कतिपय शिक्षकले स्कुले केटाकेटीलाई राम्रो पढ भविष्यमा, डाक्टर, पाइलट बन्नुपर्छ भनेर सिकाउँछन्। भविष्यमा के बन्न चाहन्छौं भनेर सोध्दा प्राय: धेरै बालबालिकाले डाक्टर, नर्स, पाइलट यस्तै नै भन्ने गर्छन्। आज पनि कति धेरै विद्यार्थीको सपना होला राम्रोसँग पढेर असल डाक्टर बन्ने।प्राय: अभिभावकले आफ्ना साना नानीको दिमागमा भरिदिने शब्द हो ‘डाक्टर’।
रुकुमका राजन केसीका परिवारको पनि छोरा डाक्टर बनोस् भन्ने चाहना थियो। उनलाई त्यही अनुसार शिक्षा दिँदै आएका थिए। राजन पनि पढाइमा तेज। रुकुमको खलंगास्थित विजयश्वरी बोर्डिङबाट राजनले कक्षा ६ उत्तीर्ण गरे। बुवा नयनको सरुवा नेपालगञ्जमा भयो। उनले छोरालाई पनि नेपालगञ्ज लगे। नेपालगञ्जमा स्कुले शिक्षा पूरा गरेपछि ललितपुरको हात्तीवनबाट प्लस टु सके। त्यसपछि उनी एमबिबीएस पढ्न फिलिपिन्स गए।