७० वर्षीय नन्दमाया ढकाल २०५० सालमा काठमाडाैं प्रवेश गरेकी हुन्। श्रीमान २४ वर्षअघि बितेपछि ७ जना छाेराछाेरीलाई हुर्काउने बढाउने काम उनले गरिन। तर, अहिले काेही उनीसँग छैन। कान्छाे छाेरा सँगै बस्छ तर उसकाे आफै कुनै भर छैन।
दुई साताअघि बसुन्धरा चौकी नजिक एक आमै मकै पोल्दै थिइन। साँझको ७ बजेको हुनुपर्छ। अध्यारो र चिसो रातमा उनी घरि धोतीको फेरले त घरि चोलीको बाहुलाले आँशु पुछिरहेकी थिइन। आखिर को थिइन, उनी? पुस र माघको चिसोमा न्यानो ओछ्यानमा बस्नु पर्ने उमेरमा किन उनी केही पैसाका लागि मकै पोलिरहेकी थिइन?
यही कौतुहलताका बीच ती आमैसँग कुरा गर्न अगाडी बढे। चाउरिएको गाला र रुँदा रुँदै आँशु रित्तिन लागेर फुस्रो भएको उनको आँखा। वास्तवमै जोकोहीका लागि मुटु दुख्ने दृश्य थियो, त्यो।
नन्दमाया ढकाल, ७०।
२०५० सालमा पुरोहित श्रीमानसँगै रसुवाबाट काठमाडौं प्रवेश गरेकी थिइन। ७ सन्तानमध्ये ४ छोरी र ३ छोरा। २६ वर्षअघि काठमाडौं प्रवेश गर्नुको उनको उद्देश्य थियो, छोराछोरीको लागि राम्रो शिक्षाको व्यवस्था । काठमाडौं प्रवेश गरेको केही वर्ष निकै राम्रो बित्याे। श्रीमानले छोटो समयमै थुप्रै यजमान कमाइसकेका थिए।
तर, केही वर्षभित्र उनलाई नसोचेको विपत आइलाग्यो। काठमाडौं आएको तेस्रो वर्षमै सोच्दै नसोचेको रोगले श्रीमान चुँडाएर लग्यो। यसपछि ७ जना लालाबालाको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आइपुग्यो।
‘बालबच्चा हुर्काउन कस–कसकोमा गइनँ। सबैले मेरो एक्लोपनाको फाइदा मात्र उठाउन खोजे,’ उनले आँशु पुस्तै भनिन्, ‘एकजना महाजन कहाँ भान्छे भएर काम गरे। त्यहाँ पनि राम्रो व्यवहार भएन। अन्त्यमा बोक्सी भनेर खेदेँ।’
पहिले उनी चौविसै घण्टा भगवानको स्तुतिमा लिन हुन्थिन्। श्रीमान पुरोहित भएका कारण भगवानप्रति उनको आगाध आस्था थियो। तर, हिजोआज उनी भगवानलाई ढुँगा मान्छिन्। भन्छिन्, ‘भगवान पनि धनिको लागि मात्र हुँदो रहेछ। हामीजस्ता निमुखाका लागि त ढुँगा हो।’
बिगतमा बालबच्चा हुर्काउन उनले के मात्र गरिनन्? तर, अहिले कोही पनि उनीसँग छैन। ठूलो भएपछि केटाकेटीले हेर्लान? मरेपछि दागबत्ति देलान भन्ने उनलाई लागेको थियो। त्यो चकनाचुर भएको छ।
नन्दमाया हाल सामाखुसीस्थित रानीबारीमा बसोबास गर्छिन्। त्यो पनि कान्छो छोराको सहारा बनेर। छोरा उनको सहारा बन्नु पर्ने अवस्थामा विडम्बना उनी छोराको सहारा बनेकी छिन्। हिजोआज भालेको पहिलो डाकोसँगै उनको दैनिकी सुरु हुन्छ। बिहानै कालिमाटी पुग्छिन् र आफूले बोक्न सक्ने मकैलगायत तरकारीको भारी डोकोमा हालेर ल्याउँछिन् र बाटोमा बेचेर फर्किन्छिन्।
कहिले उनी बिहानै २ बजे नै उठ्छिन्। घडी हेर्न उनलाई आउँदैन। निन्द्रा खुल्यो कि उनलाई बिहान भए जस्तो लाग्छ। ‘कहिले बिहान २ बजे पनि हिड्ने गर्छु, चोक पुगेपछि पुलिसले रोकिदिन्छ र फर्काइदिन्छ। केही थाहा पाउँदिन्। न घडी हेर्न जानेको छु’, उनले भनिन्।
श्रीमानलाई उपचारका लागि उनले नेपालभित्र मात्र होइन, छिमेकी भारत पनि लगेकी थिइन। तर कतै रोग पत्ता लागेन। श्रीमानले प्राण त्यागे। उनले बच्चाबुच्ची पाल्न एउटा स्कुलमा पनि काम गरिन्। एकदिन स्कुलमै खेल खेल्दा एउटा सानो विधार्थीले अर्काे विधार्थीलाई लडायो। लड्ने विधार्थीकाे टाउकाेमा चोट लाग्यो। यसको दण्ड अरुले पाएनन्। उनै नन्दमायाले पाइन्। उनलाई गैरजिम्मेवार भएको भन्दै स्कुल प्रशाषनले जागिरबाट निकाल्यो।
यसपछि जागिरविहिन बनेकी नन्दमायाले मकै बेच्ने निधो गरिन्। हाल उनी १२ वर्षदेखि मकै बेचिरहेकी छिन्। उनी यसमा खुसी पनि छिन्।
‘आफ्नो भनेको आफ्नै हुँदो रहेछ। अरु ठाउँमा काम गर्दा केही नबिगारेपनि मलाई लाल्छना लगाउँथे’, उनले भनिन्। नन्दमायाले ४ वटी छोरीको राम्रैसँग विवाह गरेकी थिइन। तर, ४ वटै छोरी ज्वाई छोडेर मुम्बई भागे। यसले उनलाई निकै चोट पुर्यायो। केही वर्ष अगाडी छोरीहरु आमा भेट्न आएका थिए। आफ्नो मुटुमा ठेस पुर्योएको भन्दै उनले भेट्न मानिनन्।
‘जति दु:ख भएपनि नखाई ठूलो बनाए। बिहे गरि पठाए। पछि ४ छोरी नै बम्बे भागे। मलाइ आकाशले थिचे जस्तो भयो। यसपछि नातासम्बन्ध तोडिदिए। अहिले को कहाँ छ, थाहा छैन?’
नन्दमायाको ३ छोरामध्ये जेठो चावहीलमा घर बनाएर बसेको छ। माइलो छोरा बैदेशिक रोजगारीको शिलशिलामा दुबईमा कार्यरत छ। कान्छो छोरा कूलतमा फसेका कारण आमासँगै छ। ‘खराब संगतका कारण बिग्रियो। नभए यो पनि अरु जस्तै उडिसक्थ्यो’, लामो स्वास फेर्दै उनले भनिन्– ‘केही काम गर्दैन। मैले नै पाल्नु पर्छ। भोक लग्यो भने मात्र आउँछ। नत्र कता जान्छ थाहा हुँदैन।’
नन्दमाया मकै बेचेर दैनिक हजार रुपैयाँ कमाउँछिन्। मकैको साथ मौसम अनुसारको फलफुल पनि बेच्ने गर्छिन्। चक्रपथ विस्तारसँगै सडक वरपरका रुख काटिने क्रम जारी छ। यसले नन्दमाया जस्ता स्वावलम्बीकाे काम गरेर खाने स्थान भत्किएकाे छ। १५ दिनअघि उनीसँग मैले बसुन्धराको पुलिस चाैकी नजिकै कुरा गरेकी थिए। तर,हिजोआज ती आमैलाई त्यो ठाउँमा देख्न छोडेकी छुँ।
यसले मेराे मन भतभत पाेलिरहेकाे छ। नन्दमाया कहाँ होलिन? के गर्दै होलिन्?