वर्गसफाया भन्दै 'टाउको काट्ने'लाई नेपालको नक्साअंकित केक काट्ने कुरा !

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले देशको नक्साको मिनियचर केक काटेर राजसी जन्मोत्सव मनाए। त्यो पनि राज्यको दोहन गर्दै सरकारी हेलिकोप्टरको सवारी चलाएर। जन्मोत्सव मनाउन जन्मघर तेह्रथुम पुगे। जयजयकारका लागि ट्याक्टरमा विद्यार्थी र वृद्धलाई ओसारियो। 

यो तमाम दृश्य देख्दा धेरैलाई अचम्म लाग्यो। खासगरी  सामाजिक सञ्जालमा सुकाइएका प्रतिक्रियाका विस्कुन त्यसैका उम्दा प्रमाण थिए।यो क्रम अझै जारी छ, केही दिनसम्म जारी नै रहला पनि।

तर, मलाई भने यो घटना न अनौठो लाग्यो, न त्यसले कुनै अनौठो सन्देश नै दिएजस्तो लाग्यो। उनी जे हुन्- समयक्रममा उनको मखुण्डो उत्रदै गएको मात्र हो, उनी योभन्दा अरू विभत्स अनुहार र चरित्र भएका प्राणी हुन्। यो मेरो विश्वास हो- पर्खनु होला, समयक्रममा त्यो उनको अनुहार पनि देखिन्छ नै।

हुन त अझै पनि केही मानिसमा उनी कम्युनिष्ट हुन्, समाजवादी-साम्यवादी हुन्, समतामुलक समाजको निर्माण गर्छन्, राष्ट्रवादी हुन्, स्वप्नाद्रष्टा हुन्, भ्रष्टाचारको शुन्य सहनशीलताका प्रतिमूर्ति हुन् वा यस्तै यस्तै भ्रमहरू बाँकि छैन, समयक्रममा ती सबै भ्रम पनि तोडिदै जानेछन्। र, उनी एक आत्मकेन्द्रीत ढोंगी तानाशाहका रूपमा अवतरित हुनेछन्। हुन पनि वास्तवमा उनी त्यही हुन्। ढिलो चाँडोको कुरा मात्र हो, अति-सत्तालिप्सा देखाए भने हुने परिणाम त्यही हो।

एउटा प्रचलित भनाइ छ, भेडा भेडासँग बाख्रा बाख्रासँग । ओली जे हुन्, उनका अनुयायीहरूको चरित्र पनि त्यही हो। उनले आफ्ना अनुयायीलाई मन्त्री, सल्लाहकार, विज्ञ, राजदूत, सांसद जे जे नामका पद दिए पनि त्यो तिनै भेडा वा बाख्रामध्येलाई नै छानी छानी दिने हो। केही फरक गोठका बाख्रा वा भेडा उनको टाट्नोमा आए पनि उनीहरूले उनकै टाट्नोको घाँस खाने हुन्। त्यही टाट्नाको घाँस खाएपछि समय बित्दै जाँदा उनीहरूको म्याम्या र भ्याभ्या पनि उस्तै हुने नै भयो।

ओलीको विगतलाई एकजना अपराधीशाश्त्रीका अगाडि उनको नाम नलिई प्रस्तुत गर्ने हो भने उसले सिधै भन्छ, 'यो 'क्रिमिनल माइन्ड'का मान्छे हो। झापा काण्डका एक हस्ती राधाकृष्ण मैनाली भन्छन्, 'झापा काण्डमा टाउको काट्न सबैभन्दा बढी उक्साउने उनै थिए। उक्साउने तर आफू कहिलै पनि अगाडि नदेखिने उनको स्वभाव थियो। जीवनभर उनले त्यही सवभावको खेतीपाती गरे। अहिले उनी प्रधानमन्त्रीका रूपमा त्यसैको बाली भित्राइरहेका छन्।'

ओलीलाई न गणतन्त्र चाहिएको थियो, न धर्मनिरपेक्षता। न समावेसी लोकतन्त्र न त्यसमा आधारित बहुलवादी समाज। उनलाई मुलुकमा लखनउ लुट गर्ने अवसर चाहिएको थियो। नपाएर मात्र, पाएको भए यिनले उहिले नै निरंकुशताको आरति उतारी सक्थे। जेल बसेको पनि निकालिदिने मान्छे नभएर र लोकाचारका लागि मात्र थियो। बाहिर निस्केर पनि यसको कुनै अर्थ थिएन। न पढेका थिए, न यिनको कुनै जीवन निर्वाहको साधन र स्रोत नै थियो । नेपाल राष्ट्र बैंकमा काम गर्ने राधिका शाक्य विवाह गरेर आफ्नो ब्रेड र बट्टरको व्यवस्थाचाँहि गरेका थिए।

तर, आज ओली देखिने गरी नै अर्बौका मालिक छन्। आखिर कहाँबाट आयो यो सब ? गरेका त राजनीति नै हुन् क्या रे । र, उनले भनेजस्तै अझ कम्युनिष्ट राजनीति त पटक्कै ब्यापार हैन क्या रे। कुरा सिधा छ, यो वा त्यो नाममा मिलाएर लुटेरै आएको हो यो। उनका अनुयायीहरू भन्छन्, बीचमा उनले पार्टटाइम जग्गा व्यवसाय गरे। त्यसैबाट यो तरक्की भयो। दुधको साक्षी विरालोको कुरा न हो, कसैले पत्याउँला र ?

धेरैलाई लाग्ला, यो 'नेपाल केक' काण्डका बारेमा उनी जानकार छैनन्। यो सब बेकारको कुरा हो । सत्य के हो भने बाँस्कोटा टेप काण्डलाई विषयान्तर गर्न उनकै मास्टर माइण्डमा रचिएको प्रकरण हो- नेपाल केक प्रकरण। यो जानीबुझी बुनिएको तानाबानाले परिणाम पनि निकालेको छ। सामाजिक सञ्जालमा अब बाँस्कोटा प्रकरण पूरै सेलाएको छ। त्यसको ठाउँ लिएको छ, नेपाल केक प्रकरणले। ओली र उनका किचेन क्याविनेटका सदस्यलाई थाहा छ, यो केक प्रकरणलाई सजिलै साइजमा ल्याइन्छ। त्यसैले अहिले उनीहरू बाँस्कोटा टेपकाण्डलाई विषयान्तर गर्न नेपाल केक प्रकरणमा हावा भर्न सघाइरहेका छन्। 

मानिसहरू राष्ट्रिय भावनाको कुरा गरेर ओलीलाई प्रश्न सोधेिरहेका छन्- 'देशको नक्साअंकित केक काट्दा हात कापेन? वर्गसफायाको नाममा झापामा जिउँदो धर्मप्रसाद ढकालको टाउकोमा बन्चरो बर्साउदा नकाप्ने हात नेपालको नक्सा अंकित केक काट्दा काँप्ने अपेक्षा गर्नु आफैंमा बेकारको कुरा हो। सत्ताको लागि ओली योभन्दा धेरै हिंस्रक छन्, समयक्रममा त्यसको पनि पर्दाफास हुदै जान्छ।

मानिसहरू भन्छन्, म ओलीको उग्रविरोधी हुँ । त्यस्तो पनि हैन, मैले जीवनमा एकपटक ओलीको समर्थनमा आलेख नै लेखेको छु। जतिबेला म दृष्टि साप्ताहिकको सल्लाहकार सम्पादक थिएँ र उनी पार्टी अध्यक्षको उम्मेद्वार थिएँ। मैले माधव नेपाल डेढ दशक महासचिव पद्धतिमा एमाले प्रमुख भैसकेको मान्छे फेरि किन अध्यक्ष हुनुपर्यो ? बरू किड्नी फेरेका विरामी केपीलाई अध्यक्ष बनाएर उनको पार्टी प्रमुख बन्ने सपना साकार पारिदिए हुन्छ भन्ने लागेर उनको पक्षपोषण गरेको थिएँ।

तर, अध्यक्ष बनिसकेपछि उनले हुस्सु चरित्रका बामदेव गौतमको काँधमा चढेर पार्टी नै अपहरण गरे । र, जुन किसिमको हर्कत देखाए र देखाइरहेका छन्; त्यसबाट अन्तत: उनको पार्टीको मात्र कुरा भएन, मुलुकमै गफ चुट्ने नेतृत्वको विकास हुने वातावरण निर्माण हुन थाल्यो। जसले गर्दा मुलुकमा सानो काम हैन, ठूला कुरा गर्नुपर्ने पाराडाइम सिफ्ट भयो । यो ओली अजिनोमाोटोले अरूलाई पनि त्यस्तै गर्नुपर्ने अवस्थामा पुर्यायो जसले गर्दा प्रकारान्तरमा मुलुक नोक्सानीमा पुग्ने अवस्था आयो। जानी/नजानी त्यतिबेला केपी ओलीलाई आजको खड्गप्रसाद शर्मा ओली बनाउन मैले आफ्ना अक्षरको दुरूपयोग गरेकोमा कन्फेस गर्न चाहन्छु। 

जो अरूको मृगौला लिएर बाँचिरहेको छ, जसका सन्तान छैनन्, जीवन भरे हो कि भोलि हो थाहा छैन - त्यस्तो अवस्थाको मान्छेले त यो हर्कत देखाइरहेको छ भने त्यही स्कूलिङबाट आएका र सातपुस्ता नातापाता भएका र आफ्नै मृगौला लिएर बाँच्नेहरूले त के छोड्लान् ? यी त कम्युनिष्टका नाममा कलंक रहेछन्, लुट्ने मौका नपाएर वा पञ्चायतमा बार्गेनिङ पावर नभएर मात्र कम्युनिष्ट भएका रहेछन्।


म उनका नाकामहरूप्रति सापेक्ष भएर आलोचनात्मक चेत राख्ने गर्छु । म हजार तर्क गर्न तयार छु, ओलीलाई समर्थन गर्नुपर्ने न उनीसँग चरित्र छ, न कामको ग्राफ नै। म चाहन्छु, मेरो लागि त्यस्तो दिन आवोस् जुन दिन उनको सत्कर्मका लागि मेरा अक्षरहरू फालिम लागुन् । तर, दुर्भाग्य मेरो, त्यस्ता दिन आउँने छैनन्। हेर्दै जानुस्, ओली आफ्नै कारणले 'पुन: मुसिक भव:' को अवस्थामा पुग्नेछन्। किनकि समस्या उनको कार्यशैली, चरित्र र आनीबानीमै छ। उनका वरिपरि रहेकाहरू त उनलाई माध्यम बनाएर लुटतन्त्र मचाइरहेका पात्र न हुन्। ओली पदबाट बाहिर निस्केर शक्तिहिन भएपछि यी सबै  हनुमानहरू अर्को रामको खोजीमा निस्कन्छन् ।

पछिल्लो समय म ओलीलाई पात्रको हैन, नेपालको कम्युनिष्ट नेतृत्वको चरित्रका रूपमा हेरिरहेको छु। यसले मलाई एउटा यस्तो प्रश्नको नजिक पुग्न बाध्य बनायो कि जो अरूको मृगौला लिएर बाँचिरहेको छ, जसका सन्तान छैनन्, जीवन भरे हो कि भोलि हो थाहा छैन - त्यस्तो अवस्थाको मान्छेले त यो हर्कत देखाइरहेको छ भने त्यही स्कूलिङबाट आएका र सातपुस्ता नातापाता भएका र आफ्नै मृगौला लिएर बाँच्नेहरूले त के छोड्लान् ? यी त कम्युनिष्टका नाममा कलंक रहेछन्, लुट्ने मौका नपाएर वा पञ्चायतमा बार्गेनिङ पावर नभएर मात्र कम्युनिष्ट भएका रहेछन्।म यो झुण्डका धेरै नेताको पर्दापछाडिको हर्कतका बारेमा जानकार छु, त्यसैले मुलुक यिनीहरूबाट बन्ने हैन, लुटिने मात्र हो भन्ने निष्कर्षमा ढिलै भए पनि दुरूस्तै पुगेको छु।

यसो भनेर कांग्रेस सही हो ? त्यो  पनि हैन । कांग्रेसको नेतृत्व त योभन्दा भ्रष्ट छ। जुन पार्टीको उपसभापति र संसदीय दलको उपनेता भ्रष्टाचारको अभियोगमा संसदबाट निलम्बित छ, त्यो पार्टीको के कुरा गराइ भयो र ? अझ त्यस्तो जगजाहेर भ्रष्टाचारीको पक्षमा कांग्रेस सडकदेखि सदनसम्म आन्दोलन गरेर सती जाआदैछ ।

अहिले कांग्रेसलाई जनताले भित्तामा पुर्याइदिएकाले सत्ता बाहिर भएर लुट्नबाट जोगिएको छ। नत्र, अस्ति थुप्रै चारतारेहरूले बाँस्कोटाको हर्कत देखाइसक्थे। नचिनेको कांग्रेस हैन। तर, नेकपा र कांग्रेसमा एउटा फरक छ, कांग्रेसमा बाँस्कोटा जति हुस्सु छैनन्, महतजस्ता चम्मु पनि छन्। त्यसैले जोगिएका हुन्। जयप्रकाश गुप्ता, खुबमहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशीलगायतका अनेक पात्र प्रवृति चारतारेको ओतमा थिए, अझै पनि कतिपय छन्। उनीहरूका नाम सुन्नेबित्तिकै नेपाली समाजमा कस्तो संकथन बनेको छ, त्यो त सबैका सामु जगजाहेर नै छ।

अहिले भने ओलीको कुरा गरौ, ओलीको आरति उतारेपछि मुलुकमा जे पनि गर्दा हुन्छ भन्ने संकथन बनेको थियो।बाँस्कोटा टेप प्रकरणपछि सिरकको खोलमा प्वाल पर्न थालेको छ । अब जता जता खुट्टा अड्कदै जान्छ, त्यता त्यता प्वाल पर्न सुरू गर्छ। सबै समयको खेल हो, हेर्दै जाउँ बाँचे देखिन्छ।

प्रकाशित मिति: : 2020-02-24 22:11:28

प्रतिकृया दिनुहोस्