पोखरा म्याराथनको उपाधि जापानका ताकानाशीलाई

पोखरा म्याराथनको उपाधि जापानीज धावक यसुकेलाई

पोखरामा आज सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन निर्धारित दूरी दुई घण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरी उहाँ च्याम्पियन बनेर उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त गरे ।

१३औँ सागमा स्वर्ण विजेता सशस्त्र प्रहरीका किरण बोगटीले दोस्रो स्थानमा चित्त बुझाए । दुई घण्टा २८ मिनेट ८ सेकेण्ड समयमा निर्धारित दूरी पार गरी द्वितीय बनेका उनले रु एक लाख पुरस्कार प्राप्त गरे ।

गण्डकी प्रदेशका अनिष थापामगरले दुई घण्टा २९ मिनेट तथा सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीले दुई घण्टा ४१ मिनेटमा दौड पूरा गरी क्रमशः तेस्रो र सान्त्वना स्थान हासिल गरी रु ७५ र रु १५ हजार पुरस्कार पाउनुभयो ।

उपाधि विजेता ताकानाशीले जापानको कोमागाने शहरबाट पहिलो पटक पोखरामा सहभागी भएर म्याराथनको उपाधि जित्दा खुशी भएको बताए । पोखरा शहर र कोमागानेबीच मितेरी सम्बन्ध गाँसिएपछि दुवै शहरबीचको सम्बन्ध प्रगाढ बनेको चर्चा गर्दै उनले आगामी दिनमा समेत आफूलगायतका धावकहरु म्याराथनमा सहभागी बन्ने जानकारी दिए ।

त्यसैगरी १० किमी महिला पुरुष दौडमा पूर्णबहादुर कार्की प्रथम, याङ्गदेव राई द्वितीय र आशिष कुँवरले तेस्रो स्थान हासिल गरी क्रमशः रु १५ हजार १० र पाँच हजार पुरस्कार प्राप्त गरे । महिलातर्फ इन्द्रकला प्रथम, अनिता राई द्वितीय र विदेशी खेलाडी वेन्डी तृतीय भई क्रमशः रु १५ हजार १० र पाँच हजार पुरस्कार प्राप्त गरे ।

पाँच किमी पुरुष तथा महिला दौडमा पुरुषतर्फ विनोद गुरुङ, विवेक परियार र प्रदीप भुजेल तेस्रो हुनुभयो भने महिलातर्फ विनु विक प्रथम, प्रतिक्षा सुवेदी द्वितीय र मधुरीदेवी कुर्मीले तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः रु १०, सात र चार हजार पुरस्कार प्राप्त गरे। दृष्टिविहीन पुरुषतर्फको दौडमा प्रमोद दाहाल, आशिक ख्वाउजी र प्रेम क्षेत्री क्रमशः प्रथम, द्वितीय र तृतीय बन्नुभयो भने महिलातर्फ विनिता पुन, सिर्जना परियार र सुकमाया विक क्रमशः प्रथम, द्वितीय र तृतीय बन्न सफल भए ।

ह्वीलचियर दौड पुरुषतर्फ सुरेश गौली, भरत अधिकारी तथा महिलातर्फ पुनम विक, धना मगर र लक्ष्मी सुनार क्रमशः प्रथम, द्वितीय र तृतीय बने । दृष्टिविहीन तथा ह्वीलचियर दौडमा विजेतालाई क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार प्राप्त गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्री, प्रदेशसभा सदस्यलगायतले दौडमा सहभागिता जनाएका थिए । म्याराथनमा १२० धावकले सहभागिता जनाएको तथा दौडमा सात हजार हाराहारीमा सहभागिता रहको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-02-17 00:34:01

प्रतिकृया दिनुहोस्