये एकमाथि शनिबार जुत्ता प्रहार गरिएको छ भने अर्का अध्यक्ष खड्गप्रसाद शर्मा ओली बुधबार दोस्रोपटक मृगौला फेर्दैछन्।
महरा प्रकरण, एमसीसी प्रकरण, गोकुल बाँस्कोटा टेप प्रकरण, बामदेव गौतम प्रकरण, संविधान संशाोधन प्रकरण,बालुवाटार प्रकरण, शेरधन राई प्रकण, नेपाल ट्रष्ट जग्गा प्रकरण, प्रधानमन्त्री ओलीको नेपाल केक प्रकरणलगायतका दर्जनोै प्रकरण अझै पनि यो सरकारको टाउको दुखाइ बनेकै छन्। यो वा त्यो नाममा नैतिक पतन वा भष्टाचारसँग जोडिएका यी सबै प्रकरणको हाडनाता सत्तारूढ दल नेकपासँग जोडिएको छ। ओली र प्रचण्ड त्यही पार्टीका अध्यक्ष भएकाले उनीहरूले ती प्रकरणबाट उन्मुक्ति पाउँने भन्ने कुरै हुदैन। त्यसमा पनि ओली त कार्यकारी प्रधानमन्त्री हुन् र यी सबैमा उनको कतिमा प्रत्यक्ष र कतिमा नैतिक जिम्मेवारी प्रष्टसँग देखिन्छ।
हुन त प्रचण्डमाथि प्रहार भएको जुत्ता र ओलीको प्रत्यारोपण हुन लागेको मृगौला एउटै कुरा हैनन्। तर, तिनीहरूको साइनो देश, जनता र सत्ता सञ्चालनसँग हुने अर्थमा फरक पनि हैनन्।प्रचण्डमाथिको जुत्ता प्रहार सत्तारूढ दलको शासकीय शैली र समाजमा बढ्दो वितृष्णाको कडीका रूपमा हेर्नुपर्ने हुन्छ। उता, ओलीको मृगौला प्रत्यारोपण देशको कार्यकारी प्रधानमन्त्रीको स्वास्थ्य र उनले डेलिभरी गर्ने शासनसँग सम्बन्धित हुन्छ।
पहिला प्रचण्डमाथि भएको जुत्ता प्रहारको कुरा गरौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार हुनु सामान्य कुरा हैन। अरूबेला खादा माला लगाउँथे, यसपटक जुत्ता प्रहार भएछ- झट्ट हेर्दा देखिएको रूप पक्ष यही हो। तर, यसको सार पक्ष अर्कै छ। हाम्रो समाज कतातिर जाँदैछ, त्यसको एक संकेत पनि हो। यसलाई हल्का प्रतिक्रियाको आवरणमा सामान्यीकरण गर्नु सही हुदैन।
नेपालका ठूला खबर के हुन् भनेर सामाजिक सञ्जालदेखि मूलधारका मिडियासम्ममा हेर्यो, सबैमा लगभग उस्तै शीर्षक पाइन्छन् - ओलीको मिर्गौला हेरफेर, प्रचण्डमाथि जुत्ता प्रहार । के यी शीर्षक 'समृद्ध नेपाल सुखी नेपाली'का लागि सुहाउँदा हुन् ?
यद्यपि, नेपालमा यस्तो घटना यो नै पहिलो हैन। प्रचण्डकै लागि पनि यो दोस्रो घटना हो। यसअघि २०६९ मंसिरमा उनलाई बाग्लुङका पदम कुँवरले थप्पड हानेका थिए। नेकपाकै अर्का नेता झलनाथ खनाल पनि यस्तो आक्रोशको शिकार भैसकेका छन्।
नेतामाथि जुत्ता प्रहार गरिनु सभ्य समाजको द्योतक हैन । त्यसैले समाजको जो कोही व्यक्तिले पनि यस्तो कार्य गर्नेलाई उक्साउने हैन, उसको निन्दा नै गर्नुपर्छ। प्रचण्डमाथि गरिएको यो व्यवहार पनि सही हैन। भलै उनीसँग विचार नमिल्ला, उनले गरेको सशस्त्र जनयुद्धलाई हेर्ने दृष्टिकोणमा फरक होला । जे भए पनि उनी नेपालका पूर्वप्रधानमन्त्री र अहिले पनि सांसद हुन्।
यसले हाम्रो समाजमा नेताप्रतिको वितृष्णाको ग्राफ कति बढ्दैछ भन्नेको संकेत गर्छ। तर, उनीहरू त्यो सत्य स्विकार्दैनन् र अन्टसन्ट बोलिरहेका हुन्छन्। त्यसले मानिसमा क्षणिक आक्रोश सिर्जना गर्छ र उनीहरू त्यसको शिकार हुन्छन्। जस्तो : प्रचण्ड नेपालमा लगभग जहाँनिया शासन ल्याउने गरी नातावाद कृपावादका पर्याय भएका छन् । तर, उनी नातावाद कृपावादको विरोधमा भाषण गर्छन् भने जनतता कसरी त्यो सहन सक्छ र ? त्यसपछि उसले जे छ, त्यही उज्याउँन थाल्छ । त्यस्तै अर्को उदाहरण ओलीले मेरिटोक्रेसीको कुरा गरे भने पनि जनतालाई जङ चल्छ। सबैलाई थाहा छ, ओलीको मेरिटोक्रेसी भनेको उनको लागि राम्रो हुनु हो। लिलामणि पौड्याल काम नलाग्ने र यती समुहकी सोनामकी छोरी काम लाग्ने राजदूत हुन् भन्न थाले भने दुबैको ट्रयाक रेकर्ड थाहा पाएकाले कसरी सहन सक्छन् र?
जब यस्तै कुराले मानिसको चित्त बुझ्दैन, अनि ऊ भित्रको मानिस जाग्न थाल्छ। त्यसले के ठीक र के बठीक नै छुट्याउन छोड्छ। अनि हातमा के छ ? त्यसैले प्रहार गर्न थाल्छ। प्रचण्डमाथिको प्रहार त्यसैको सांकेतिक प्रदर्शन हो। तर, जे भए पनि यो सभ्य समाजको द्योतक भने हैन।यो एक किसिमको सामाजिक रोग हो । यसको निदान भनेकै नेताहरू जिम्मेवार र जवाफदेही भइदिनु हो।
अब ओलीको मृगौला प्रत्यारोपणको कुरा गरौं।ओली बुहारी अञ्जनाको मृगौलाले प्रधानमन्त्री चलाइरहेका छन्। त्यो मृगौलाले काम गर्न छोडेर केही समययता उनी गम्भीर स्वास्थ्य समस्यामा छन्। बुहारीको मिर्गौलाले काम गर्न छोडिसक्यो। अर्को मृगौला चाहियो, ३२ वर्षीय भाञ्जी तयार भइन् अब बुधबार भाञ्जीको मृगौला ओलीमा हालिने छ। र, उनी त्यो मिर्गौलाले प्रधानमन्त्री चलाउनेछन् ।
ओली अस्वस्थ छन् । मृगौला त उनको देखिने समस्या मात्र हो। अरू पनि समस्या होलान् ।तर, उनी प्रधानमन्त्रीको कुर्सीबाट टसमस गरेका छैनन्। डा. गोविन्द केसीले त उनको मानसिक असन्तुलन नै छ सम्म भने। एकजना डाक्टरले त्यतिकै त भनेनन् होला । तैपनि ओलीमा त्यसको केही हावा लागेको छैन।
अरू देशमा भएको भए स्वास्थ्यकै कारण या त ओलीले सत्ता छोडिसकेका हुन्थे वा उनलाई छोड्न लगाइन्थ्यो । उदाहरणका लागि अमेरिकामा एकपटक हर्टअट्याक भएका बर्नी स्याण्डर्सलाई राष्ट्रपतिको उम्मेद्वार हुनुअधि उनको स्वास्थ्य प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ। तर, नेपालमा त्यस्तो पारदर्शी जवाफदेहिताको आवश्यकता पर्दैन। त्यसैले ओलीको एक छत्र राज चलेको छ।
ओली सत्तारूढ दल नेकपाका अध्यक्ष र प्रधानमन्त्री हुन्। उनको काम गर्ने शैली पनि ठीक छैन, स्वास्थ्य त यसै पनि धेरै खराब छ। यसले सरकारको कार्यदक्षता प्रभावित भएको छ। फलस्वरूप: सत्तारूढ नेकपाको लोकप्रियताको ग्राफ ओरालोलाग्दो छ। त्योभन्दा पनि बढी मुलुकको विकास र मुलुकबासीको समृद्धि प्रश्नको घेरामुनि छ।
तर, यो सत्य स्वीकार गर्ने आँट र साहस ओलीसँग छैन। त्यसैको फाइदा उठाएर उनका वरिपरि रहेको भृगुतन्त्र लुट्नमा व्यस्त छ। अरूको चिन्ता पनि काम गर्न पाइन भन्ने हैन, लुट्ने पालो पाइन भन्ने नै हो। परसम्म हेर्दा यस्तै शक्ति र व्यक्तिको लामो लाइन देखिन्छ, त्यही दृश्यचाँहि लेशका लागि टिठलाग्दो छ।