जुम्लामा बिहीबार बिहानदेखि हिमपात भएको छ। यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो। लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ ।
बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ। चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ। हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ।
लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ। चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन्। अस्पतालमा रुघाखोकीका बिरामी बढेको पाडब गुफा हेल्थ स्वास्थ चौकीका अहेब नेत्रबहादुर खत्रीले जानकारी दिए।