होँचा कदका निकोलास सार्कोजी विवाद र चर्चाका पयार्य हुन्। उनी फ्रान्सका पूर्वराष्ट्रपति भएकैले मात्र होइन, मोडल तथा गायिका कार्ला ब्रुनीका श्रीमान् हुनुको कारण पनि उत्तिकै चर्चित छन्।
लिवियाका तानाशाहसँगको आर्थिक विवाद, कर छलीका कारण अखबारका मुखपृष्ठमा छाइरहने अनि टेलिभिजनका पर्दामा आइरहने सार्कोजी जनवरीको अन्तिम साता स्विट्जरल्याण्डको कुटनीतिक शहर जेनेभामामा थिए। उनको समेत लगानी रहेको धनाढ्यहरुको समूहका प्रमुख आकर्षण थिए- सार्कोजी।
चार दर्जन देशमा विशेष गरी महिलाको सौन्दर्यसँग सम्बन्धित सामग्री उत्पादन गर्ने कम्पनीको वार्षिक समीक्षा बैठकमा दुई घण्टा बोलेका सार्कोजीले बोलिरहँदा पिएको कफीले कार्यक्रममा चर्चा पाएको थियो।
उनले नेपाल लमजुङ कफी पिउँदै यसैको वितरणको उदाहरण दिएका थिए।
सार्कोजीको भनाइ थियो- ‘हेर्नोस् त नेपालको विकट गाउँको यो कफी कसरी हाम्रो टेबुलसम्म आइपुग्यो? त्यो पनि भिन्न स्वादमा। हाम्रा उत्पादन पनि यसैगरी संसारभर पुर्याउनु पर्छ।’
बैठक जेनेभाका महंगा होटलमध्येको एक ला रिजर्भमा भैरहेको थियो। फराकिलो जमिनमा फैलिएको, स्विमिङ पुल, योगा अनि जापानदेखि चीन,युरोपका विभिन्न स्वाद पस्कने धनाढ्यहरुको आवजतजावत भइरहने होटल हो यो।
जहाँ, एउटै कफीको मोल १२५० रुपियाँ पर्छ। ला रिजर्भमा भिन्न स्वादमा सबैभन्दा बढी बिक्री हुने कफी नेपाल लमजुङ कफी नै हो।
नेस्प्रेसो कम्पनीले उत्पादन गर्ने नेपाल लमजुङ कफी सन् १९८०मा खोजकर्ताहरुले लमजुङ पुगेर उत्पादन शुरु गरेका थिए।अन्नपूर्ण हिमाल देखिने भेगको माटो नेस्प्रेसोले विभिन्न प्रयोगशालामा पठाएको थियो। दिउँसो तातो हुने र राती चिसो हुने यहाँको माटोमा अर्गानिक कफीको उत्पादन गरेर बजार पुर्याउने लक्ष्य लिएर त्यहाँका किसानलाई उत्प्रेरित गरिएको थियो।
तीन हजार किसानलाई कफीका बेर्ना बाँडेर नेस्लेले उत्पादन थालेको थियो। अहिले थोरै मात्रामा तर सँसारका महँगा होटल, रेष्टुरेन्टका सम्भ्रान्त पाहुनालाई लक्षित गरेर यो कफी तयार गरिन्छ।
क्याप्सुलका रुपमा तयार गरिने लमजुङ क्याफेको उत्पादन सीमित गर्ने तर स्वादलाई विशिष्ट बनाउने नेस्क्याफेले बताएको छ। तान्जानियाको किलिमन्जारो पर्वत श्रृंखला र नेपालको अन्नपूर्ण हिमश्रृंखलाको आसपासको माटो परीक्षणपश्चात यसलाई व्यवसायिक रुपमा सम्भ्रान्तसम्म पुर्याउने लक्ष्य लिएर उत्पादन थालिएको र सो योजना असाध्यै सफल भएको क्याफे लमजुङका सद्भावनादूत उत्कृष्ट कुक मार्टिन वरासाटागी बताउँछन्।
वरासाटागी मात्र हैन, फ्रान्सेली राष्ट्रपतिबाट उत्कृष्ट कुक तक्मा पाउने पहिलो फ्रेन्च महिला भर्जिनी बासेलोत पनि आफूले काम गरेको पेरिस र जेनेभाको महँगो होटलका धनाढ्य ग्राहकले नेपाल क्याफे लमजुङ्ग मन पराएको देखेर छक्क पर्छिन्।
आफूलाई भिन्दै स्वाद लागेको बताउँदै उनी भन्छिन्, ‘युरोपका अरु कफीभन्दा यो कफी फरक नै छ।’
नेपाली कफीको ठूलो बजार युरोप नै हो। पहिलो नम्बरमा जर्मनी आउँछ भने दोश्रोमा स्विट्जरल्याड र तेस्रोमा जापान।
नेपालबाट स्विट्जरल्याण्डमा कति कफी आयो त भनी तथ्य बुझ्न विश्व ब्यापार संगठनको केन्द्रीय कार्यालय जेनेभामा पुग्दा अनौठो तथ्यांक फेला पर्यो।
विश्व ब्यापार संगठनको तथ्यांक अधिकृतले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार नेपाली उत्पादनको २५ प्रतिशत कफी जर्मनीमा भित्रिएको रहेछ भने २० प्रतिशत स्विट्जरल्याण्डमा। २० प्रतिशत जापान निर्यात भएको छ भने १२ प्रतिशत अमेरिकामा।
पछिल्लो तथ्यांकअनुसार वर्षभरिको कूल सातलाख ८२ हजार चारसय डलरको निर्यात भएको कफीमा स्विट्जरल्याण्डमा एकलाख ५१ हजार छसय ६० डलरको निर्यात भएको देखिन्छ। ती अधिकृत भन्छन्- ‘उत्पादनको झण्डै आधा नै युरोपमा बिक्री हुने कफीको बजार बिस्तार गरेर युरोपलाई कफी बिक्रीको पहिलो थलो बनाउन सके नेपालले ठूलो फाइदा गर्न सक्ने देखिन्छ।’
मागअनुसारको उत्पादन छैन
गुल्मीको आँपचौरबाट शुरु भएको कफीलाई व्यावसायिक बनाउने श्रेय पाल्पा मदनपोखराका किसान ढकेश्वर घिमिरेलाई जान्छ।
बहुदलीय प्रजातन्त्र प्राप्तिसँगै घिमिरेले कफी उत्पादन, बजार बिस्तार गर्नेदेखि लिएर सरकारलाई झक्झक्याउने काम गरे। कफी कृषकलाई गोलबन्द गर्दै कफीको उत्पादन बिस्तार गर्दै बजारसम्मको पहुँच बनाउन अगुवाइ गरे।
नेपाल अर्गानिक कफी उत्पादन कम्पनी खोलेर चलाइरहेका घिमिरेले ब्रेकलिँक्ससँग कुरा गर्दै नेपालको अर्गानिक कफीको संसारैभर माग भएपनि मागबमोजिम पुर्याउन नसकेको बताए उनी भन्छन्, ‘पहिलाभन्दा उत्पादन बढेको त छ तर कन्टेनरका कन्टेनरको माग हामीले पुर्याउन सकेका छैनौँ।’ कृषकलाई ढुक्क भएर कफीजस्तो असाध्यै कमजोर जातको वृक्षको खेती गर्ने आत्मविश्वास नपलाउँदासम्म मागअनुसार आपूर्ति पुर्याउन नसकिने उनको ठम्याइ छ।
२०५० सालपछि जापानले निकै निर्यात गर्ने नेपाली अर्गानिक कफी अहिले युरोपेलीको आकर्षण बढेकोमा दीर्घकालीन योजनाका साथ आफूहरुले काम गरेको दाबी गर्दै नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम भन्छन्- ‘उत्पादनदेखि बजारसम्म पुर्याउन कृषकलाई तालिमदेखि यसको बजार बिस्तारसम्म हाम्रो पहल जारी छ। नेपाली कफीको निर्यात घटेको छैन, बरु बढेको छ।’
यो आयका हिसाबले पनि राम्रो पक्ष हो।कफी किसान संगठित हुने र ठूलो मात्रामा उत्पादन गर्ने लहर नै चलेको छ।
तर, नेपाल लमजुङ्ग कफीको मार्कमा युरोपमा कफीको बिक्री भैरहेको विषयमा भने दुवै अनभिज्ञ रहेछन्। ढकेश्वर भन्छन्- 'यहाँबाट दाना कफी लगेर उनीहरुले विभिन्न नाम र प्याकेटमा आफ्नो बजार बिस्तार गरेका हुन्छन्। अरु त अरु विदेशी नै नेपालमा बसेर कफीको ब्यापार गर्न थालिसकेका छन्। हाम्रो अर्गानिक कम्पनीले भने अमेरिकामा बढी बिक्री गर्ने गरेको छ।'