भारतले गर्‍याे चीनको वुहानबाट ६४० जनाको उद्धार

बिएल संवाददाता

नयाँ दिल्ली

भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको वुहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ। 

उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।   

चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ।  

‘हामीले ६४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ, उनीहरुसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ,’ मन्त्रालयका प्रवक्ता राविस कुमारले भने। 

उनीहरुलाई दुई उडान मार्फत् भारत ल्याइएको र उनीहरु अधिकांशलाई वुहान र वुहान नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उनले जानकारी दिए।  

पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार उद्धार गरिएकाहरु मध्ये कसैलाई पनि कुनै पनि प्रकारको रोग देखिएको छैन। 
 
उनले यसलाई ठूलो उद्धारको रुपमा लिइएको बताए। उनीहरुलाई उद्धारका लागि चीनले गरेको सहयोग र समन्वय उल्लेख्य रहेको पनि उनले जानकारी दिए।

भारत फर्किन खोजेका अरु दश जना भने स्वास्थ्य परिक्षणको प्रक्रिया पुरा नभएकाले फर्किन नपाएको प्रवक्ता कुमारको भनाई छ।  

उनले चीनमा रहेका र स्वदेश फर्किन चाहेकाहरुलाई चीनस्थीत भारतीय दूतावास तथा संवन्धीत अन्य कार्यालयमा सम्पर्क गर्न पनि आह्वान गरे। 

चीनमा गत डिसेम्बरदेखि देखिन थालेको कोरोना भइरसका कारण अहिलेसम्म ५६२ भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु हजारौ सङ्क्रमित भएका छन्। 

प्रकाशित मिति: : 2020-02-07 10:49:53

प्रतिकृया दिनुहोस्