भूकम्पपछि गाउँ जाँदा बाटोमा गोरखा जिल्ला थालाजुङ गाविस नयाँ बजारमा म र मेरो एकजना आफन्ती एउटा चिया दोकानमा रोकियौं। भित्र करिव १४ वर्षकी नानी थिइन्, गुरूङ जातकी। मैले चिया माग्दा उतातिर फर्किरहिन्। के भयो भनेको माथिल्लो तलाबाट उसको बाउले सोध्योः ‘तपाईँहरू को होला, कुन ठाउँको - जात के पर्यो?’
त्यति बेला मेरा विश्वप्रसिद्द अक्सफोर्ड विश्वविद्यालयको डिग्री, मेरो अष्ट्रेलियन पिएचडी, मेरो विश्वज्ञान, सबै अर्थहीन भए। मेरो आत्मसम्मान ठहरै मर्यो। मनमनै मुर्मुरिएँ, तर गर्न के सक्थेँ र?
ठूलो स्वर गरेको भए स्थानीय गुरुङहरूले हातपत गर्ने थिए। अझै निहूँ खोजे मार्ने थिए। प्रहरीले रिपोर्टै लिने थिएन। बल्लबल्ल केस गोरखा अदालत पुगे पनि ठाडो टीके, भ्रष्ट, जातिवादी न्यायाधीशले अपराधी छाडिदिन्थ्यो।
गाउँलेको नजरमा, राज्यको नजरमा मलाई मार्नु र कुकुर मार्नु एकै हो। बरू मरेको कुकुर त जसले पनि लगेर गाड्दिन्छ, तर मेरो लाश गोरखामा मात्रै हैन युके र अष्ट्रेलियामा समेत कसैले छुँदैन।
गुरूङ गाउँको त्यहि साँझ मैले मनमनै अठोट गरेँ म छिट्टै नेपाल फर्किन्छु, संगठन निर्माण गर्छु - ‘दलित आत्मरक्षा अभियान।’ र फेरि त्यहिँ पसलमा चिया खान जान्छु। तर यो पटक आत्मरक्षाको तयारीका साथ जान्छु। सेल्फ डिफेन्स सबैले गर्न पाउँछ।
यसरी धेरै गाउँघर, नगर डुल्छु। मभन्दा बढि उत्पीडनमा परेका, चुपचाप अत्याचार सहेर बसेका हजारौ युवा मेरो पछि लाग्ने छन् भन्ने मलाई पूरा विश्वास छ।