छेउमा कक्षा ७ को विज्ञान तथा वातावारण किताब। ‘म्यूजिकल्ली’ लेखेको पहेँलो टिसर्ट। दुई चुल्ठो बाटेकी, हातमा घडी, निधारमा कालो टीका। ट्याबमा ‘सक्किगोनी’ हेरिरहेकी थिइन्। आमा भगवती शाही छेउमा बसेर छोरीसँगै ट्याब हेरिरहेकी थिइन्। उनी मुसुक्क मुस्कुराईरहेकी थिइन्। स्टाफ नर्स औषधि हेर्दै थिइन्। उनका दुबै खुट्टा निलो कपडाले छोपिएको थियो।
यो दृश्य ललितपुरको बि एण्ड बि अस्पतालको पाँचौ तल्लाको बेड नम्बर ५०३ मा रहेकी बाँके राप्तीसोनारी गाउँपालिका–८ की प्रकृति चन्दको हो।
त्रिभुवन माध्यमिक विद्यालय, कोहलपुरमा कक्षा ७ मा अध्ययनरत प्रकृतिलाई मंसिर २२ गते स्कुल गेट अगाडिनै ट्रकले ठक्कर दिँदा आफ्ना दुवै खुट्टा गुमाएकी थिइन्।
बिगत तीन महिनादेखि अस्पतालमा उपचाररत उनको हिजो आज युट्यूव हेरेर र कोर्षका किताब पढेर दिन बित्ने गर्छ।
‘मंसिर २२ गतेदेखि पुस २२ सम्म आइसियुमा थिइन्, त्यसपछि यहीँ बेडमा बसेर उपचार भइरहेको छ’, प्रकृतीकी आमा भगवती शाहीले बिएल नेपाली सेवासँग भनिन्, ‘तीन महिना भयो अस्पताल बसेको।’
राप्तीसोनागरी गाउँपालिका–८ समशेरगञ्जमा घर भएका उनीहरूको कोहलपुरमा चिया पसल थियो।
मंसिर २२ गते बिहानै आमा भगवती चिया पसल गइन्। तीन छोरी र एक छोरासहित बुवा नगेन्द्र बहादुर चन्द घरमै थिए। छोरीहरूले पकाएको खाना खाएपछि नगेन्द्र कान्छी छोरी प्रकृतिलाई विद्यालय छोड्ने र आमालाई पालो दिने भनेर स्कुटीमा कोहलपुर तर्फ लागे। पसल र छोरीको विद्यालय नजिकै थियो।
छोरीलाई विद्यालय अगाडि सडक छेउमा छोडे। सधैं त्यहीँ छोडेर नगेन्द्र फर्किने गर्थे। त्यो दिन पनि त्यहीँ गरे। त्यसपछि प्रकृतिले जेब्राक्रसबाटै सडक पार गर्दै थिइन्।
स्कुटी अगाडि बढाउनै लाग्दा दुर्घटनाको नमिठो आवाज उनको कानमा गुञ्जियो। फर्केर हेर्दा आफ्नै छोरीलाई ट्रकले घिसारेर निकै पर लगिसकेको रहेछ। यो दृश्य आँखाले देख्दा एक क्षण उनलाई संसार टक्क रोकिए जस्तो लाग्यो। पत्याउनै सकेनन्। तर, यर्थात त्यहीँ थियो।
वरपर भएकाहरू दुर्घटनास्थलतर्फ लागे। उनी दौडिएर छोरी भएतिर गए। आश गुमाएका थिएनन्। तर, घटनास्थलमै प्रकृतिले एउटा खुट्टा गुमाइसकेकी थिइन्। छोरीका कलिला खुट्टा ट्रकका चक्काले कुल्चिए। जुत्ता एकातिर, मोजा अर्कैतिर। प्रकृति चिच्चाइन्, छटपटाइन्।
‘ती सडकका जुत्ता अहिलेसम्म पनि आँखामा झलझली आउँछ भन्नुहुन्छ उसका बुवा,’ भगवतीले भावुक हुँदै बिएल नेपाली सेवालाई विगत सुनाइन्।
त्यसपछि उनलाई तत्कालै कोहलपुर मेडिकल कजेल पुर्याइयो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट ललितपुरस्थित बी एण्ड बी अस्पताल ल्याइयो।
उता आइतबार बिहान १० बजे स्कुल पुग्न नपाउँदै कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले प्रकृतिलाई ठक्कर दिएपछि विद्यालय अगाडिको स्थिति तनावग्रस्त भयो।
साथीलाई ठक्कर दिएपछि विद्यार्थीले मन थाम्न नसकेर ट्रकमा आगो लगाइदिए। विद्यार्थीहरूले आन्दोलन चर्काए। बाटो बन्द गरे। दोषिलाई कारबाहीको माग गरे।
प्रहरीले सोही समयमा विद्यार्थीमाथि आक्रमण गर्यो। कयौं विद्यार्थी घाइते भए। केही गम्भीर घाइते विद्यार्थीलाई काठमाडौंको बीर अस्पतालमा समेत ल्याएको भगवतीले जानकारी दिइन्।
‘छोरीलाई किच्ने ट्रकमा आगजनी भएपछि प्रहरी हस्तक्षेप भएको थियो। त्यसमा गम्भीर घाइते भएका विद्यार्थीलाई विर अस्पतालसम्म ल्याउनु परेको थियो,’ भगवतीले आफ्नो छोरीको पक्षमा भएको आन्दोलनको कुरा सुनाउँदै भनिन्।
भगवतीका अनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाही आन्दोलनस्थलमा आएपछि आन्दोलन झन उग्ररुप लिएको थियो।
प्रदर्शन बढ्दै गएपछि झडपको स्थिति बन्यो। भीड नियन्त्रणमा लिन प्रहरीले सयौं रबरका गोली र अश्रुग्यास प्रहार गर्यो।
कोहलपुर क्षेत्र त्यसदिनभर तनावग्रस्त बन्यो। प्रहरीको गोली लागेर बर्दियाका २६ वर्षे चित्रबहादुर रिजाल गम्भीर घाइते भए।
भीड अनियन्त्रित भएपछि जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्यु लगाउने निर्णय गरेको थियो। दक्षिणमा पिपरी चोक, उत्तरमा कोहलपुर चौराहाबाट ५ सय मिटरमा नौबस्ता जाने बाटो, पूर्वमा चप्परगौडी र पश्चिममा किरण नालासम्मको चार किल्लामा कफ्र्यु आदेश जारी गरियो। तर, प्रदर्शनकारी पछि हटेनन्।
उपचारको तीन महिनापछि बी एण्ड बी अस्पतालमा प्रकृती हिजो आज प्लाष्टिकको खुट्टाले हिँड्ने अभ्यास गरिरहेकी छन्। घुँडाबाट तल दुवै खुट्टा गुमेकाले प्लाष्टिकको खुट्टाको साहरा लिनु परेको आमा भगवतीले बताइन् ।
‘अहिले दिनको २ पटक बिहान ११ बजे र दिउँसो ३ बजे फिजियो गर्नुपर्छ। प्लाष्टिकको खुट्टाले हिँड्ने अभ्यास गरिरहेकी छन्,’ भगवतीले भनिन्।
फिजियोले चाँडै हिड्न सिकायो भने अबको १ महिनामा डाक्टरहरुले घर जान सक्ने बताएको भगवतीले भनिन् ।
हालसम्म लगभग २२ लाख रूपैयाँ खर्च भइसकेको छ। खर्चको व्यवस्था अहिलेसम्म ट्रक कम्पनीले गर्दै आएको छ।
‘कम्पनीले सबै खर्च बेहोरीरहेको छ, अहिलेसम्म मैले फोन गर्नुपरेको छैन्, उहाँहरू आफै आएर अस्पतालमा पैसा जम्मा गरिदिनुहुन्छ,’ भगवतीले भनिन्।
ट्रक कम्पनीले काठमाडौं एक जनालाई जिम्मा दिइएको छ। उनले अस्पतालको मेडिकल र अस्पतालमा आवश्यकता अनुसार अग्रीम पैसा जम्मा गर्दै आएका छन्। खाना र बस्नको लागि उनीहरूले प्रकृतीकी आमा भवगतीको खातामा पैसा जम्मा गरिदिएका छन्।
प्रकृतिलाई कक्षा ७ को अन्तिम परीक्षा दिएर पास हुने इच्छा छ। उनी अस्पतालमै किताब पढिरहेकी छन्। धेरै पढ्ने उनको रहर रहेको बिएल नेपाली सेवालाई बताइन्।
दुवै खुट्टा गुमाएकी प्रकृतिलाई आफ्नो खुट्टाको भन्दा पनि पढाइको चिन्ता ज्यादा छ।
उनले भनिन्–‘सात कक्षाको फाइनल परीक्षा दिने मन छ। पढिरहेकी छु, पास गर्छु जस्तो लाग्छ । परीक्षा पनि आउन थाल्यो।’ भविष्यमा के गर्ने भन्ने एकिन सोँच नभए पनि उनले मास्टर डिग्री गर्ने इच्छा रहेको बताइन् ।
यसअघि प्रकृतिको तेकान्दो खेलाडी बन्ने सपना थियो । ‘केही दिनअघि छोरीले तेक्वान्दो खेलाडी बन्छु । म सिक्न जाऊँ ममी भनेकी थिई। दुई दिन पनि नहुँदै छोरीको खुट्टासँगै उनको तेक्वान्दो खेलाडी बन्ने सपना पनि चकनाचुर भयो,’ उनी भावशून्य भइन्।
अतिरिक्त क्रियाकलापमा अब्बल थिइन् प्रकृति । स्कुलमा सांस्कृतिक कार्यक्रम हुँदा डान्ससमेत गर्थिन् ।
आगामी दिनमा प्रकृतिको भविष्यमा जिविकोपार्जन गर्न केही गरिदिन सम्बन्धित निकायमा पहल गर्ने भगवतीले बताइन्।
‘भविष्यमा के गर्ने सोँच बनाउन पनि सकिएको छैन। अब कम्पनीले पनि जिम्मा लिनुपर्छ कसरी जिविकोपर्जन गर्ने अफ्ठारो छ उसलाई,’ भगवतीले भनिन्।
उनलाई घुँडाबाट तल दुबै खुट्टा गुमाएकी प्रकृतीले भविष्यमा कसरी जिविकोपार्जन गर्लिन् भन्ने विषयले चिन्ता जन्माएको छ।