अमेरिकामा भयाबह हुँदैछ- कोरोना भाइरस : ट्रम्प भन्छन् - 'फेक न्युज'

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मूलधारमा मिडियाबीचको नयाँ 'ब्याटल फिल्ड' कोरोना भाइरसमा सरेको छ। ट्रम्पले अमेरिकामा कोरोना भाइरसलाई भयावह बनाउन फेक मिडिया लागि परेको आरोप लगाएका छन् भने मिडियाले कोरोना भाइसरको प्रभाव विस्तार हुनमा ट्रम्पको गलत नीति जिम्मेवार रहेको जनाएका छन्। 

भारत भ्रमणबाट फर्केपछि राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका लागि केही बजेट छुट्याएर उपराष्ट्रपति माइक पेन्सलाई यसको जिम्मेवारी दिएका छन्। त्यस क्रममा उनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। तर, त्यो खासै प्रभावकारी र जिम्मेवारपूर्ण पनि देखिएन। 

उनले अमेरिकामा कोरोना भाइरसको कुनै प्रभाव नै नभएको जस्तो गरेर समस्यालाई हल्का ढंगले प्रस्तुत गरे। उनले मिडियातिर धारे हात लगाउँदै भने, 'यो कृत्रिम समस्याको पहाड बनाउनमा फेक मिडिया जिम्मेवार छन्।'  

फेक मिडियाको काम नै जनतामा भ्रम पैदा गर्ने हो भन्दै कोरोना भाइरसका लागि पनि उनीहरू त्यही गरिरहेको ट्रम्पको आरोप थियो । उनले अमेरिकामा १५ जनालाई कोरोना भाइरस देखिएकोमा पाँचजना घर फर्केको, एकजनाको उपचार भैरहेको र नौजना क्यारेन्टाइनमा भएको पनि जानकारी दिएका थिए।

कोरोना भाइरसको प्रभाव अब बिस्तारै अमेरिकी राजनीतिमा पनि देखापर्न थालेको छ। मजबुत आर्थिक अवस्था,  रोजगारीमा वृद्धि, सेयरबजारमा उचिछलाङको मुद्दामा चुनाव लडिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरसले अप्ठ्यारो पार्ने छनक देखाएको छ।

तर, मिडियाहरूले राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको सम्भावित भयावहलाई नजरअन्दाज गरेको जनाउँदै यसले अमेरिका ठूलो समस्यामा पर्ने चेतावनी दिएका छन्। उनीहरूले महत्वका साथ कोरोनाको समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गरेको दाबी गरेका छन्। 

मिडियाहरूले अमेरिकामा बाहिरबाट आएको मात्र हैन, अमेरिका भित्रै क्यालिफोर्नियामा नयाँ विरामी पाइएको समाचार बाहिर ल्याएका छन्। यो केस गम्भीर भएको जनाउँदै उनीहरूले यसमाथि गहिरो अध्ययन गरेर बेलैमा रोकथामका उपाय अपनाउन सुझाव दिएका छन्। 

राष्ट्रपति ट्रम्प भने यो मान्ने पक्षमा छैनन्। उल्टै उनी मिडियाले आफ्ना विरोधीहरूलाई विरोध गर्ने 'टकिङ पोइन्ट' दिएको भनेर भडि्कएका छन्। 

तर, यो मुद्दा बिस्तारै राजनीतिक बन्दै गएको छ र यसले आर्थिक गतिविधिमा प्रभाव पार्दै जाँदा त्यो ट्रम्पका लागि प्रयुत्पादक हुनसक्ने अनुमान पनि गरिदैछ। 

प्रकाशित मिति: : 2020-02-29 23:21:03

प्रतिकृया दिनुहोस्