पूर्वकम्युनिस्ट साम्राज्य सोभियत युनियनको शासक जोजेफ स्टालिन (महासचिव सोभियत कम्युनिस्ट पार्टी १९२३—१९५३) लाई तिनका समकालीन कम्युनिस्ट नेताहरू ‘कमरेड स्टालिन’ भन्थे। अधिकांश तिनका समकालीन कमरेडहरू स्टालिनबाट बोलावट होला भनी त्रसित हुने गर्दथे। केटाकेटीले भने तिनलाई ‘कमरेड अंकल’ भन्ने प्रचलन थियो। स्टालिन कुनै आफ्ना ‘विरोधी’ अथवा विरोधीसँग साँठगाँठको संख्या मात्रै भएको कमरेडका घरमा विनानिमन्त्रणा पुगे। केटाकेटीसँग रमाएर खेल्दै चकलेट बाँड्न थाले भने केटाकेटीका आमाहरू लुकेर रुन थाल्थे। किनकि त्यसपश्चात् घरमूली जतिसुकै ठूला नेता अथवा साधारण नागरिक भए पनि बेलुका घर फर्कने सम्भावना हँुदैनथ्यो। प्रायः त्यही साँझ उक्त व्यक्तिले आत्महत्या गरेको समाचार रेडियो मस्कोबाट प्रसारण हुने निश्चित थियो। दोस्रो दिन ‘प्राब्धा’ (कम्युनिस्ट पार्टीको मुखपत्र) को प्रमुख पृष्ठमा मृतक कमरेडको (पदअनुसार) तस्बिरसहितको आत्महत्या गरेको समाचार प्रकाशन हुन्थ्योे। यो माघ महिनाभरि मञ्चन भएका घटना स्टालिनकालीन सोभियत युनियनसँग मिल्दाजुल्दा छन् भलै यहाँ स्टालिनले जस्तो निर्मम हत्या वा हिंसा नभएका किन नहुन्।
लामो कुराइपछि नेपाल कम्युनिस्ट पार्टीको पाँचदिने केन्द्रीय कार्यसमिति बैठक बस्यो। बैठकलाई दुई घन्टा लामो सम्बोधन क्रममा प्रधानमन्त्री सरकारले हासिल गरेको ऐतिहासिक उपलब्धिको वर्णन गरे। श्रोता कमरेडहरूले सायद तिनले प्रस्तुत गरेका अधिकांश तथ्यांकलाई जनसाधारणले जस्तै मिथ्यांक ठहर गरे। प्रधानमन्त्रीको आशयअनुरूप सरकारका कार्यको प्रशंसा हुनुको बदलामा अत्यधिक आलोचना भयो। प्रधानमन्त्रीद्वारा दरबारिया शैलीमा राष्ट्रिय सम्पत्तिको वितरण, सरकारका कार्यले जनमानसमा नैराश्य छाएको, नेताहरू तथा तिनका पारिवारिक जीवनशैलीबाट वाक्क–दिक्क भएका कमरेडहरूले नेताहरूका सम्पत्ति जाँचको मागसमेत गरे।