बलियो सरकार भने तापनि उपयुक्त नीति–नियम निर्माण गरी कार्यान्वयन गर्न नसक्दा केही वर्षमै सम्पन्न हुन सक्ने आयोजनाको ऊर्जा खेर जान सक्ने अवस्था छ
सरकार गठन भएको केही समयपश्चात् ०७५ वैशाखमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जारी गरेको ‘ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र’ नामक श्वेतपत्रमा उल्लेख गरिएका ठोस काम हुन सकेका छैनन् । श्वेतपत्रमा कार्यगत मार्गचित्रको रूपमा तीन वर्षमा तीन हजार मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने उल्लेख गरिए पनि ऊर्जा क्षेत्रमा सरकारी उदासीनताका कारण यतिवेला सञ्चालनमा आइसक्नुपर्ने राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना समेत अपूरो अवस्थामा छ । विद्युत् प्राधिकरणमा योग्य व्यवस्थापक हुँदाहुँदै पनि विद्युत् प्राधिकरणअन्तर्गत र कम्पनी मोडलमा निर्माणाधीन आयोजनाले उल्लेख्य प्रगति हासिल गर्न सकेका छैनन् ।