‘मिस नेपाल’ अनुश्का जब दृष्टिविहिन बनिन् (भिडियाे)

‘मिस नेपाल’ भएको नाताले सामाजिक काममा आफ्नो संलग्नता अधिक हुने बताउँदै उनले दृष्टिविहिनका लागि झन् बढी सक्रिय बन्ने बाचा गरिन्। 

भक्तपुरको गट्ठाघर आकाशे पुलको दब्रेतर्फ अवस्थित अतिथि गृहमा मंगलबार अचानक अर्को दृश्य देखियो। ‘मिस नेपाल’ अनुश्का श्रेष्ठ आँखा नदेख्ने मानिस सरह छामछाम छुमछुम गर्दै ‘अतिथि गृह’ नामक क्याफेमा देखा परिन्। उनी क्याफे उद्घाटनका लागि चक्कु र ट्रे खोज्दै थिइन, फलफुल काट्नका निम्ति। 

उनको अवस्था हेरेर सबै आश्चर्य मान्दै थिए। तर, वास्तविकता भने अर्कै रहेछ। उनी दृष्टिविहिनको सहयोगको लागि सञ्चालित क्याफे ‘अतिथि गृह’ उद्घाटनको लागि एकैछिन दृष्टिविहिन बनेकी रहेछिन्। 

दृष्टिविहिनले संचालन गरेको कार्यक्रममा आउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको अनुश्काले बताइन्। समाजमा रहेका हरेक समस्याको बारेमा आफूहरूलाई बोध हुनु आवश्यक रहेको उनले बताइन्। ‘कुन विषयमा कसरी बोल्ने र शब्द चयन कसरी गर्ने? मलाई थाहा थिएन। यहाँ आएर धेरै कुरा सिक्ने अवसर पाए,’ उनले भनिन्। 

‘मिस नेपाल’ भएको नाताले समाजिक काममा आफ्नो संलग्नता अधिक हुने बताउँदै उनले दृष्टिविहिनका लागि झन् बढी सक्रिय बन्ने बाचा गरिन्। 

उनले आफ्नो प्रतिबद्धता दोहर्याउँदा क्याफेमा भएका दृष्टिविहिनको अनुहारमा छुट्टै चमक देखिन्थ्यो। 

राजधानीभित्र रहेका अन्य समाजिक संघ–संस्थामा आश्रित केही नानीलाई ‘ब्लाइन्ड रक्स’ ले अध्ययन सामाग्री प्रदान गरेको थियो। दृष्टिविहिन र शारीरिक अपांगता समेत भएका केही नानिले स्टेजमा गाएको गीतको स्वर सुन्दा उनीहरूमा पनि प्रतिभाको कमि नभएको झल्को पाइन्थ्यो। 

कार्यक्रम संचालक ब्ल्यान्ड स्टार सोसाईटीका शुसिल अधिकारीले कार्यक्रमलाई निकै रोमाञ्चक ढंगले संचालन गरेका थिए। 

आगन्तुकलाई क्याफेको परिकारको मज्जा लिन विभिन्न चुट्किला र कथनलाई जोड्दै रमाईलो माहौल तयार पारिएको थियो।   

‘अतिथि गृह’ नामक क्याफे दृष्टिविहिनको सहयोगका लागि खोलिएको हो। ‘ब्ल्यान्ड रक्स’ नामक संस्थाकी अध्यक्ष सृष्टि केसी र क्याफे संचालक प्रमिला तामाङ दुई वर्षदेखि नजिक थिए। यसैबाट दृष्टिविहिनका लागि रेष्टुरान्ट खोल्ने योजना तयार भयो। 

प्रमिला भन्छिन्, ‘संस्थासँग नजिकबाट जोडिएर काम गर्न मन थियो। सृष्टिजी र मेरो नयाँ केही गरौ, जसले दृष्टिविहिनलाई सहयोग पुर्याउँछ भन्ने सल्लाह भयो र यो क्याफे खोल्यौ।’ 

‘अतिथि गृह’ को चारैतिर कलात्मक ढंगबाट नेपालको मौलिक संस्कृति झल्काउने चित्र कोरिएका छन्। ‘ब्ल्यान्ड रक्स’ अध्यक्ष सृष्टिले दृष्टिविहिनको सहयोगको लागि संचालित क्याफेले एकआपसमा नेटवर्किङ गर्ने माध्यम बन्ने विश्वास व्यक्त गरिन्। संस्थाले दृष्टिविहिनको लागि विभिन्न आत्मनिर्भरदेखि मनोवल उच्च राख्ने खालका गतिविधि संचालन गर्दै आइरहेको छ। 

सृष्टिले ‘अतिथि गृह’ मा आएर खाने, जो सुकै व्यक्तिको थोरै पैसा भएपनि समाजिक काममा प्रयोग हुने बताइन्। ‘भोक लाग्दा सबैजना अतिथि गृह रोजेर आइदिनु होला,’ सृष्टिले सबैसँग आग्रह गरिन्, ‘अतिथि गृहमा सम्पूर्ण स्वदेशी विदेशी पाहुनालाई स्वागत छ।’ 
 

प्रकाशित मिति: : 2020-02-07 01:51:01

प्रतिकृया दिनुहोस्