मोरङको बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक तथा पर्यटन महोत्सव

नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समिति बेलबारीको आयोजनामा फागुन १७ देखि २४ सम्म हुने महोत्सवको शनिबार मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्। उद्घाटन हुनुअघि आदिबासी जनजाति महासंघमा आवद्ध राई, लिम्बू, गुरुङ, तामाङ, नेवार, माझी, धिमाल, राजबंशी, याख्खा, सुनुवार, भुजेल, दनुवार, उराव, मगर, थारू र खवास लगायत विभिन्न जातजातिले साँस्कृतिक झाँकीसहित बेलबारी बजार परिक्रमा गरेका थिए।

विभिन्न जातिय रितिरिवाज र परम्परा अनुसार जातीय भेषभुषा र बाजागाजासहित पुरानो बेलबारीबाट शुरु भएको जातजातिको झाँकी बजार परिक्रमा गरी महोत्सवस्थल पुगेको थियो । उद्घाटन कार्यक्रममा आदिबासी जनजाति महासंघमा आबद्ध विभिन्न जातजाति तथा शैक्षिक संस्थाले झाँकी प्रदर्शन गरेका थिए।

‘आन्तरिक पर्यटनमार्फत संस्कृतिको प्रबर्द्धन गरौं, नेपाल भ्रमण बर्ष–२०२० लाई सफल पारौ’ भन्ने नारासहित आयोजित महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश–१ का प्रदेश सभाषद् राजकुमार ओझा, बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, सामाजिक बिकास मन्त्री, उद्योग तथा वन मन्त्री लगायत अन्य स्थानीय तहका प्रतिनिधि, विभिन्न संघ संस्था र दलका प्रतिनिधि र बेलबारी नगरका वडाध्यक्षको पनि उपस्थिति थियो। 

आयोजक आदिबासी जनजाति महासंघमा आवद्ध १६ जातजाति तथा आर्य, शिल्पी समुदायका समेत २१ वटा स्टल नि:शुल्क रहने र अन्य ३४ स्टलसहित जम्मा ५५ स्टल रहनेछन्। 

महोत्सवमा आदिवासी र जनजाति समुदायका जातजातिलाई नि:शुल्क स्टल दिइनुको साथै जातीय मौलिकता प्रबर्द्धन गर्न प्रोत्साहन स्वरुप ३० हजार समेत उपलब्ध गराइएको र उद्घाटनको दिन प्रत्येक समुदायको लागि आवतजावत गर्न छुट्टाछुट्टै गाडीको समेत ब्यबस्थापन गरिएको महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राईले बताए।

महोत्सव मार्फत जातजातिका मौलिक परम्परा, संस्कार, रहनसहन र खानपिनको प्रबर्द्धनका लागि तीन तहकै सरकारको ध्यानाकर्षण गराउने लक्ष्य लिइएको छ। महोत्सव आयोजक समितिका संयोजक तथा नेपाल आदिबासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलकप्रसाद राईका अनुसार जनजाति एवम् पिछडिएका जाती समुदायले महोत्सवमा राखिएका स्टलबाट गरेको आम्दानीबाट कोष खडा गरी उनीहरूकै जातीय विकासमा लगाउन प्रोत्साहन गरिनेछ। त्यसैगरी जातजातिको मौलिक खानपिनलाई आर्गानिक बनाउने र त्यसलाई व्यवसायिक विकास गरी आय आर्जनको श्रोत बनाउन प्रेरित गर्ने उद्देश्य पनि लिइएको राईले बताए।

महोत्सव अवधिभर हरेक दिन जाति तथा समुदायको दैनिक प्रस्तुति हुनेछन्। महोत्सवमा हरेक साँझ राष्ट्रिय तथा पुर्वेली कलाकारले मनोरञ्जन दिनेछन् । महोत्सवमा राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, आस्था राउत, मनोज गजुरेल, सन्दीप क्षेत्री, सत्यकला राई, पार्वती राई, कृष्णभक्त राई, अस्मिता अधिकारी, साजन राई, भीषण मुकारुङ, मेचु धिमाल रुपकुमार राई, तृष्णा गुरुङ, सुनिता थेगिम लगायत पुर्वेली तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ।

उद्घाटनको दिन कृष्णभक्त राई, सत्यकला राई, रुपकुमार राई, भीषण मुकारुङ लगायतका कलाकारको प्रस्तुति रहनेछ।
आयोजकका अनुसार महोत्सवमा मौलिक खानपिनका परिकारका अलावा कृषि तथा उद्योगबाट उत्पादित सामग्री, अटोमोबाइल्स, होटल लगायत विभिन्न खाले स्टल रहेका छन्। 

महोत्सवलाई नेपाल आइसले मुख्य प्रायोजन गरेको छ। त्यसैगरी महोत्सवमा एनएमबी बैंक, बेतना सिमसार, कानेपोखरी बी एण्ड बी कन्स्ट्रक्सन र सयपत्री मल्टिपर्पोज कम्पनी प्रायोजक छन्। बेलबारी नगरपालिका र प्रदेश १ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय महोत्सवको मुख्य प्रबर्द्धक छन्। महोत्सवमा हस्पिटालिटी पार्टनर ड्रीमल्याण्ड फन, बीवाइक्यु ट्रान्सपोटेसन पार्टनर, बेलबारीमा रहेका आधा दर्जन बैंकहरु बैकिङ पार्टनर, आधा दर्जन स्कुलहरु एजुकेसन पार्टनर छन् ।

महोत्सवका लागि सामुदायिक वन तथा स्थानीय संघ संस्थाहरुले पनि आर्थिक सहयोग गरेका छन्। त्यसैगरी नागरिक, नयाँ पत्रिका, ब्लाष्ट र बेतना दैनिक तथा रेडियो बेतना, पुर्वेली डटकम, उज्यालो प्रदेश डटकम, कोसी नेपाल टीभी, सताब्दी न्युज डटकम र सार्वजनिक डटकम महोत्सवको मिडिया पार्टनर छन् ।

आदिबासी जनजाति महासंघ बेलबारीले गत बर्ष पनि बेलबारी नगरपालिकाको सहयोगमा आदिबासी जनजाति फुड फेस्टिबल आयोजना गरेको थियो ।
 

प्रकाशित मिति: : 2020-03-02 02:06:26

प्रतिकृया दिनुहोस्