डा. सन्दुक रूइत 'दृष्टिदाता भगवान' हैनन्, यो बेकार कुरा हो 

अमेरिका कुनै बेला पाताल थियो। नियात्राकार ताना शर्माले यसैलाई विम्व बनाएर पाताल प्रवास नै लेखे। तर, अब त्यो कुरा उहिलेको भयो। एक किसिमले भन्दा असान्दर्भिक।

अहिलेको कुरा गर्ने हो भने पहुँचवाला नेपालीका लागि 'पानीको पधेरो' जस्तै भैसकेको छ अमेरिका। अनि मूलधारो चाँहि कहिलै ननिदाउने न्युयोर्कको जोन अफ केनेडी विमानस्थल नै भन्नुपर्ला। यही धारोलाई मूलधारो बनाएर अमेरिकातिर बगिरहन्छन्- पहुँचवाला नेपाली। 

जुनसुकै पहुँचका भए पनि जेएफके भएर बग्ने नेपालीको चौतारी भनेको क्विन्स बरोको ज्याक्सन हाइट्स नै हो। मिनी नेपाल पनि भनिने यसको डाइभर्सिटी प्लाजा अनि आसपासका रेष्टुरेन्ट, क्याफेआदिमा बाक्लै संख्यामा भेटिन्छन् नेपाली।

न्युयोर्क यसैपनि विन्दास सहर हो। यसले न आउनेको हिसाब राख्छ, न जानेको। यो नेपालीका लागि पनि लागु हुन्छ। तर,राजनीति पार्टीदेखि, जाति-जनजातिका नेता, साहित्यकारदेखि पत्रकार अनि कलाकारजस्ता सार्वजनिक जीवन भएका मानिसहरू आउँदा उनीहरू प्रोक्सिमिटीका आधारमा समाचार पनि बन्ने गरेका छन्। यहीसँगै केही खादामालाको व्यापार मात्र हुने गरेको छैन, सामाजिक सञ्जाल खासगरी फेसबुकले केही हिट पनि पाउँने गरेको छ।

यी त सनातनी आतेजातेका कुरा भए। यदाकदा केही फरकखाले मानिस पनि आउँछन् । ती फरकखाले मानिसको कुरा गर्दा सम्भवत: सबैभन्दा शीर्ष स्थानमा राख्नुपर्ने हुन्छ- महावीर पुन र डा. सन्दुक रूइतलाई। महावीर त बेला बेला आइरहेकै हुन्छन् तर सन्दुकको आगमन भने यदाकदा मात्र हुने गर्छ। 

अमेरिकामा प्रेरक मन्तव्यका लागि निम्त्याइएका प्रख्यात आँखा शल्यचिकित्सक डा. सन्दुक रूइतलाई 'दृष्टिदाता भगवान' का रूपमा प्रचार गरियो। जब उनलाई नै यसबारेमा सोधियो, उनको जवाफ थियो- 'दृष्‍टिदाता भगवानको सम्बन्धमा खोइ म के भनुँ ? यो बेकारको कुरा हो ।' 

सार्वजिनक रूपमा सम्भवत: पहिलोपटक सन्दुक फेब्रुअरी १५मा न्युयोर्कमा देखिए। भ्वाइस अफ युथ नामक संस्थाले उनलाई प्रेरक मन्तव्यका लागि निम्त्याएको थियो। उनको मन्तव्य सुन्न १० डलर तिरेर जाने नेपालीको संख्या उल्लेख्य थियो। न्युयोर्क थातथलो बनाएका सामाजिक सञ्जालकर्मी ससाङ लामा लेख्छन्, '४५०सिट क्षमताको हल भरिएर, बाहिर अझै मानिसहरु उभ्भिएका थिए।'

सन्दुकको कार्यक्रमको सामाजिक सञ्जालमा राम्रै प्रचार थियो। उनी यो 'डिजर्भ' पनि गर्थे।तर, त्यसमा लेखिएको एउटा विशेषण भने बिझाउने खालको थियो- गड अफ साइट। यसको नेपालीमा अर्थ हुन्छ- दृष्टिदाताका भगवान ।

हो, उनले लाखौ मानिसको गुमेको दृष्टि फिर्ता ल्याइदिएका छन्। त्यसमा पनि गाउँठाउँका गरीव, दीन-दु:खीहरूको दृष्टि फिर्ता ल्याइदिएका छन्। यसरी यो सुन्दर संसार देखाइदिने उनी भगवान छन् भने पनि उनीभन्दा कम छैनन् । यो साँचो हो तर पनि गड अफ साइट भन्नु चाँहि अलि बढी नै हो।

उनी आँखाका शल्यचिकित्सक हुन्। त्यस अर्थमा आँखाको शल्यक्रिया गर्नु उनको पेशागत धर्म हो। यो धर्म उनले साँचो अर्थमा निर्वाह गरेका छन्। त्यसैले त उनी नामी छन् । यसअतिरिक्त उनले केही अविष्कार पनि गरेका छन्। त्यसका लागि उनले म्यागसेसेलगायतका प्रतिष्ठित पुरस्कार पाएका छन्। यो सही हो कि उनी सामान्य मानिस हैन। तर, यसो भन्दैमा उनी भगवान चाँहि हैनन् । हामीले यो वा त्यो वहानामा कसैलाई पनि भगवान चाँहि बनाइ हाल्नु हुदैन।

अझ मलाई भ्याइस अफ युथका तन्नेरीहरूले पनि यो विशेषण प्रयोग गरेकोमा चाँहि अलि बढी अस्वभाविक लागेको थियो। यसकारणले कि उनीहरू भविषय हुन् र उनीहरूले गर्ने हरेक क्रियाकलाप भोलिका सोपान हुन्। हाम्रो भोलिका पुस्ता पनि देवत्वकरणतिर लाग्नु भनेको हाम्रो भविष्यमाथि नै प्रश्नचिन्ह हो। मलाई यस्तो लाग्छ, यही कारण म अलि बढी अचम्मित थिएँ।

शायद यो कुरा डा. सन्दुकलाई पनि बिझ्यो होला। उनले भनेछन्, 'मानिसहरू मलाई माया गरेर 'दृष्‍टिदाता भगवान' भन्नुहुन्छ ? त्यो बेकारको कुरा हो।' (Regarding ‘People, nicely call me 'god of sight'. That's bullshit ..........)' साइनोले उनका भाइ पर्ने ससांक लामाले यस बारेमा लामो स्टाटस लेखेका छन्। 

डा. सन्दुक रूइतबाट सिक्ने भनेको ठूलो कुरा हैन, सानो काम तर निरन्तर हो । हामीले जीवनमा 'सानो काम तर निरन्तर' जति गर्न सक्यौ र त्यसबाट व्यक्ति, समाज र देशलाई जे योगदान पुग्छ- त्यही नै सन्दुक पाठशालाबाट सिकेको अनुपम पाठ हुने छ। तर, त्यसो नगरेर हामीले उनलाई भगवान बनाउनतिर लाग्योै भने यो उनीप्रतिको सम्मान हैन, अपमान हुने छ।

हाम्रो नेपाली समाज कि फोबियाको स्तरमा ओर्लिन्छ कि मेनियाको स्तरमा। ऊ बीचमा रहेर मानिसलाई मानिस हुनै दिदैन कि प्रशंसा गरेर भगवान बनाइ दिन्छ कि गाली गरेर राक्षस । तर, यथार्थमा मानिस न प्रशंसा गरेर भगवान हुन्छ न गाली गरेर राक्षस। मानिस त बढीमा मानिस नै हुने हो या ऊ असल मानिस हुन्छ या खराब मानिस ।

डा. सन्दुक रूइत एक असल मानिस हुन्। उनका लागि विशेषण त के अब डाक्टर भनिरहन पनि आवश्यक छैन। उनी एक कर्मशील मानिस हुन्। उनले आफ्नो क्षेत्रबाट मानक सेवा गरेका छन् र मानक सम्मान हासिल गरेका छन्। यही नै सत्य हो । 

हामीले उनीबाट सिक्ने भनेको हामी जे हौं, त्यही क्षेत्रबाट यथाशक्य योगदान दिनु हो। अमेरिकामा रहेका नेपालीले नेपाल त केही समयका लागि होस् या सधैंका लागि छोड्यौं नै, हामी अब उनले जस्तै सिधै नेपालीका लागि केही गर्न सक्ने अवस्थामा हुदैनौं। हाम्रो सिमीततालाई ध्यानमा राखेर नेपाली पन र नेपाली मनको परिचय दिऔं। जुन जुन व्यवसायमा रहेर जे ज् गरिरहेका छौं, उनीहरूले गर्ने हरेक क्रियाकलाप नेपालीले गर्ने जस्तै हो । त्यसको जश/अपजश सिधै नेपाल र नेपालीलाई जान्छ। त्यसैले जो जहाँ छौं, त्यही ठाउँमा नेपालको सद्भावना राजदूत भएर आफ्नो काम गर्नु नै सन्दुक रूइतको जीवनबाट सिक्नु हो। 

सन्दुकबाट सिक्ने भनेको ठूलो कुरा हैन, सानो काम तर निरन्तर हो । हामीले जीवनमा 'सानो काम तर निरन्तर' जति गर्न सक्यौ र त्यसबाट व्यक्ति, समाज र देशलाई जे योगदान पुग्छ- त्यही नै सन्दुक पाठशालाबाट सिकेको अनुपम पाठ हुने छ। तर, त्यसो नगरेर हामीले उनलाई भगवान बनाउनतिर लाग्योै भने यो उनीप्रतिको सम्मान हैन, अपमान हुने छ। किनकि, उनी आफैंले भनिसके- 'मानिसहरू मलाई माया गरेर 'दृष्‍टिदाता भगवान' भन्नु हुन्छ ? त्यो बेकारको कुरा हो।' (Regarding ‘People, nicely call me 'god of sight'. That's bullshit ..........)' 

उनले थप यसो पनि भने, 'म र मेरो टिमले, अथक लगन, परिश्रम, अठोट देखाएर, आँखाको क्षेत्रमा, बिश्वसामू नेपाल गौरवान्तित हुने काम गरेका छौँ | तसर्थ, नेपाली भएकोमा गर्व गर्नुहोला।' 

अब प्रश्न उठ्छ, उनले गरेको काममा नेपाली भएकैले गर्व मात्र गरेर बस्ने कि आफू पनि केही गौरव गर्नलायक काम गरेर थप गौरवशाली पनि बन्ने ?  यसको उत्तर हामी आफैंले खोज्ने हो। त्यसका लागि उपाय एउटै छ, देशले के दियो भनेर सधैं रोइलो गर्ने हैन, हामीले चाँहि देशलाई के दियौं भनेर आफैलाई सोध्ने हो। आफैलाई नढाटी केही दिएको पाउँनु भयो भने मान्नुहोस् तपाई सन्दुकमार्गमा हुनुहुन्छ। अन्यथा,  ढोङको भारीले थिचेर आफू जहाँको तही होइन्छ, अरू सबै गन्तव्यतिर लागिसकेका हुनेछन्। 

 

 

प्रकाशित मिति: : 2020-02-19 16:11:00

प्रतिकृया दिनुहोस्