पुँजीपतिहरुले जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयास गरे: अध्यक्ष प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पुँजीपतिहरुले जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागिपरेको आरोप लगाएका छन्। 

भरतमोहन अधिकारीको स्मृतिसभामा आइतबार सम्बोधन गर्दै दाहालले आफूलाई उदारवादी देखाएर मध्यमवर्गीय र निम्न मध्यमवर्गीय जनतालाई कम्युनिष्टबाट अलग गर्ने रणनीतिका साथ पूँजीपतिहरु अगाडि बढिरहेको आरोप लगाएका हुन्।

‘मध्यमवर्गका जनताहरुलाई आफूतर्फ आकर्षित गर्न तथाकथिक विकासमा सहयोग गरेको देखाएर मध्यमवर्गबाट कम्युनिष्ट, बामपन्थी र प्रगतिशिलहरुलाई अलग गरी आफ्नो वर्चश्व र एकाधिकार कायम गर्ने रणनीतिमा उनीहरु अगाडि बढिरहेका छन्’, दाहालले भने ।

दाहालले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाई जनताको मन जित्ने र अर्थशास्त्रको गतिलो ज्ञान भएको नेताका रूपमा आफूले स्व.अधिकारीलाई पाएको उल्लेख गर्दै राजनीतिक रूपमा समेत लामो समयदेखि सहकार्य गरेको स्मरण गरे। 

प्रतिक्रियावादीले कम्युनिस्टहरु सत्तामा आए भने वृद्धवृद्धालाई मार्छन् भनेर गरेको गलत प्रचारसमेत अधिकारीको बजेटले खण्डन गरिदिएको र वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरेर सम्मान गर्छन् भन्ने स्पष्ट पारेको अध्यक्ष दाहालको भनाइ थियो। 

‘बुर्जुवा र पुँजीपतिहरुले कम्युनिष्ट भनेका ६० वर्ष कटेकाहरुलाई मार्छन् भनेर भ्रम छरे पनि अधिकारीले गरेको एक निर्णयले त्यसलाई ध्वस्त पारेको छ,’ उनले भने।

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको २०७५ फागुन १८ गते उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको थियो। 

२०५१ सालमा तत्कालीन नेकपा एमालेको सरकारमा अर्थमन्त्री रहेएका स्व. अधिकारीले त्यतिबेला ७५ वर्ष उमेर पुगेकाहरुलाई मासिक १ सय रुपैयाँ वृद्धभत्ता दिने निर्णय गरेका थिए। 

प्रकाशित मिति: : 2020-03-02 09:49:14

प्रतिकृया दिनुहोस्