के पहिलो विश्वयुद्धका पछाडि एउटा प्रेमकथा जिम्मेवार थियो ? के प्रेमकै कारण ट्रोजन युद्ध भएको थियो ? विश्वमा प्रेमका कारण कति युद्ध भए ?
हिन्दू धर्मशास्त्रमा सबैभन्दा महत्त्वपूर्ण मानिएको महाकाव्य हो, व्यासलिखित महाभारत। यसमा चर्चा गरिएको कुरुक्षेत्रको युद्ध कौरव र पाण्डवबीच सत्ताका लागि भएको लडाइँ थियो। तर, यो युद्धको एक प्रमुख पात्र थिइन्, द्रौपदी। उनलाई प्राप्त गर्ने लोभका कारण महाभारतका कैयन् घटना हुन पुग्छन्।
उनी पञ्चालका राजा द्रुपदकी छोरी थिइन्। द्रुपदले आफ्नी छोरीको विवाह पाण्डवका पाँच भाइमध्ये अर्जुनसँग गराउने तय गरेका थिए। तर, उनीहरूको मृत्यु भइसकेको सुनेपछि उनले द्रौपदीको स्वयंवर रचाए। पानीमा छाया हेरेर सुवर्ण माछाको आँखामा तीर लगाउनु पर्ने सर्त तय गरियो। अरू कसैले नसकेपछि ब्राह्मणको भेषमा आएका अर्जुनले त्यो काम पूरा गरे। तर, कौरवहरू यस्तो देख्न चाहँदैनथे। त्यसैले उनीहरूले विरोध गरेका थिए। उनीहरू फर्केपछि पाण्डवकी आमा कुन्तीले अर्जुनले जितेर ल्याएकी द्रौपदी पाँचै भाइलाई भोग गर्न आदेश दिइन्।