कहिले पूर्वका मोतीराम भने, कहिले भाषाविद् भने, कहिले प्राध्यापक भने, कहिले पत्रकार भने। पेसाका अनेक रूपहरूसँग अनेक सन्दर्भ जोडिएर आउँछ उहाँसँग। पूरा नाम भन्नुअघि नै चूमरे भनेर धेरैले चिन्छन्। चिनेर मात्र पुग्दैन उहाँलाई। उहाँलाई चिन्न उहाँका कामहरू सम्झनुपर्छ।पूरै नाम चूडामणि रेग्मी भए पनि चूमरे उहाँले आफैं छोट्याएको आफ्नो नाम हो। २०२२ सालमा मेची क्याम्पस भद्रपुरको प्राध्यापक भएपछिको उहाँको झापाली यात्रा आजसम्म अनवरत छ। पत्रकारिता र लेखनलाई आफ्नो प्रमुख कार्य सम्झने उहाँले जीवनको सबै समय त्यसैमा लगाएको कुरा दोहोर्याउनुपर्दैन।
युगज्ञान साप्ताहिकबाट पत्रकारिता थालेर त्यसैलाई आफ्नो दोस्रो पेसा बनाएर आउनुभएका उहाँले पछिल्लो कालमा साहित्यिक गतिविधिलाई प्रमुखता दिनुभयो। झापामा साहित्यिक पत्रकारितामा लगन दिनेहरूमा भवानी घिमिरे, चूडामणि रेग्मी, मदन ढकाल र गोपीकृष्ण खनाल हुन्। जसले भानु, जुही र विश्वदीप साहित्यिक पत्रिकाहरू निकालेर झापाली लेखकहरूलाई मञ्च प्रदान गरेका थिए। भवानी घिमिरे र मदन ढकालको बारेमा मैले पहिले नै धेरै लेखिसकेको छु। आज म कुरा गर्दैछु चूमरेको।