भीमदत्त नगरपालिका– २ भाँसीका ललित अवस्थीले आठ वर्षअघि व्यावसायिक रुपमा गड्यौलापालन सुरु गर्दा स्थानीय पढेलेखेको मान्छेले के गर्न थालेको हो भनेर मुखामुख गर्थे। गड्यौलाखेतमै थुप्रै पाइन्छ किन खरिद गरेर ल्याएर पाल्नु परेको होला भनेर हाँस्थे।
गड्यौलापालन सुरु गर्दा गिज्याउने व्यक्ति पनि अहिले गड्यौलाबाट उत्पादित कम्पोष्ट मलको महत्व विस्तारै बुझ्दै जान थालेका छन्। ‘हाँस्नेहरुले नै गड्यौलामलको माग गर्न थालेका छन्। मलको माग अधिक छ’ अवस्थीले भने, ‘मागअनुसारको मल उत्पादन गर्न सकिरहेको छैन।’ बाह्र वटा चेम्बरमा अवस्थीले भर्मी मल उत्पादन गर्दै आएका छन्। मलको माग अधिक आउन थालेपछि आधुनिक उपकरणसमेत उनले राखेका छन्। मल परीक्षण गरी प्लाष्टिकरहित प्याकेटमा राखेर मागअनुसार आपूर्ति गर्ने व्यवस्था गरिएको छ। माटोलाई प्लाष्टिकजन्य वस्तुले असर गर्ने हुनाले प्राङ्गारिक वस्तुले नै प्याकिङ गरी मल बिक्री गर्दै आएको उनको भनाइ थियो।
प्याकिङमै लेवल राखेर त्यसमा कुन बोट बिरुवामा कसरी कति मात्रा मल राख्ने भनेर उल्लेख गरिएको छ अवस्थीले भने, ‘मल प्रयोगकर्ताले सजिलै बुझन सकुन भनेर यस्तो गरेका छौँ।’गड्यौलाले उत्पादन गरेको मल किसान माझ निकै लोकप्रिय हँदै गएको छ। बिरुवाको वृद्धि विकासका लागि यस मलमा पोषक तत्व नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, फलाम, मोलिब्डेन लगायत तत्व पाइन्छ।
विशेषगरी नर्सरी र गमलामा घर सजावटका लागि राख्ने बिरुवा र धानको बेर्नामा राख्नका लागि यो मलको माग बढी आउने गरेको छ। खेतबारीमा हाल्नका लागि समेत किसानले यही मल माग गर्न थालेका छन्। यसवर्ष ४० क्वीन्टल मल रु तीन हजार ५०० का दरले बिक्री गरेको उनले बताए। गड्यौलामात्रै एक गैरसरकारी संस्थालाई एक सय किलो रु दुई हजार ५०० प्रति किलोका दरले बिक्री गरेको अवस्थीको भनाइ थियो।
‘पहिला मल बेच्नै गाह्रो थियो। किसानलाई मलको महत्व बुझाउनै झनै गाह्रो थियो। हाल किसानले मलको महत्व बुझेपछि माग अनुसारको मल पुर्याउनै गाह्रो भइरहेको छ’ उनले भने, ‘गड्यौलाले उत्पादन गरेको मल खेतमा राखेर यसले रासायनिक मलजस्तो तत्कालै उत्पादन बढाउँदैन। मल राख्दै गए माटोको गुणस्तरमा सुधार गरी विस्तारै उत्पादनसमेत बढाउँदै लैजान्छ।’ मल उत्पादनका लागि अवस्थीले इस्रियाफोइटिडा नामकगड्यौलापालन गरेका छन्।
किसानले मल मात्रै होइन गड्यौलासमेत खरिद गरी घरमै मल उत्पादन गर्नसमेत थालेका छन्। अवस्थीबाट गड्यौलाखरिद गरेर कृष्णपुर नगरपालिका–२ का ईश्वर थापाले समेत घरमै भर्मी कम्पोष्ट मल तयार गर्नका लागि आठ वटा च्याम्बर राखेका छन्। रु दुई हजार ५०० प्रतिकिलोका दरले चार किलो मल तयार गर्ने गड्यौलाखरिद गरेको उनले बताए।‘चेम्बरमा राख्नका लागि आठ किलो गड्यौलामाग गरेको थिए’ थापाले भने, चार किलो मात्रै पाएको छु। चेम्बरमा कच्चापदार्थ राखेर मल तयार गर्न जुटेको छु’ उनले भने। थापाजस्तै कृष्णपुर नगरपालिका– २ वाणीका शेरबहादुर सिंहले समेत एक दशकदेखि घरमै बनाइएको चेम्बरमागड्यौलापालनबाट भर्मी कम्पोष्टमल तयार गरी खेतबारीमा राख्दै आएका छन् ।
चितवनको रामनगरका किसानले पनि गड्यौलापालन गरी मल उत्पादन गरेको हेर्न गएका बखत प्रति गड्यौला रु दुईका दरले खरिद गरी ल्याएर घरमै पाल्न सुरु गरेका हुन्। ‘पानीले कुहाउने स्याउला, पुरानो गोबर, गत्ता, केराको थाम, जुटका बोरी, खेर गएको तरकारी, सुती कपडालगायत कुहिने वस्तु चेम्बरमा राख्छाैँ। यी वस्तु राखेको ४५ दिनमै मल तयार हुन्छं’ उनले भने, ‘गड्यौलाले खाएर मल उत्पादन गर्छन्।’
नुन, प्लास्टिक, सुर्ती, सोडा, साबुन भने हाल्नै नहुने सिंहले बताए। उनसँगै चितवनमागड्यौलापालन अवलोकनका लागि गएका २५ जनामध्ये छ/सात जनाले मात्रै गड्यौलापालन गरी मल उत्पादन गर्दै आएका छन्। गड्यौलापालनमा लागेकामध्ये केहीले तरकारी खेती गरी मनग्य आम्दानीसमेत लिँदै आएका छन्। गड्यौलामात्रै वर्षको रु आठ हजारदेखि रु १० हजारसम्मको बिक्री हुने गरेको सिंहले जानकारी गराउनुभयो।
रासायनिक मल हालेर अम्लीयपन बढी भएको खेत सपार्नका लागि भर्मी कम्पोष्टमल राख्नुपर्ने उनको सुझाव थियो। ‘दश डोका गोबरमल बराबर एक डोका भर्मी कम्पोष्ट मलले काम गर्दछ’ सिंहले भने, ‘यसले माटोको गुणस्तर सुधार गर्ने गरी उर्वराशक्ति बढाउछ।’
गड्याैलाले कुनैपनि कृषिजन्य प्राङ्गारिक पदार्थ खाएर गरेको दिसा मिसिएको मलनै भर्मि कम्पोष्ट मल भएको कृषि प्राविधिक करनबहादुर बुढाएरले बताए। बिरुवाका लागि हानिकारक मानिने जीवाणुलाई मार्ने रसायनको मात्रा यस मलमा बढी हुनेगर्दछ। मल भण्डारण भएका पोषकतत्व पानीको प्रवाहले नपखालिने, जतिसुकै कलिला बिरुवाका लागि पनि सजिलै प्रयोग गर्न सकिने उनको भनाइ थियो ।
गड्याैलाले हरेक २४ घण्टामा आफनो तौल बराबरको भर्मि कम्पोष्ट मल तयार गर्ने भएकाले छिटोछिटो तयार गरी उत्पादन वृद्धि गर्न सकिने प्राविधिक बुढाएरले बताए। ‘भर्मि कम्पोष्टमल तयार गर्दा गड्यौलालाई चिस्यान आवश्यक पर्ने भएकाले त्यसै प्रकारले चेम्बर निर्माण गर्नुपर्छ’ उनले भने,‘मल बनाउँदा राम्रोसँग ओइलाएको पातपतिङ्गर, गाईभैँसीको गोबर, गोबरग्यास प्लान्टको उपउत्पादन, झारपात, घरबाट निस्केको फोहर, सागपातको डाँठ, बोक्रा, पुराना कागज, गोठबाट निस्केको फोहर राख्न सकिन्छ।’
गड्यौलाराख्दा प्राङ्गागरिक पदार्थ राखी गड्यौलाराख्दै क्रमशः दोहर्याउँदै जाने र माथिबाट जुटको बोराले छोपी हल्का पानी छम्केर राख्नु पर्दछ। भान्सा तथा बगैँचाबाट निष्केको फोहर थप्दै जाने र दुईदेखि तीन दिनको फरकमा हल्का पानी छम्कने कार्यले गड्यौलालाई चाहिने आवश्यक चिस्याउन कायम हुन्छ।’गड्यौला राखिएको थुप्रोलाई समय समयमा पल्टाउने कार्य गर्दा मल राम्रोसँग पाकेर तयार हुन्छ। मललाई छायाँमा सुकाएर चाल्ने र त्यसपछि प्रयोग गर्न सकिन्छ। भर्मि कम्पोष्ट मल एक बोटमा दुई किलोका दरले प्रयोग गर्न सकिने प्राविधिक बुढाएरले बताए।