आर्यघाटमा लाश कुरेर बसेका घाटे भन्छन्– जीवनमा खुसीकाे अनुभव कहिल्यै गर्न पाइनँ (भिडियाे)

यसकाे मिठो कल्पनामा बाँचेका ६९ वर्षीय ज्ञानप्रसाद आचार्य अहिले पनि अभावमा जिउन बाध्य छन्। उनी घाँटमा आएकाे लाश पाेल्ने काम गर्छन्।

मिठो खान र राम्रो लाउन कसलाई रहर हुँदैन हाेला? यसकाे मिठो कल्पनामा बाँचेका ६९ वर्षीय ज्ञानप्रसाद आचार्य अहिले पनि अभावमा जिउन बाध्य छन्। उनी घाँटमा आएकाे लाश पाेल्ने काम गर्छन्। जीवनमा खुसीकाे अनुभव कहिल्यै गर्न पाएनन्।  उनकाे हकमा जीवन दु:खै दु:खकाे पिटारी हाे भन्दा फरक नपर्ला।

उनलाई बानी नै परिसक्याे। मानव चाेलालाई धेरै नजिकबाट नियालेका आचार्य दु:खमा पनि सुखकाे आनन्द भेट्छन्। भन्छन्,‘अचेल त सपना पनि देख्न छाडिसके।’ एक छाेरा र छाेरीकाे पिता भएपनि उनी अझै परिवारकाे पेट पाल्न बिहानदेखि रातीसम्म पशुपति आर्यघाटमा शब पाेल्ने काम गर्छन्। उनले लाश पाेल्न थालेकै ३१ वर्ष बितिसकेकाे छ।  

हिउँद हाेस् वा बर्षा। पुस–माघकाे मुटु काम्ने जाडाे हाेस् वा जेठ–बैशाखकाे छाती फुट्ने गर्मी, उनी बाह्रै महिना घाटमा भेटिन्छन्। हाल पशुपति आर्यघाटमा सबैभन्दा पाका उमेरका आचार्य ज्यानले सकिनसकि मान्छे पाेल्ने काम गर्न विवश छन्। 

आचार्यकाे वास्तविक घर थानकाेट हाे। गरिबीकै कारण एकदिन उनी घर छाेडेर हिडेका थिए। कामकाे खाेजी कै क्रममा काठमाडाैं आइपुगे।  एकदिन भाैतारिदै पशुपति पुगेका उनी काम पाउँदा कम्ता खुसी भएका थिएनन्। त्याे घटना सम्झँदा अहिले पनि उनी राेमाञ्चित हुने गर्छन्। ‘काठमाडाै‌काे गल्ली गल्ली भाैतारिएर थाकेपछि पशुपतिनाथ कहाँ काम माग्न आएकाे थिए। उहाँले यही मलाई जागिर मिलाइदिनु भयाे’, उनले बिएल नेपाली सेवासँग भने–‘पहिलाे दिन कामकाे प्रकृति सुन्दा सन्न भए। मलाई जिन्दगीले झेल गर्याे जस्ताे लाग्याे। तर के गर्नु नियति नै यस्ताे रहेछ।’

उनले पहिलाे दिनकाे कामकाे विषयमा बिस्तृत सुनाए। ‘पहिलाे दिन लाश देख्दा डर लाग्याे। मरेकाे नाङ्गाे शरीर कहिल्यै देखेकाे थिइन’, उनले भने–‘दुई वटा लाश पाेल्दासम्म मलाई घिन लागिरहेकाे थियाे। खाना पनि खान मन लागेन। तर खाली पेट कति दिन टिक्न सक्थे। विस्तारै खाना रुच्न थाल्याे।’

उनलाई सुरुकाे ४ महिना मात्र घाटमा काम गर्छु जस्ताे लागेकाे थियाे रे। अहिले भन्छन्,‘त्याे ४ महिनाकाे अवधि अहिलेसम्म टुँगिएकाे छैन।  मेराे पाइला अहिले पनि यहीँ अड्किएकाे छ।’ तीन दशक लामाे अवधिमा उनले हजारभन्दा बढी लास पाेलिसकेका छन्।  

‘अहिले त मलाई जीवन नै केही हाेइन जस्ताे लाग्छ। मान्छे जन्मिएपछि एकदिन मर्नुपर्छ। सबैले यही चितामा पुग्नु पर्छ। जीवन भनेकाे ओइलाइजाने फूल न हाे। बाचुञ्जेल सबैलाई माया गर,’ मान्छे पाेल्दा पाेल्दा जीवनकाे शास्वत ज्ञान बुझिसकेका आचार्य भन्छन्,‘मलाई ताज्जुब लाग्छ। कतिपय हुनेखाने यहाँ आएर पनि आफू भन्दा कमजाेरलाई हाेच्याएर बाेल्छन्। खाली हात संसारबाट बिदा भएकाे बाबुलाई हेरेर पनि छाेरा पैसाकाे घमण्ड गरिरहेकाे हुन्छ। बेचारा भाेली आफ्नाे पालाे यही हाे भन्ने जान्दैन उ।’

उनलाई धनकाे घमण्ड गर्ने धनिकाे घरकाे लास पाेल्दा भन्दा आफू जस्ता गरिबकाे लास पाेल्दा आनन्द लाग्छ रे। ‘गरिब मानिसले देखाउने व्यवहारले कम्तिमा पुन्यकाे काम गरे भन्ने आभाष हु्न्छ’, उनी भन्छन्।

गत वर्ष उनी नराम्ररी थला परे। विरामी पर्दा घरकाे अवस्था नाजुक बन्याे। त्यसैले सकिनसकि फेरि घाटमै फर्किए। घाटमा बिदाकाे दिन नै नभएकाे उनी बताउँछन्। ‘ मैले शब जलाएको दिन घरमा खाना पाक्ने हो। नत्र परिवार भोकै बस्नुपर्छ’, उनले भने–’थानकोटमा जग्गा जमिन बाजेको पाला देखिनै थिएन। त्यसैले त यस्तो काममा ठोक्किन आइपुगे। यहा काम गर्न आउने मनिस दु:ख पाएर नै आउने हुन।’

लास पाेलेर नै उनले केही समयअघि गाउँमा एउटा सानो छाप्रो बनाएका छन्। हिजाेआज उनी १५ दिनमा एक पल्ट घर जाने गर्छन्। ‘दु:खीको सहारा उही भोले बाबा’ भन्न रुचाउने उनी आफ्नो जीवनकाे अमिलाे पाटाे सुनाउँछन्–‘कराैडाैं भक्तजन पशुपतिको दर्शन गरेर फर्किन्छन् तर म लाशको पर्खाइमा यही बसिरहेकाे हुन्छु।’ 

उनले शारीरिक अशक्तताका कारण आउँदाे २–४ महिनाभित्र आफूले याे पेशाबाट बिदा लिन चाहेकाे बताए। घाटमै बसेर जीवनकाे सत्यलाई नजिक र मिहिनढंगले बुझेका आचार्य भन्छन्,‘ कति मान्छे काठमाडाैं बाहिरबाट घरखेत बेचेर आफन्तकाे औषधी उपचारको लगि यहाँ आउँछन्। तर मानिस बच्दैन। अस्पतालले मरेको लाश राख्दैन। घाट ल्याउनै पर्यो। तर लास पाेल्न गोजीमा पैसा हुँदैन। उनीहरु छटपटिने गर्छन्।’

उनले यस्ताे अवस्थामा पुगेका अनगिन्ती दिन दु:खीकाे उद्धार गरेका छन्। यस्ता मानिसलाई दाउरा उपलब्ध गराउने देखि जलाउने कामसमेत आफूले नि:शुल्क गरिदिने गरेकाे बताए। ‘बेचारा। कहिले फर्किन पैसासमेत हुँदैन। हालिदिन्छु।’ उनी यसले आफूलाई आनन्द दिने बताउँछन्। ‘जीवनमा धेरै रात भाेकै सुतेकाे छु। एकदुई दिन नखाँदा मान्छे मर्दैन। त्यसैले यस्तालाई सहयाेग गर्दा आफू संसारकै धनि भएकाे महसुस गर्छु।’

 

प्रकाशित मिति: : 2020-02-09 01:00:00

प्रतिकृया दिनुहोस्