कालो बादलभित्र चाँदीको घेरा (भिडियाे)

कहिलेकाहीँ चाणक्यले सही भनेका हुन् कि जस्ता पनि लाग्छ, ‘जहाँ शिक्षा छैन त्यहाँ फर्केर पनि नहेर्नु।’ तर पनि जिन्दगी धकेल्ने मेसो उही भएपछि आशा रहिरहन्छ। त्यसैले चुनौतिका पहाड फोडेरै भएपनि जिन्दगी गुडाउने राजमार्ग तय गर्नु नै छ।

युवा उत्साह र आँट सदैव तारिफयोग्य रहन्छ। त्यसैले  ऐतिहासिक तथा राजनीतिक पृष्ठभूमिमा यो उत्साहको अधिक उपयोग हुने गर्छ। तर, उनीहरुकाे आँट तलमाथि हुँदा चरम निराशा उत्पन्न भइ दुर्घटना पनि हुन सक्छ। चाहे त्यो राजनीतिमा होस्, व्यापार–व्यवसाय वा जागिरमै किन नहोस्। त्यसपछि जिन्दगीको मोड साह्रै कठिन बनिदिन्छ। तर, यी सबैलाई काबुमा राखेर मुगु बजारमा व्यवसाय धानिरहेक छन्, नरेश शाही। 

पेशाले कम्प्युटर व्यवसायी शाहीको पसलमा छिर्दा मुसुक्क हाँस्दै स्वागत गर्छन्। तर, त्यो हाँसो गुलावी लाग्दैन, फिक्का फिक्का अनुभूत हुन्छ। त्यो हाँसोलाई बिम्बमा यसो भन्न सकिन्छ, वर्षामा उत्पात मच्चाएको मुगु कर्णाली हिउँदमा सुस्ताए जस्तो। 

उनी इन्टरसफ्ट नेपाल प्रालिका सञ्चालक हुन्। उनको पुर्ख्यौली घर हुम्ला र जन्म घर मुगु हो। हुर्के–बढेको र पढेको  पनि मुगुमै हो। मामा घर मुगु हो। मामाको मात्रै के भन्नु, आमाको घर पनि मुगु हो। तर नागरिकता दाङ जिल्लाबाट लिए। किनकि बाबु दाङमै बस्छन्। आमा सधै मुगुमै बसिन्। 

बुबा पुलिस थिए। सानोमा बुबासँगको निकटताको धमिलो स्मृति मात्र छ उनीसँग। जब जान्ने भए त्यहीबेला बुबाले अर्को बिहे गरिसकेका थिए। त्यसैले आमाको घर मुगु र बुबाको दाङ हुन गयो। बुबासँगको उनको सम्बन्ध हालसम्म पनि औपचारिकतामै सिमित छ।

आमा मुगु जिल्लाकै पहिलो शिक्षित महिला हुन। कक्षा १० सम्म पढेकी। त्यो समय त्यति पढेका छोरी कोही थिएनन्। छोरासमेत पढेलेखेका निकै कम हुने त्यो जमानामा उनी अपवाद थिइन्। त्यो समयमा पढेलेखेकी उनले एक कदम अगाडि बढेर जिन्दगीको निर्णय गरिन्। तर, उनका श्रीमानले दुई कदम अगाडि बढेर पितृसत्ताको हर्कत देखाए। त्यसपछि जीविको पार्जनको लागि खुद्रापसल सुरु गरिन् ।

नरेशको बाल्यकाल पुरै आमासँग बित्यो। ती दिन कष्टदायी त थिए नै, त्यतिकै अभावग्रस्त पनि थिए। कर्णालीको जनजीवन कर्णाली नदीजस्तै जेलिएको जस्तो लाग्थ्यो। उनीसँग सुनाउने त्यस्तो कुनै स्मरणीय घटना छैन। ‘जिन्दगीमा भोगेका कुनै एक दुई दुःख भए पो सम्झिनु र सुनाउनु,’ भन्छन्, ‘गरिबी र अभावसँग नजिकको सम्बन्ध भएपछि सम्झिने र बिर्सने छुट्टै घटना नहुँदा रहेछन्। जिन्दगीको यात्रामा अभावको गोरेटो बहुत लामो लाग्यो।’ 


हाम्रा कयौं नेपाली दाजुभाइ विदेश जाँदा निम्नस्तरको काम गर्छन्। त्यहाँ कुनै हीनताबोध हुँदैन। यता त्यतिको काम गर्नु परिरहेको छैन भने अब कामलाई सानो या ठुलो भनेर वर्गीकरण गर्नुको अर्थ पनि म देख्दिन। काम त काम नै हो नि ।

कर्णालीको सामुहिक दुःख भने उनलाई राम्रोसँग याद छ। गोर्खालीहरुको राज्य विस्तार अभियानपछि कर्णालीको परिचय गरिबी र अभावसँग जोडियो। भोकमरी सबैभन्दा बढी झ्याली पिटिएको विषय बन्यो। यसैको प्रतिफल नेपाल खाद्य संस्थानमार्फत सहुलियत दरमा पाइने नुन र चामल उपहार थियो। जसले भोटसँगको व्यापार बन्द गरेर आत्मनिर्भर अर्थतन्त्रको चक्रलाई परनिर्भरतामा धकेलिदियो।

राजा, राणा, पञ्चायतदेखि बहुदलसम्म आइपुग्दा सत्तासँग निकट सम्बन्ध राख्नेले नुन, चामलमै राजनीतिक भविष्य देखे। उनीहरु सुविधासम्पन्न सहरतिर सरेयता उनीहरूको निर्वाचन क्षेत्र कर्णाली भने गरिबी, भोकमरी, अभाव, पछौटेपन र फोहोरको पर्याय भइरहयो। 

जिल्लामै बस्ने उनका स्थानीय एजेन्ट पनि बोलवालै हुन्थे। उनीहरु कुपन बाँड्थे। कुपन मिलाउने उनीहरुले बुन्ने तानाबाना कर्णाली नदीझैं लामा थिए र छन्। उनीहरुले मिलाइदिने पाँच किलो चामल खाद्य संस्थानमा डेढ सय जति पर्थ्यो। तर, चामलको लागि चाहिने कुपन पाउनु वर्तमान सत्ताको शक्तिशाली प्रधानमन्त्री बन्नु सरह थियो। कुपन मिलाइदिनेले भुटेको रक्सिका दुई बोतल रित्याउँथ्यो। त्यसबेला अमेरिकी राष्ट्रपतिको शक्ति कम थियो होला जति नुन, चामलको कुपन मिलाउने र दिनेहरुको थियो।

खाद्य संस्थानमा चामल लिन लाइन लाग्दा–लाग्दा मुगुबासीको आयु घटेर ३५ वर्षमा झर्‍यो। आत्मनिर्भर अर्थतन्त्रका सम्पूर्ण संरचना ढलिसकेपछि कहाँबाट पाउनु पोषणतत्व? कहाँबाट पाउनु शरीरका लागि चाहिने आवश्यक क्यालोरी र अरु थोक? 

विद्यालय जीवनका सामुहिक घटना परिघटनाका साक्षी छन् नरेश। सत्ताले दया गरी दिएको अर्को उपहार थियो, पाठ्यपुस्तकको निःशुल्क उपलब्धता। पञ्चायती सत्ताको सबैभन्दा ठूलो उपहार। जे होस्  स्कुल खोलिदिएका थिए, शासकहरुले। तर पहिला किताब पसलबाट आफैले किनेर बिल बुझाउनु पर्थ्यो। सोधभर्ना स्कुलले गरिदिने वाचा गरेको हुन्थ्यो। ‘हामीसँग पैसा हुँदैनथ्यो। स्कुल आफैले किताब नबाँड्ने। आमाले कयौं पटक पछि तिरौंला भनि अरुसँग सापटी गर्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘बिल बुझाएर आउँने पैसा स्कुलले दिउँला भन्दै वर्ष दिन कटाइदिन्थ्यो। तर दिदैनथ्यो।’   

धन्न बजार नजिक स्कुल थियो। अलिअलि पढाइ हुन्थ्यो। गाउँमा त पढाइ नै नहुने। स्कुलले किताबको पैसा खाइदिन्थे भने सरसापट गरी किनेका किताबका पाना धमिराले। तर, किताबभित्रका अक्षर विद्यार्थीले कहिले खान पाउँदैनथे। अक्षर खान नपाउने सिलसिला अहिले पनि रोकिएके छैन। त्यसैले त जिल्ला मुगु भैकन पनि कर्मचारी जुम्लाका बढी छन्।  

मुगालीहरु भनिरहन्छन्, ‘जुम्लीले खाएको जिल्ला हो।’ तर जुम्लीले खानुभन्दा धेरै वर्ष पहिले यहीँका स्कुलले मुगालीको भविष्य खाइदिएका थिए। यसको हिसाब गर्ने सूत्र सायद, आइनस्टाइन यस धर्तीमा फेरी जन्मिएर पत्ता लगाउन चाहे पनि सक्ने छैनन्। कर्मचारी मात्र होइन, ठूला व्यापारी पनि बाहिरकै बढी छन्। त्यसैले उहिल्यै गोलमाल गरेर तयार पारिएको मुगालीको वासलात अहिलेसम्म पनि कैफियतमुक्त हुन सकेको छैन।

पाँच किलो चामलको भार कर्णालीले अहिलेसम्म तिरिरहेकै छ। यसैलाई माध्यम बनाएर कतिले आफ्नो भविष्य चम्काए, कति जनताका प्रिय नेता बने। आज पनि चुनावमा तेलको पोका बाँढ्ने नेता असल ठहरिन्छन्। चुनाबपछि पनि बाँड्नेहरु भगवान ठहरिन्छन्। तिनै वितरकले नै कर्णालीको अर्थतन्त्र गोलमाल बनाएका हुन।

बजारमै बसाइँ भएकाले नरेशको पढाइमा उस्तो बाधा परेन। कापी किताबको बाधा आमाको व्यापारले कम गराउँदै गयो। २०६५ मा एसएलसी पास गरेपछि उनी पढ्न काठमाडौं गए। बीबीएस सुरु गरेको बेला, तीनवर्षे कम्प्युटर कोर्ष छात्रवृत्तिमा पढ्ने अवसर पाए। कम्प्युटर उनको सानैदेखि रुचिको विषय थियो। दुबै कोर्ष सँगसँगै लगे।

सन् २०१५ मा उनको कोर्ष पूरा भयो। मुगु फर्किउला भन्ने सोचेका थिएनन्। फर्किने मन पनि थिएन। त्यसैले विदेश जाने तयारी गरिरहेका थिए। त्यही बेला मुगुमा रहेकी आमा बिरामी भएको खबर आयो। उनी मुगु आए। आएको तीन महिनामै आमा वितिहालिन्। त्यसपछि उनी काठमाडौं फर्केनन्। त्यही एउटा एनजीओमा काम थाले। केही समय काम गरे। त्यहिबेला केही कार्यालयका कम्प्युटरमा आएका समस्याको समाधान उनी गरिदिन्थे। त्यसले केही मात्रामा आम्दानी बढिरहेको थियो।

कोठामा सानो व्यवसाय थालेका थिए। समय बित्दै जाँदा जागीरभन्दा पनि आफ्नो रुचिको क्षेत्र कम्प्युटर व्यवसाय सुरु गर्ने सोच बन्यो। जसलाई मलजल गर्न देशको नयाँ राजनीतिक संरचनाले पनि सहयोग गर्‍यो।

घर नजिक स्थानीय सरकार आउँदै थियो। त्यसबेला माओवादीले ‘माओवादीको उपहार, गाउँगाउँमा सिंहदरबार’को नारा नै लगाएको थियो। स्थानीय संरचनाले नजिकका व्यापार व्यवसाय र बजारलाई प्राथमिकता दिन्छ भन्ने उनले ठानेका थिए। ठूलो आशा थियो। 

त्यही आशाले कम्प्युटरको डिलर नै राखे। सरकारी, गैरसरकारी तथा मुगुका जोसुकैले किन्नु पर्‍यो भने काठमाडौंको बजारमा प्रचलित दरभन्दा १० प्रतिशत सस्तोमा दिन्छु भन्ने प्रतिबद्धता गरे। अझ काठमाडौंको मोलभन्दा उस्तै परे १० हजार रुपियाँ सस्तोमा दिन खोजे। तर, गाउँका सिंहदरबारको व्यवहार सोचेको भन्दा आकाश(जमीन अन्तर भैदियो। उनको डिलरका कम्प्युटर बिक्री भएनन्। जसले किन्दिए भने भारी छुट पाउने थिए ती कोही किन्न आएनन्। 

सरकारी संयन्त्र जसको आशमा व्यवसाय सुरुवात गरिएको थियो। ऊ सस्तोमा किन्ने भन्दापनि बार्गेनिङ गर्न थाल्यो। आपूर्तिकर्ताले कतिमा दिन्छ भन्दा पनि आफूलाई कति फाइदा आउँछ भनेर हिसाब गर्न थाल्यो। स्थानीय आपूर्तिकर्तासँग यस्तो हिसाब गर्‍यो भने कहिँकतैबाट लिक हुने सम्भावना धेरै रहने हुनाले ऊ कसैले नचिन्ने अर्थात् आफैले समेत नचिनेको आपूर्तिकर्तासँग गयो। ‘बिल यतिको बनाऊ। तिम्रो आफ्नो मोल लेऊ। बाँकि हाम्रो हो’ भन्यो। 

नरेश यो खेलको भित्री तहसम्म त पुगेनन्। तर, उनले बुझ्नलाई भने कोसिस गरे। २० देखि ४० प्रतिशतसम्म उल्टो दिनुपर्ने रहेछ। अब उनले बेच्ने कम्प्युटर काठमाडौंको बजारमा यति पर्छ त्यसको १० प्रतिशत वा १० हजारभन्दा सस्तोमा दिन्छु भन्ने भीष्मप्रतिज्ञाले काम गरेन। ४० प्रतिशतसम्म खरिदकर्तालाई कमिसन दिने बलियो संयन्त्र निर्माण गर्नुपर्ने रहेछ। यो खेलोमेलोमा टिम पनि बलियो हुनुपर्ने रहेछ। एक्ला उनले त्यस्तो केही गर्न सकेनन्।

यसले उनको युवा जोशलाई चरम निराशामा परिणत गराउने सम्भावना धेरै थियो। तर, उनी संयमित थिए। परिपक्व धारणा बनाएर व्यवसाय थालेका थिए। आफ्नो व्यवसायको स्वरुपमा केही परिवर्तन गरे। कम्प्युटर तालिम कक्षा सञ्चालन गर्न थाले। कम्प्युटर तालिम लिन आउनेको संख्या विस्तारै बढेको छ। तर पनि थोरै खर्च गरेर सूचना प्रविधिबारे ज्ञान लिनुपर्छ भन्ने चेतना बढेको छैन।

तीन हजारमा तीन महिने कोर्स सकाउनुपर्छ भन्ने छैन। बरु आवश्यक परेको बेला ३० हजार हालेर सर्टिफिकेट किन्ने चेतना हावी छ। ‘चेतनास्तर कम भएको ठाउँमा यो तालिम महत्त्वपूर्ण छ भनेर सिक्न खोज्ने पनि कम हुँदा रहेछन्,’ उनले दुखेसो पोखे, ‘कम्प्युटर अप्रेटरको विज्ञापन खुल्यो भने तालिम लिएको सर्टिफिकेट किन्न खोज्नेको भींड हुन्छ। त्यस्तो बेला स्थानीय सरकारका प्रमुखदेखि  कर्मचारीसम्मले पावर लगाउन खोज्छन्। यस्तो खालको चेतना भएको ठाउँमा काम गर्नुका कैयन अप्ठ्यारा रहेछन्।’ 

हाल उनी जस्तो काम आउँछ त्यही गर्न तयार छन्। सानो, ठूलो सबै काम नाई भन्दैनन्। सकेसम्म गुणस्तरीय सेवा प्रवाहमा उनको रुचि छ। ‘हाम्रा कयौं नेपाली दाजुभाइ विदेश जाँदा निम्नस्तरको काम गर्छन्। त्यहाँ कुनै हीनताबोध हुँदैन भने यता त्यतिको काम गर्नु परिरहेको छैन भने अब कामलाई सानो या ठूलो भनी किन वर्गीकरण गर्नु?’ उनले हँसिलो मुद्रामा भने। 

उनी फ्रिल्यान्स डिजाइनर पनि हुन्। लोगो डिजाइन गर्छन्। डाटा इन्ट्री, वेभ डेभलपमेन्ट र मेन्टेनेन्ससमेत गर्छन्। सुरुमा यस्ता काम धेरै पाइन्छन् भन्ने ठानेका थिए। तर, निर्वाचित जनप्रतिनिधि र कर्मचारीतन्त्र दुबै स्वार्थ मिलाउन सिपालु भएकाले काम पाइन छोड्यो।   

यस्ता प्रकृतिका काम गर्ने व्यापारी मुगुका बिचरा हुन्। उनीहरु मर्कामा छन्। किन्नेले सामान मात्रै खोज्दैन अरु पनि खोज्छ। त्यो अरु भनेको सिधा भाषामा कमिसन हो। दिएन भने अर्कोमा जान्छन्। यस्ता काममा गोपनीयता कायम गर्न सकेन भने सरकारी कर्मचारीको खेल सकिने सम्भावना रहन्छ। त्यसैले पनि स्थानीय बजार र व्यापारी उनको नजरमा पर्दैनन्।

काठमाडौंभन्दा मुगुमा सस्तोमा सामान पाइन्छ भने त्यो भन्दा ठूलो कुरा अरु केही हुन सक्दैन। धेरैलाई यो कसरी सम्भव हुन्छ भन्ने पनि लाग्छ। यो सम्भव थियो। नरेश आफैले पूरा हिसाब गरेर तयारी गरेका थिए। उत्पादकले नेपालभरका डिलरलाई दिने रेट एउटै हो। काठमाडौंका व्यापारीले लाख बराबरको सटर भाडा तिर्छन्, ठूलो लगानी गर्न बैंकबाट ऋण लिएका हुन्छन्। त्यो सबै उठाउन मोल बढाउँछन्।

मुगुमा थोरै यातायात खर्च लाग्छ भने सटर भाडा निकै सस्तो छ। स्थानीय सरकारले यस्तो मौका छोप्न सकेको भए बचेको रकमले विकास निर्माणमा टेवा पुग्थ्यो। त्यसले थोरै भए पनि विकास बढी हुन्थ्यो। कर्मचारीदेखि जनप्रतिनिधि सबै जनताप्रति उत्तरदायी नहुँदा यस्ता समस्या आउँने रहेछन्। त्यसपछि त के चाहियो र ?  नरेशजस्ता सस्तोमा सामान बेच्न चाहने व्यापारीको व्यापार त डुब्ने नै भयो।

यही बीचमा उनले ट्युसन सेन्टर पनि खोले। तर, सरकारी शिक्षकको सिन्डिकेटले त्यो व्यवसाय फापेन। पढ्न आउने विद्यार्थीलाई प्राक्टिकल नम्बर नदिने। परीक्षामा चिट नचोराउने। कक्षामा नराम्रो व्यवहार गर्ने जस्ता समस्या विद्यार्थीले खेप्नुपर्ने भयो। सरकारी शिक्षक आफू अवैधानिक रुपमा कक्षा सञ्चालन गर्ने र विद्यार्थी आफ्नोमा पढ्न नआए उनीहरुको भविष्यमा खेल्नेसम्मको हर्कत गर्न थालेपछि उनले विद्यार्थी पाउँन छोडे। जिल्लामा कानुनी रुपमा दर्ता गरेर उनले खोलेको एकमात्र फर्म (ट्युसन सेन्टर) कानुनी रुपमै बन्द भयो। गैरकानुनी फर्म चलिरहेका छन्। सदैव चलिरहने छन्।

सर्वसाधारणको आम्दानी निकै कम छ। सुचना प्रविधि प्रयोग र पहुँचबारे कुनै खालको चेतना छैन। किन्ने सरकारले नै हो तर उसको चरित्र विचौलियाको जस्तो फौबन्जारी छ।

उनले सरकारी कम्प्युटर मर्मत लगायतका काम लिन थाले। राम्रो गरिदिएका हुनाले विस्तारै विश्वास बढिरहेको छ। केही सरकारी कार्यालयको विश्वास जितेपछि ग्राहक बनेका छन्। सानो बजारमा सिमीत ग्राहकले मात्र पत्याउँदा उनको ठूलो आकारको व्यवसाय राम्रो भैहाल्ने हुँदैन। यसैले सधै हसिला देखिने उनको अनुहार विस्तारै फिक्का हुन थालेको हो।

स्थानीय संरचनाले ससाना धेरै बजारको विस्तार भएको छ। जसले गर्दा सदरमुकाममा ग्राहकको चाप ह्वात्तै घटेको छ। उनले आश गरेको संरचना नै उनको लागि फलदायी भएन। सबैतिर विकास भएका सानातिना बजारले जनतालाई सेवा दिनेछन्। तर, स्थानीय सरकारले व्यापारीलाई केही नदिने पक्का भएको छ। 

यही बेला निकुञ्जले पनि टाइट गरिरहेको छ। खत्याड क्षेत्रका ग्राहकको गमगडी आउने बाटो बन्द भएको छ। उनीहरु जुम्लाको गोठीजिउला जान्छन्। मुगुबाट खत्याड क्षेत्र अलग्गिएको छ। सारा संसार बोलाउने राराले आफ्नै मुगालीको मुकाम आगमन छेकेको छ। 

सिमीत बजार, सिमीत ग्राहक र चेतनास्तर भएको ठाउँमा काम गर्नु फलामको चिउरा चपाउनुजस्तै हो। कहिलेकाहीँ चाणक्यले सही भनेका हुन् कि जस्ता पनि लाग्छ, ‘जहाँ शिक्षा छैन त्यहाँ फर्केर पनि नहेर्नु।’ तर पनि जिन्दगी धकेल्ने मेसो उही भएपछि आशा रहिरहन्छ। ‘त्यसैले चुनौतिका पहाड फोडेरै भएपनि जिन्दगी गुडाउने राजमार्ग तय गर्नु नै छ,’ यो उनको अन्तिम वाक्य थियो।

यो पनि हेर्नुहोस्

मुगुका हिरा अर्थात् हिरा बिजुली

रारा : सके धेरैपटक, नसके पनि एकपटक 

इतिहास बाँङ्गिने 'तुङ्गनाथ' चिन्ता 

'भाइ पेटौंदो छ'

‘यदि कुनै दिन 'भाइ पेटौंदो छ' भन्ने कुराको आश मर्‍याे भने निर्मलाकी आमाको विकल्प खोजिने छ। त्यही निहुले उनी बहिस्कृत हुनेछिन्। उनलाई हेर्ने समाजको नजर फेरिने छ। निर्मलाको भाइ नहुनुमा दोष उनको मात्रै हुने छ। यो कुनै विज्ञान होइन, विज्ञानमाथिको ठाडो चुनौति हो।’

  मुगु डायरी –१ 

प्रकाशित मिति: : 2020-02-11 01:49:00

प्रतिकृया दिनुहोस्