काठमाडौंबाट एउटा स्कार्पियो रिजर्भ गरेर मुगु आइपुग्न ८० हजार लाग्छ, धुलो धुँवाको यात्रामा कमसल खाना खाँदै। त्यो त भाडामात्र भयो। त्यसबाहेक अरु खर्च जोड्यो भने थप महंगो हुन जान्छ। यस्तोमा पर्यटन आउला कसरी?
मुगु बजारमा दुई उस्तै छोरीसँग खेल्दै पसलको मालसामान गाडीबाट झार्दै रुजु गर्दै गरेको अवस्थामा हामीले भेटका थियौं, व्यवसायी क्षितिज बुढालाई। उनी थोक वा खुद्रा व्यापारी हाेइनन्। त्योभन्दा एक तह माथिका वितरक हुन्। उनी अहिले यस्ता तीन फरक व्यवसाय सम्हालिरहेका छन्, जसलाई सफल तुल्याउन सिंगो परिवार दिलोज्यान दिएर लागिपरेको छ।
यीमध्ये पहिलो हो, ‘जय सप्लायर्स’। जसले मदिरा तथा सुर्तीजन्य पदार्थको वितरण गर्छ। ‘कास फर गुप्र’को गोर्खा बियर, टुबोर्ग र सानमिगल बियर अनि ‘नेपाल डिष्टिलरी’को खुकुरी रम र ‘यति डिष्टिलरी’को ओल्ड दरबार, जय सप्लायर्सले वितरण गर्ने मुख्य उत्पादन हुन्। मुगु र हुम्लाका लागि यी उत्पादनको सोल डिस्ट्रिब्युटर हो, ‘जय सप्लायर्स’।
उनको दोस्रो कम्पनी हो, ‘न्यु कैलाश’। यसले दुईवटा कम्पनीसँग सम्झाैंता गरेको छ। त्यसमध्ये पहिलो हो ‘के एल दुगड’। यसले यस कम्पनीका स्वस्तिक तेल, धारा तेल, सनफ्लाअर तेल, ज्ञानचक्की आटा, ज्ञान मैदा आदि वितरण गर्छ। दोस्रो कम्पनी हो, यशोदा फुड। यसले उत्पादन गर्ने खुद्रा सामग्री पनि न्यु कैलाशले नै वितरण गर्छ।
उनको तेस्रो कम्पनी हो ‘रारा, सांग्रिला हस्पिटालिटी प्रालि’। एक वर्षअघि सुरु गरेको यो रिसोर्ट राराको गेटनेर सल्लेरीमा छ। हामीले भेट्दा उनको रिसोर्ट सुरु भइसकेको थियो। भविष्यमा ट्राभल एण्ड टुरिजमको चेन बिजनेस गर्ने उनको सपना छ। ‘रारा, सांग्रिला हस्पिटालिटी प्रालि’ त्यसैको तयारी हो। यी सबै उनको परिवारले सुरु गरेका व्यवसाय हुन्।
यी तीनवटा व्यवसायमा झण्डै पाँच करोड जति लगानी छ। यी व्यवसाय धान्न सारथी बनेका छन् राष्ट्रिय वाणिज्य बैक, एनआइसी एसिया, अरु सहकारी संस्था आदि। ५० लाखभन्दा बढी ऋण छ। बाँकी उनको परिवारको लगानी हो। यतिको लगानीबाट महिनामा आम्दानी पनि राम्रै हुन्छ। नयाँ व्यवसाय सुरु गरेको समयमा कम आम्दानी भएपनि विस्तारै राम्रो हुँदै गयो।
तर, ठूलो व्यवसायमा सानो गडबडीले पनि ठूलै नोक्सानी हुन्छ। पोहोर साल उनलाई त्यस्तै भयो। रारा छायाँनाथ नगरपालिकाले एउटा क्रान्तिकारी निर्णय गर्यो। सोही निर्णयले एकैपटक ९७ लाख चैट भयाे। निर्णय थियो, रारा छायाँनाथ नगरपालिकालाई मदिरा निषेधित क्षेत्र बनाउने। अघिल्लो वर्ष असोज १ मा उक्त निर्णय भएको थियो। मंसिर १ गतेदेखि लागु गरियो। नगरको तर्क थियो, ‘मदिराले समाज भाँडियो। समाज गलत दिशामा गयो।’ परिणाम मदिरा आयातमा रोक लगाइयो।
हुम्लासम्म मदिराको व्यापार गर्ने क्षितिजको जय सप्लायर्स बेकामे भयो। एकैपटक चार ट्रक मदिरा नोक्सान भयो। अनि जय सप्लायर्स निष्क्रिय भयो। उधारो लिने पार्टीले निष्क्रिय फर्मलाई तिर्न उचित ठानेनन्। तर, रारा छायाँनाथ नगरपालिकाको निर्णय भर्खर खुलेका नेपाली राजनीतिक पार्टीको निर्णय जस्तो बढ्ता क्रान्तिकारी देखियो। हचुवा र अदूरदर्शी निस्कियो। मनाेरम क्रान्तिकारिता पूर्णरुपमा लागु हुन सकेन। सुरुसुरुमा नयाँ संरचनामा आएका जनप्रतिनिधिले ‘नौली गाईका नौ पुला घाँस’ गरे।
नगरपालिका किन यति रोमान्टिक क्रान्तिकारी बन्यो? उनलाई केही थाहा छैन। बस यत्ति हो, अहिले मदिरा खुलेको छ। यो अवसरलाई सदुपयोग गरेर भएको नोक्सान भरपाई गर्नुछ। रक्सी बाँडेर चुनाब जित्ने नेतृत्वले रक्सी बन्द गर्ने अधकल्चो निर्णयको नारा थियो ‘समाज सुधार’।
एक वर्ष नपुग्दै मदिरा फुकुवा भयो। नगरको लागि छोटो अवधि भएपछि क्षितिजको परिवारको लागि समय गुज्रिसकेको थियो। ‘हालसम्म व्यवसाय पुरानाे अवस्थामा फर्काउन सकिएकाे छैन। अवैध रुपमा मदिरा बिक्रीवितरण रोक्ने ताकत नगरपालिकासँग थिएन। अहिले नेपाल सरकारले दिएको कानुनको अधिनमा रही मदिरा बेच्न पाइएको छ। नोक्सान सकार्न तिर लागेका छौं,’ क्षितिजले भने।
आमाबाबुले सारा जीवन लगाएर जोडेको व्यवसायको एक चौथाई सम्पत्ति चुट्कीमा चट भएपछि निराशा नहुने कुरा थिएन। तर, सम्हालिनु पर्ने थियाे। उनी पनि सम्हालिए– ‘मान्छे ध्वस्त हुन सक्छ तर परस्त हुँदैन’, भनेजस्तै।
स्थानीय देउडा गीतमा बोल्छन्–
फुट्यो त काँसाथाल फुट्यो, गोलाघाट फुटेन।
टुट्यो त लाइपिमा टुट्यो, घरबारी टुटेन।।
परिमाणमा झण्डै एक चौथाइ सम्पत्ति गुमेपनि जीवन सकिएको थिएन। उत्साह मरेको थिएन। मदिराको व्यापार डुबेको बेला उनको परिवार नयाँ व्यवसायतिर मोडियो। सुरु भयो नयाँ प्रोजेक्ट। त्यसैले खुलाएको थियो, सल्लेरीमा रिसोर्ट।
आफ्नै जिल्लामा भएको राराको सुन्दरतालाई व्यवसायिक लाभमा परिणत गर्न सकिएमा सरकारले कर पाउँछ भने व्यवासायीको आम्दानी बढ्छ। रारा पर्यटन व्यवसायका लागि अत्यन्तै उर्वर क्षेत्र हो। ग्रामीण पर्यटनको विकास पनि हुन्छ भनेर खोलिएको क्षितिजको उक्त रिसोर्ट निकुञ्जको मध्यवर्ती क्षेत्रमा छ। रिसोर्ट रारालाई लक्षित गरेर खोलिएको भएपनि त्यसको विस्तारित लक्ष्य ‘चेन बिजनेस’ नै भएको क्षितिज बताउँछन्।
मुगुमा रारा मात्र होइन, संसारकै जेष्ठ नाथ– छायाँनाथ र पवित्र तीर्थस्थल ऋणमोक्ष पनि छ। काइक्यु हिमालयन श्रृङ्खला पर्छ। माथिल्लो मुगुमा दुईवटा ठूला हिमाल कान्ति र मोन चाओचुली पनि छन्, सात हजार मिटरभन्दा अग्ला। त्यहाँ हालसालै एक जापानी टोली आएर माउन्ट क्लाइम्बिङको अभ्यास गरेको थियो। त्यस्तै माथिल्लो मुगुमै दूधदह पनि छ। जुन चिसोमा जमेर पूरै बरफ हुन्छ। तातोमा पग्लिन्छ। जहाँ हरेक वर्ष साउनमा ठूलो संख्यामा तिर्थयात्री पुगिरहेका हुन्छन्। तर, यसको प्रचारप्रसार हुन सकिरहेको छैन। उनको उद्धेश्य यिनै पर्यटकीयस्थलको प्रचार गर्दै व्यवसाय गर्ने हो। ‘चेन बिजनेस’ ले जोड्ने यिनैलाई हो।
क्षितिजले २०६६ मा एसएलसी पास गरेपछि विज्ञान विषय लिएर पढे। १२ पासपछि थप नपढी व्यवसायतिर लागे। पारिवारिक रुट नै व्यापार व्यवसायको थियो। त्यसैले सैद्धान्तिक कोर्ष विज्ञान भएपनि प्रयोगात्मक कोर्ष व्यवसाय भयो। एकपटक ब्याचलरमा ब्रुइङ एण्ड डिष्टिलिङ कोर्ष पढ्न आयरल्याण्ड जाने योजना बनाएका थिए। जुन बियर र रक्सी उत्पादन सम्बन्धी कोर्स थियो। तर, विविध कारणले उनको त्यो योजना सफल भएन। परिणामत: पढ्न सहर हान्निएको केटो गाउँमै फर्क्यो।
सल्लेरीको रिसोर्ट याेजनाअनुसार चलिरहेकाे छ। त्यहाँ तीनजना कर्मचारी छन्। त्यसको मुख्य बोर्डमा परिवार छ। आमा, बा, दाजु, भाउजू र उनी बसेर निर्णय गर्छन्। ४० जनालाई सुविधा दिन सक्ने क्षमता छ। यो विस्तारै विस्तार हुने छ। मूल्य अनुसार रुमदेखि टेन्टसम्मको सुविधा दिइरहेको छ।
रारालाई ध्यानमा राखेर गरिएका सबै व्यवसाय मौसमी छन्। मुगुको पर्यटन व्यवसाय नै मौसमी छ। ‘भुरुरु।।।। हिउँ’ परिरहेको बेलामा रारा किनारमा पर्यटक रमाउने र बर्षामा विभिन्न रंगमा फुलेका जडिबुटीको वासना लिन सक्ने वातावरण राज्य सञ्चालन गर्नेले दिन सकेका छैनन्। हिउँदको हिउँ र बर्षाको मेघका कारण बाटो बन्द हुन्छ। बर्षामा पर्यटक हिलोले गोठिजिउलासम्म पुग्दैन, हिउँदमा धुलोले नचिनिने हुन्छ। यस्तो के ताल हो?
ओ! भिजिट नेपाल–२०२०। यसैको असर व्यवसायमा परिरहेको छ। त्यसमाथि संघीयताको कारण व्यवसाय पूरै विकेन्द्रीकृत हुँदैछ। बजारमा ग्राहक आगमन पूरै घटेको छ। यसले थोक तथा खुद्रा व्यापारीलाई मार पारेको छ। तर, क्षितिजका दुईवटा वितरक व्यवसायलाई खास समस्या छैन। जिल्लाभरी माल पठाइरहेका छन्।
‘रिसोर्टलाई मौसमले असर गरे पनि राम्रो भइरहेको छ। ग्राहक सन्तुष्ट छन्। यस्ता व्यवसाय राम्रा नभई पर्यटन प्रवर्द्धन हुन सक्दैन।तर, काठमाडौंदेखि मुगुसम्मको यात्राले पर्यटकलाई झल्याइरहेको छ। मनसुन जति ढिलो सकियो, पर्यटक उति ढिलो आउँछन्। रारालाई साँच्चिकै पर्यटकीय स्थलमा विकास गर्ने हो भने सदावहार पर्यटन सम्भावनाबारे ध्यान दिन जरुरी हुन्छ। त्यसका लागि भौतिक संरचनाको विकास आवश्यक छ। बाटोका होटेल स्तरीय हुनु पर्यो। मुगुका तीर्थस्थल र चंखेलीको लेकसम्म जाने बाटो राम्रो हुनु पर्यो,’ क्षितिजको ध्यान पर्यटन सम्भावनातिर मोडिन्छ।
चंखेली लेक एक रुपियाँको नोटमा अंकित छ। हाल एक रुपियाँको नोट छापिन बन्द भएको छ। तर, नोटमा अंकित उक्त लेक एकपटक सबैको नजरमा पर्ने र आकर्षक गन्तव्य बनाउनेतर्फ ध्यान दिनुपर्छ। आन्तरिक पर्यटकीय गन्तव्यसम्म पुग्न राम्रो बाटो बनाउन सक्यो भने पर्यटकको बसाईं लम्ब्याउन सकिन्छ। मुगुले लाभ त्यसैबाट लिन सक्छ।
‘बाटोका साथै स्तरीय हवाईमार्ग बनाउन सकिएमा काठमाडौं, पोखरा, नेपालगञ्जबाट वा जति पनि प्रदेशका छन् त्यहाँको एयरपोर्टबाट राराको उडान गर्न सकेको भए पर्यटक सजिलै आउँन सक्ने थिए,’ उनले भने, ‘सदावहार पर्यटक आउने वातावरण भएन भने नेपाल सरकारको भिजिट नेपाल –२०२० लोकप्रिय नारामै सिमित हुनेछ।’
हाल मुगुसम्मको भाडा निकै महंगो भयो। काठमाडौंबाट एउटा स्कार्पियो रिजर्भ गरेर मुगु आइपुग्न ८० हजार लाग्छ,धुलो धुँवाको यात्रामा कमसल खाना खाँदै। त्यो त भाडामात्र भयो। त्यसबाहेक अरु खर्च जोड्यो भने थप महंगो हुन जान्छ। यस्तोमा पर्यटन आउला कसरी? यतिको बजेटमा काठमाडौंबाट बाली, सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया, सिंगापुर, जापान जान सकिन्छ। नेपालीका लागि यस्तो अवस्थामा विदेश जानु सानको कुरा हुनेछ।
अर्को नेपाली र विदेशीको हवाई भाडामा पनि फराकिलो अन्तर देखिन्छ। विदेशी १८० डलर तिर्छन्। त्यो चानचुन २२ हजार नेपाली हो। त्यही हवाई यात्रामा नेपालीले ५५ सय देखि छ हजार तिर्छन्। ‘झण्डै चार गुणा महंगो त भाडा मात्रै लिएपछि कसरी आउँछन् विदेशी पर्यटक?’ उनले प्रश्न गरे, ‘यो भिजिट नेपाल –२०२० हो कि पर्यटक लुट वर्ष–२०२० हो? केही प्रतिशत भाडा बढी लिनु स्वभाविक हो तर चार सय प्रतिशत बढी भाडा लिनु, यो त कसरी न्यायिक होला र? अझ आएका पयर्टकलाई पनि झुल्याउने मात्रै काम हुन्छ। सबै पर्यटक प्रशस्त बजेटमा आएका नहुन पनि सक्छन्। आउँन जान ४४ हजार भाडा मात्रै तिर्ने हो भने खान बस्ने के गर्ने?’उनको तिखो प्रश्न हो यो ।
पर्यटकलाई खुशी बनायो भने न भ्रमण वर्ष सफल हुने हो। व्यवसायीले लाभ लिन पाउने हो। धेरै पर्यटक अब रारा आइन्न होला भनिरहेका भेटिन्छन्। फष्ट एण्ड लाष्ट भिजिट हो भन्छन्। लभ परेको बेला फष्ट एण्ड लाष्टको कुरा आउँछ। त्यसले आपसी विश्वास बढाउँछ तर रारा घुमाईमा फष्ट एण्ड लाष्टको कुरा भयो भने त ट्रेजिडी पो पर्छ त!
हामी उनलाई भ्रमण वर्ष सफल होला त? भनी प्रश्न गर्ने योजनामा थियौं। तर, उनले हामीलाई नै प्रश्न गरे ‘तपाईलाई के लाग्छ भिजिट नेपाल–२०२० सफल होला ?’ उनले थपे, ‘मलाई त यो केही मान्छेले मिठो गरी गाउँने भजनजस्तै मात्र लागिरहेको छ।’
प्रधानमन्त्रीलाई हेलिकप्टरमा ल्याएर राडिपाखी उपहार दिई पठाएपछि रारा कर्णाली पर्यटन वर्ष बिचरो भैगयो। अनि अब यो बेला धेरै कुरा ख्याल गर्न नसकेपछि आउने अवस्था यही हो।
क्षितिज यस्ता कुरा सरकारले मिहिनढंगले अध्ययन गर्नुपर्ने मान्छन्। उद्यमशीलतामै आत्मनिर्भरता भएको ठान्छन्। धेरैको सोच दुर्गममा कमाएको पैसाले सुविधासम्पन्न ठाउँमा घर बनाउने हुन्छ। उनी यी सबै महत्वाकांक्षा त्यागेर मुगु चिनाउने गरी लागेका छन्। मुगुलाई सदाबाहार पर्यटकीय गन्तव्य बनाउने सोचका साथ। उनको यो सोचको सहयोगी सरकार बनेन भने उनी मात्र हैन, सरकार पनि असफल हुने निश्चित छ।
तसर्थ यो सबैका लागि सोचनीय विषय हो। यो वर्ष भिजिट नेपाल–२०२० हुनुपर्छ, पर्यटक लुट वर्ष–२०२० हैन।
यो पनि हेर्नुहोस्
कालो बादलभित्र चाँदीको घेरा (भिडियाे)
मुगुका हिरा अर्थात् हिरा बिजुली
रारा : सके धेरैपटक, नसके पनि एकपटक
‘यदि कुनै दिन 'भाइ पेटौंदो छ' भन्ने कुराको आश मर्याे भने निर्मलाकी आमाको विकल्प खोजिने छ। त्यही निहुले उनी बहिस्कृत हुनेछिन्। उनलाई हेर्ने समाजको नजर फेरिने छ। निर्मलाको भाइ नहुनुमा दोष उनको मात्रै हुने छ। यो कुनै विज्ञान होइन, विज्ञानमाथिको ठाडो चुनौति हो।’