जुम्लामा भारी हिमपातपछि स्याउ उत्पादनमा भिडे किसान (भिडियाे)

हरेक वर्ष झैं यो वर्ष पनि स्याउ किसानहरु आफ्नो नियमित कर्म बगैंचा व्यवस्थापनमा लागेका छन्। मंसिर पुसदेखि फागन दोस्रो सातासम्म बुटा काटछाँट, बोडो पेष्ट लगाउने, बोडो मिक्स्चर गर्ने लगायतमा काम हुन्छ। यहि नियमितताले स्याउ राम्रो फल्छ। दाना ठूला हुन्छन्।कलर आकर्षक हुन्छ। 

यसपालि पाँचपटकसम्म भएको भारी हिमपात बर्षे बालीको लागि अमृत समान भयो। त्यसैले किसान खुसी हुँदै स्याउ बगैचा स्याहार्न व्यस्त छन्। चन्दननाथ–१० कि ६६ वर्षीया गौकली सार्कीले घरमा काम गर्ने मान्छे नभएपछि सिपालु मान्छे लगाएर बुटा काटछाँट गर्ने, झारपात उखेल्ने, बोडोपेस्ट लगाउने, मलखादको व्यवस्थापन लगायतका नियमित कर्म गराइरहेकी छिन्। 

उनले बगैचा वरिपरि घेरवार लगाई पशु चौपाय पसेर गरिदिने सम्भावित नोक्सानलाई पनि ध्यान दिएको बताइन्। ‘स्याउ राम्रै हुन्छ। छोडुवा (छाडा) गाई, गोरुले बुटा नोक्सान पाड्डिन्छुन् (पार्दिन्छन्)। त्यही भएर गतिलो बार लगाउनु पर्छ,’ उनले भनिन्, ‘स्याहार सुसार गरेपछि स्याउ त गतिलो भइजाला। भाउ पाउन्या हो कि नाई ? झर्को त्यही छ।’ 

बगैचाभरि हिउँ टनाटन भएपछि गोडमेलमा केही ढिला भएपनि गुणस्तर वृद्धि हुने अपेक्षा गरेका छन् गुठीचौर गाउँपालिकाका किसान पूर्ण धितालले। त्यसैले उनी माघ पहिलो सातादेखि बुटा काटछाँटमा लागेका छन्। हाल यो कर्म स्याउ किसानको व्यस्त दैनिकी बनेको छ। 

‘स्याउको बोट आसपासका क्षेत्रका झारपात हटाउने गरिरहेको छु,’ उनले भने, ‘हिउँका डल्ला जम्मा गरी स्याउका बोट आसपासका क्षेत्रमा राखिरहेका छौं, जसले लामो समयसम्म चिस्यान कायम गर्न सहयोग पुग्छ।’ 

उनले गाउँका सबै किसान बिहानदेखि साँझ अबेरसम्म बगैचामै रहने गरेको बिएल नेपाली सेवालाई बताए।

 किसान बारीमै व्यस्त हुन थालेपछि कृषि विकास कार्यालयले कृषि प्रसार कार्यक्रम र स्याउ आत्मभिर्नर कार्यक्रम मार्फत स्थानीय तहसँगको सहकार्यमा स्याउ काटछाँटलाई तीव्रता दिएको छ। कृषि प्राविधिकले बगैंचामा पुगेर किसानलाई बिरुवा काटछाँटका उपायबारे सिकाउने गरेका कार्यालय प्रमुख बालकराम देवकोटाले बताए।

‘गाउँका किसानलाई एउटा बगैचामा भेला गराएर नुमना स्याउ काटछाँट विधिबारे सिकाइने गरिएको छ,’ उनले भने, ‘स्याउका बिरुवा काटछाँट गर्दा गुणस्तरीय फल उत्पादन हुन्छ भने रोग, किरा नियन्त्रण हुन्छ।’ 

जुम्लामा ‘एक घर, एक बगैचा’ कार्यक्रम लागू भएपछि स्याउखेती गर्ने किसानको संख्या ह्वात्तै बढेको छ। बगैचाको संख्या पनि बढेका छन् भने स्याउ लगाइएको क्षेत्रफल पनि बढिरहेको छ।

हाल जिल्लामा १४ हजार पाँच सय बगैचा छन् भने स्याउ बगैचाको संख्या द्रुतगतिमा बढिरहेको छ। जुम्लामा २०६८ र०६९ मा एक हजार  हेक्टर जमिनमा स्याउ लगाइएको मा ३ सय ७० हेक्टर जमिनमा मात्र स्याउ फल्थ्यो। हाल ३७ सय हेक्टर  जमिनमा स्याउ लगाइएकोमा १४८० हेक्टर जमिनको स्याउ फलिरहेको छ। 

त्यस्तै स्याउ बगैचा व्यवस्थापनमा प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजना ‘सुपरजोन स्याउ’ कार्यक्रमले पनि सहयोग गरिरहेको छ। ठूलो फाँटमा धेरै बिरुवा लगाएर मनग्गे आम्दानी लिन सकिने गरी जमिन चक्लाबन्दी गर्न किसानका समुहलाई आग्रह गरिरहेको सुपजोन स्याउका प्रमुख नवराज भण्डारीले जानकारी दिए। ‘समूह दर्ता गरेर १५ सय बुटा लगाउनेलाई अनुदानमा स्याउ सम्बन्धि औजार उपलब्ध गराउँदै आएका छौं,’ उनले भने, ‘कृषकलाई सहयोग गर्न गाउँ गाउँमा प्राविधिक खटाउने काम पनि भइरहेको छ।’

पछिल्लो समय कर्णाली राजमार्ग खुलेसँगै स्याउ खरिद गर्न व्यापारी बगैचामै पुग्ने गरेका छन्। तर कतिपय ठाउँमा राजमार्ग विस्तार नहुँदा स्याउ बिक्री हुन सकिरहेको छैन। जिल्लाका सबै क्षेत्रमा स्याउ फल्ने भएपनि सबै सडक नपुगेका कारण किसान मर्कामा परेका छन्। 

राजमार्ग सुचारु हुनुअघि प्रतिकेजी ५ रुपैयाँमा बिक्री हुन मुस्किल पर्ने स्याउ सिजनमा ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ।  

साथै सिजनमा बुटा काटछाँट लगायतको बगैचा व्यस्थापनको तालिम लिएका सिपालु कामदारले काम पाइरहेका छन् भने आम्दानी पनि राम्रो भइरहेको छ। पुस लागेदेखि काम खालि नभएको बताउँछन् चन्दननाथ १० का खड्क रोकाया। उनले भारत हिमाञ्चल प्रदेशको किनौरमा मजदुरी गर्न गएको बेला स्याउ काटछाँट गर्न सिकेका थिए। 

उनी बगैचा व्यवस्थापनको काम ठेक्कामा पाएको बताउँछन्। ‘बुटा काटछाँटबाट कमाई राम्रो भइरहेको छ,’ उनले भने, ‘अरु बेला काम पाइने हो कि नाई भन्ने चिन्ता हुन्छ। आजभोली भ्याइनभ्याई हुन्छ।’
 

 

प्रकाशित मिति: : 2020-02-14 01:15:00

प्रतिकृया दिनुहोस्