चीन सरकारलाई उपहार स्वरुप दिइएको २ जोडी गैंडामध्ये एउटा गैंडाको मृत्यु भएको छ।
गत वर्षको भदौमा चीनको सांघाई वाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टि’ र ‘मितीनी’ गैंडामध्ये सोल्टिको मृत्यु भएको हाे।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलकाअनुसार सोल्टि गैंडाको मृत्युबारे अनुगमन गर्न नेपाली टोली त्यसतर्फ जाने तयारी भएपनि कोरोना भाइरस संक्रमणको त्रासका कारण त्यहाँ जान सकेको छैन।
नेपाल र चीन सरकारबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदान गर्नुका साथै दुबै देशवीच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले मन्त्रपिरिषदको २०७३ असार २६ गतेको निर्णयअनुसार चीनलाई २ जोडी एक सिंगे गैैंडा उपहार दिने निर्णय गरेको थियो।
गैंडा प्रदान गर्ने सम्बन्धमा तत्कालिन वन तथा भू–संरक्षण मन्त्रालय र चीनको तत्कालिन द स्टेट फरेष्टि एड्मिनीष्ट्रेसकाबीच सन् २०१७ अप्रिलमा सहमती पत्रमा हस्ताक्षर भएको र २५ जुन २०१८ मा नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो ।
एकसिंगे गैंडा विश्वकै लोपोन्मुख प्रजाति हो। यो नेपाल र भारतमा मात्र पाइन्छ। नेपालले ‘सोल्टि’ र ‘मितीनी’ भन्दा पहिले ‘रुपसी र भद्र’ नामको एक जोडी गैँडालाई चिमे लङ सफारी पार्कमा पठाएको थियो।
नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमार्फत भारत, चीन, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अष्ट्रिया लगायतका बिभिन्न देशमा २८ वटा गैँडा उपहारस्वरुप पठाइसकेको छ। विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छन्। बर्दिया र शुक्लाफाँटामा गरी यसको संख्या ४० छ।