पाल्पाका बालबालिका गणित विषयको सिकाइ उपलब्धि मूल्याङ्कनमा कमजोर देखिएका छन्। पाल्पाका प्राथमिक विद्यालय, आधारभूत तह तथा माध्यमिक तहको शैक्षिक उपलब्धिमा समेत गणित विषयमा कमजोर रहेको देखिएको हो।
जिल्लामा गणित विषयको शिक्षकको दरबन्दी पर्याप्त नहुनु र विषयगत शिक्षकको अभावमा अध्यापन गर्दा गणित विषयमा कमजोर हुुनुपर्ने बाध्यता छ। गणित विषयमा राम्रो नतिजा ल्याउन नसक्दा प्राविधिक विषय अध्ययन गर्नबाट समेत बञ्चित छन्।
शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका शाखा अधिकृत विष्णु बेल्बासेका अनुसार जिल्लामा माथिल्लो कक्षामा पठनपाठन गराउने गणित विषय शिक्षकको अभाव छ।
तल्ला कक्षामा पठनपाठन गराउने शिक्षकले नै पढाउनुपर्ने बाध्यताका कारण सिकाइ उपलब्धि कमजोर रहेको अधिकृत बेल्बासेको भनाइ छ।
प्राथमिक तहमा सामाजिक, नेपालीलगायतका विषयगत शिक्षकले गणित पढाउँदै आएका छन्। सम्बन्धित विषयमा ज्ञान, सीप र क्षमताको अभाव अन्य विषयका शिक्षकले पढाउनुपर्ने बाध्यता हटेको छैन।
मानसिकरूपमा नै विद्यार्थीलाई गाह्रो विषयमा भ्रम फैलाउँदा र पर्याप्त मात्रामा अभ्यास गर्ने र गराउने अभाव बालबालिका सानै उमेरदेखि कमजोर हुने अधिकृत बेल्बासेले बताए।
गणित, विज्ञान र अङ्ग्रेजी विषयको सिकाइ उपलब्धि सबैभन्दा कमजोर छ। जिल्लाको माध्यमिक तह कक्षा ९ र १० मा गणित विषयको उपलब्धि सन्तोषजनक छैन।
छ विषय नेपाली, अङ्ग्रेजी, सामाजिक, विज्ञान, स्वास्थ्य जनसंख्या तथा वातावरणमध्ये सबैभन्दा कमजोर गणित विषयमा रहेको छ।
शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाको विसं २०७५ को तथ्याङ्कअनुसार गणितमा विद्यार्थीको सिकाइ उपलब्धि ४०।४१ रहेको छ।
अङ्ग्रेजीमा ५२।९८ प्रतिशत, नेपालीमा ५६।४३ प्रतिशत, सामाजिकमा ५२।८५ प्रतिशत, विज्ञानमा ५१।४३ प्रतिशत र स्वाजवामा ५४।२ प्रतिशत उपलब्धि देखिएको छ।
मावि तहको सिकाइ उपलब्धि ५२।६४ प्रतिशत रहेको छ। पाल्पामा दुई नगरपालिका र आठ गाउँपालिका छन्। मावि तहको सिकाइ उपलब्धिमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका गणित विषयमा सबैभन्दा कमजोर देखिएको हो। सिकाइ प्रभावकारी हुन नसक्दा गणित विषयमा सबैभन्दा बढी कमजोर देखिएको हो।
रैनादेवी छहरा गाउँपालिकाको सिकाइ उपलब्धिमा २७ प्रतिशत मात्र अङ्क ल्याउन सफल बनेको हो। यो जिल्लाको सबैभन्दा कमजोर नतिजा हो।
अन्य गाउँपालिकाको तुलनामा २५ प्रतिशत अङ्कले रैनादेवी छहरा कमजोर देखिएको हो। जिल्लाकै निस्दी गाउँपालिकाको २९।३२ प्रतिशत, तानसेनको ३७।६ प्रतिशत, तिनाउ ३८ प्रतिशत, बगनासकाली ३८।७ प्रतिशत, पूर्वखोला ४० प्रतिशत, रम्भा ४१ प्रतिशत, रिब्दीकोट ५१।६ प्रतिशत, माथागढीको ५१।९३ प्रतिशत ल्याउन सफल छन्।
रैनादेवी गाउँपालिका आधारभूत तहको गणित विषयमा पनि निकै कमजोर रहेको छ। आधारभूत तहको कक्षा ६ देखि ८ सम्मको सिकाइ उपलब्धिमा समेत रैनादेवी ३३ प्रतिशतमा सीमित छ।
गणित विषयको उपलब्धिमा उच्च अङ्क ल्याउनेको तुलनामा रैनादेवी छहराको झण्डै १८ प्रतिशत कम उपलब्धि छ। आधारभूत तहको गणित विषयमा रम्भा गाउँपालिकाको ३९ प्रतिशत, रामपुरको ४९ प्रतिशत, बगनासकालीको ४७।८ प्रतिशत, माथागढीको ४५।९७ प्रतिशत, पूर्वखोलाको ४१ प्रतिशत, रिब्दीकोटमा ४३।९ प्रतिशत, निस्दीको ३७।९६ प्रतिशत, तिनाउमा ४४ प्रतिशत, तानसेनमा ५१ प्रतिशत सिकाइ औषत उपलब्धि छ।
आधारभूत तहमा नेपालीमा ५६।३० प्रतिशत, अङ्ग्रेजीमा ५५।३४ प्रतिशत, सामाजिक ५४।६६ प्रतिशत, विज्ञानमा ५३।३२ प्रतिशत र गणितमा ४३।३१ प्रतिशत सिकाइ उपलब्धि हो।
आधारभूत तह कक्षा १ देखि ५ कक्षासम्म सिकाइ औषत उपलब्धिमा गणित विषयमा कमजोर रहेको देखिएको हो। गणित विषयको सिकाइ औषत उपलब्धिमा सबैभन्दा कमजोरमा तिनाउ गाउँपालिका देखिएको छ । सबैभन्दा राम्रो उपलब्धि बगनासकाली गाउँपालिकाको रहेको छ। तिनाउ गाउँपालिकाको ४५ प्रतिशत र बगनासकाली गाउँपालिका ६५।५६ प्रतिशत नजिता छ।
गणितमा औषत सिकाइ उपलब्धिको अङ्कमा ५४।८२ प्रतिशत ल्याउन सफल बनेको छ। नेपाली विषयमा ५९।१९ प्रतिशत, अङ्ग्रेजी विषयमा ५८।३२ प्रतिशत, सामाजिक विषयमा ५७।७३ प्रतिशत, विज्ञानमा ५८।६३ प्रतिशत नतिजा ल्याएका छन्।
जिल्लामा कक्षा १ देखि १० सम्म गणित विषयमा बालबालिका कमजोर रहेको हो। जिल्लाको सम्रगरूपमा हेर्दा गणित विषय, विज्ञानको सिकाइ उपलब्धि नतिजा कमजोर रहेको देखिएको छ। अङ्ग्रेजी, सामाजिक र नेपालीमा सिकाइ उपलब्धिमा सबैभन्दा बढी अङ्क ल्याउन सफल बनेको तथ्याङ्कले देखिएको हो।
पाल्पामा ४४४ सामुदायिक विद्यालय र ४९ संस्थागत विद्यालय गरी ४९३ विद्यालयमा पठनपाठन हुँदै आएको छ। पाल्पामा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म ७१ हजार ८४३ बालबालिकाले विद्यालय शिक्षामा पहँुच छ।
जिल्लाका सबै तहका विद्यालयमा दरबन्दी र राहतका गरी दुई हजार ८३७ शिक्षकको दरबन्दी रहेको छ। सामुदायिक विद्यालय शैक्षिक सञ्जालका अध्यक्ष तथा देववाणी सांस्कृत तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण थापाका अनुसार गणित विषयमा कमजोर बालबालिकालाई अतिरिक्त कक्षा सञ्चालन गनुपर्ने बताए।
पैसामुखी अतिरिक्त कक्षा सञ्चालन होइन, सेवामूलकरूपमा रुपमा पाँच/सात जनाको समूह तयार गरी कक्षा सञ्चालन गर्न सकिने उनले बताए।
पहिला विद्यार्थीको ज्ञानको मापन गरी स्तरीकरण गर्दै कमजोर विद्यार्थीलाई एउटा समूह बनाई नियमितरूपमा कक्षा सञ्चालन गर्न सकेको अवस्थामा गणित विषयको सिकाइ उपलब्धि प्रभावकारी हुने थापाको दाबी छ।